शव नआउँदा परिवार पीडामा

शव नआउँदा परिवार पीडामा


साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागाईंको निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छ ।

समयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कारअनुसार गरिने काजकिरिया गर्न पाएका छैनन् । चापागाईंको परिवार शव कुरेर बसेको छ । ‘चाँडो शव ल्याइदिएको भए काजकिरिया गर्न हुन्थ्यो’, मृतककी पत्नी निर्मलाले पीडा सुनाए । शव ल्याउन ढिलाइ हुँदा परिवार, आफन्तलगायतलाई थप पीडा भएको छ । दाजुको निधनको खबर पाएपछि मलेसियामा रहेका उनका भाइ बरुण पनि घर फर्किएका छन् ।

‘एक महीनाको बिदा लिएर घर आएको हुँ’, उनले भने, ‘सरकारले शव चाँडो ल्याउने व्यवस्था मिलाइदिएको भए काजकिरिया गर्न हुन्थ्यो ।’ चापागाईं पाँच वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्थ्यो । गत वैशाखमा आमाको निधन हुँदा काजकिरिया सकेर उनि साउदी फर्किएका हुन् । ‘कम्पनीले लिएको अन्तरवार्तामा पास भए, अब पुसमा बिदा मिलाएर घर आउँछु भन्नु भएको थियो,’ श्रीमानसँग मङ्सिर ८ गते अन्तिम कुराकानी भएको सम्झिदै निर्मलाले भनिन् । शिक्षण पेशामा आबद्ध निर्मलाले केही वर्षअघि श्रीमानकै अनुरोधमा जागीर छाडेकी थिइन् ।