दुई दिनपछि विद्युत् सेवा

दुई दिनपछि विद्युत् सेवा


कञ्चनपुरको विद्युत् सेवा दुई दिनपछि सोमबार मध्यरातदेखि पुनः सञ्चालनमा आएको छ ।

वेदकोट नगरपालिका–७ लालपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा सुरक्षागार्डका रुपमा कार्यरत भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको मृत्युको विषयमा विवाद हुँदा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध थियो । भट्टको मृत्यु शङ्कास्पद रहेको भन्दै उनका आफन्त र स्थानीयवासीले घटनास्थलबाट शव उठाउन नमानेपछि विद्युत्सँगै यातायात सेवासमेत अवरुद्ध गराएका थिए ।

सोमबार अबेर राति घटनाको छानबिन गर्ने, मृतकको परिवारको एक सदस्यलाई योग्यताअनुसारको रोजगारी विद्युत् कार्यालयमा दिने र राहतस्वरुप रु १० लाख उपलब्ध गराउनेलगायत सहमति भएपछि विद्युत् सेवा पुनः सञ्चालनमा आएको वेदकोट नगरपालिका नगर प्रमुख अशोककुमार चन्दले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय सहमतिपछि मृतकका परिवारले शव उठाउन मानेका हुन् ।