चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गबारे कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औँ वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए ।
चिनियाँ ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले हालको एक दलीय राजनीतिक प्रणालीबाट विचलित नहुने र अरू कुनै पनि मुलुकबाट आदेश लिएर काम नगर्ने बताए ।
‘समाजवादको झन्डा चिनियाँ भूमिमा अझै उचाइका साथ सदैव फर्फराइरहनेछ,’ राष्ट्रपति सीले भने, ‘चीनको कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको प्रतिरूप हो र यो चिनियाँ विशेषतासहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो ।’
चिनियाँ सुधार एवं खुलानीति देङ सियाओ पिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा आजकै दिन शुभारम्भ भएको थियो । तर, पछिल्ला दिनहरूमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनियाँ अर्थतन्त्रले अनेक संकटको सामना गर्नुपरिरहेको छ । दुवै मुलुकबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ ।
संयुक्त राज्य अमेरिकामाथि प्रत्यक्ष संकेत नगरी राष्ट्रपति सी जिनपिङले भने, ‘चीन कुनै पनि मुलुकका लागि चुनौती होइन, तर यसलाई कुनामा थन्क्याउँछु भन्नु ठूलो भूल हुनेछ । चिनियाँ जनताले के गर्नुपर्छ वा के गर्नुहुँदैन भनेर कसैले हस्तक्षेप गर्ने परिस्थितिमा अहिले कोही छैन ।’

‘हामीले गर्न सकिने सुधारका कार्यहरूलाई निरन्तरता दिनैपर्छ, तर कतिपय काम हामी गर्न सक्दैनौँ, त्यसमा कसैले हस्तक्षेप गर्ने प्रयास नगरे हुन्छ,’ राष्ट्रपति सीले चेतावनीयुक्त भाषामा भने । राष्ट्रपति सीले बढीभन्दा बढी सुधारबारे चीन तयार रहेको बताए पनि कुनै ठोस योजना भने घोषणा गरेनन् । संयुक्त राज्य अमेरिका र युरोपका देशहरूले लामो समयदेखि चीनको विशाल बजारमा सहज पहुँचको माग गरिरहेका छन् । तर, उनीहरूले चिनियाँ कम्पनीहरूले पश्चिमा मुलुकको अर्थतन्त्रमा खुला र सहज प्रवेश पाइरहेको गुनासो गरिरहेका छन् । देङको खुलानीतिले करोडौँ चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेको विश्वास गरिन्छ । साथै, यही नीतिको बलमा चीनले आफूलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रूपमा उभ्याएको छ ।
तर, पछिल्ला वर्षहरूमा चीनको ऋण बढ्दो क्रममा देखिएको छ भने आर्थिक विकासमा केही कमी आएको छ । गत वर्ष ६ दशमलव ९ प्रतिशत रहेको आर्थिक विकास यस वर्ष ६ दशमलव ५ प्रतिशतमा छ । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङका नीतिहरूले मुलुकमा विषम परिस्थिति सिर्जना गरेको भन्दै देङ सियाओपिङले सुधार एवं खुला नीति प्रतिपादन गरेका थिए ।
मंगलबार ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा मुलुकको विकासमा महत्वपूर्ण योगदान गरेका १०० भन्दा बढी व्यक्ति एवं संस्थालाई विशेष पदकद्वारा विभूषित गरिएको थियो । विभूषित हुनेहरूमा ग्रामीण क्षेत्रमा कार्यरत व्यक्तिदेखि चीनका सर्वाधिक धनी व्यक्ति अलिबाबाका संस्थापक ज्याक मा, एनबीए खेलाडी याओ मिङसमेत छन् ।
खुलापनका पिताका रूपमा चिनिने देङ सियाओपिङले हङकङसँग सीमा जोडिएको सेन्जेनमा चीनकै पहिलो विशेष आर्थिक क्षेत्र निर्माण गरेका थिए । यो आर्थिक क्षेत्र मुलुकका बाँकी स्थानका लागि नमुनाका रूपमा स्थापित भएको थियो ।
सेन्जेन हाल विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित छ । यहाँ टेन्सेन्ट र टेलिकम क्षेत्रको मसहुर कम्पनी हुवावेका मुख्यालय छन् । चालीस वर्षअघि ग्रामीण क्षेत्रमा ९७.५ प्रतिशत रहेको गरिबी गत वर्षसम्म आइपुग्दा ३.१ प्रतिशतमा झरेको एएफपीले जनाएको छ ।
प्रतिक्रिया