केरूङ नाका सोमबारबाट सञ्चालनमा ल्याउने तयारी

केरूङ नाका सोमबारबाट सञ्चालनमा ल्याउने तयारी


अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आगामी सोमबार (१२ कात्तिक)देखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

अविरल वर्षाले क्षति पुऱ्याइ गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले टेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताएका छन् ।

राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठुलो सहयोग मिलेको प्रजिअ पौडेलको भनाइ छ ।

रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो । सडक अवरूद्ध हुँदा चिनियाँ मालसामा ढुवानी गर्ने सवारीसाधन टिमुरेक्षेत्रमै रहेका पाङसिङस्थित चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा ट्रन्सपोर्टले जनाएको छ ।