तालिवानसँग वार्ता गर्न युएई पुग्यो अफगान टोली

तालिवानसँग वार्ता गर्न युएई पुग्यो अफगान टोली


अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेका छन् । करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अमेरिकी र तालिबान प्रतिनिधिहरुबीच सोमबार पनि वार्ता भएको थियो ।

प्रमुख मध्यस्थकर्ता अब्दुल सलाम राहिमीको नेतृत्वमा रहेको टोली तालिबानसँग वार्ता गर्न अबुधाबी पुगेको र दुई पक्षबीच धेरै समयपछि आमनेसामने वार्ता हुन लागेको अफगान राष्ट्रपति कार्यालयका प्रवक्ता हारुन चाखानसुरीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति अश्रफ घानीले गत नोभेम्बरमा वार्ताका लागि राहिमीको नेतृत्वमा १२ सदस्यीय वार्ता टोली घोषणा गरेका थिए। तर तालिबान समूहले भने वार्ताका बारेमा अझै टुङ्गो नलागेको बताएको छ । उनीहरुले अफगानी अधिकारीहरुसँग वार्ता नगर्ने विगतकै अडान दोहोऱ्याएका छन् ।

तालिबान समूहले मङ्गलबार जारी गरेको वक्तव्यमा आफूहरुले अमेरिकी विशेषदूत जाल्मे खलिलजादसँग सोमबार प्रारम्भिक वार्ता गरेको चाहिँ स्वीकार गरिएको छ । समूहले अफगान शान्तिका बारेमा पाकिस्तान र साउदी अरेबिया तथा युएईका अधिकारीहरुसँग पनि विस्तृत परामर्श गरेको बताएको छ । वार्तामा उनीहरुले अफगानिस्तानबाट सबै अन्तर्राष्ट्रिय फौज फिर्ता हुनुपर्ने पूर्वशर्त राखेका एएफपीले जनाएको छ ।

साउदी अरेबिया, युएई र पाकिस्तानले मात्र सन् १९९६ देखि २००१ सम्म चलेको तालिबान सरकारलाई मान्यता दिएका थिए । अबुधाबीमा खलिलजाद र तालिबानबीच प्रत्यक्ष वार्ता भए नभएको बारेमा अमेरिकाले चाहिँ अझै पुष्टी गरेको छैन ।