नकचरोको भूमिकामा राष्ट्रिय सङ्घ

नकचरोको भूमिकामा राष्ट्रिय सङ्घ


Nepal_Sports_Council_Logoसार्वजनिक लेखा समितिले अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रिय ओलम्पिक कमिटीसँग कुनै कामकारबाही नगर्नू भनेर युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरेपछि खेलकुदमा नौलो तरङ्ग उत्पन्न भएको छ । लेखा समितिको निर्णयसँगै राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीले पत्रकार सम्मेलन गरी आफूले कानुनी बाटो अवलम्बन गर्ने र सरकार त्यसका लागि पथप्रदर्शक हुनुपर्ने जिकिर गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय एनओसीको हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले लेखा समितिको निर्देशनलाई पर्ख र हेरको रूपमा लिँदै आगामी रणनीतिको अख्तियार गर्ने जनाएको छ । पछिल्लो समयमा ओलम्पिक विवादको समाधानका लागि लेखा समिति नै अघि सरेपछि अहिले ओलम्पिकको विवाद कानुनी प्रक्रियामा अघि बढेको छ । जसका लागि लेखाले खेलकुद मन्त्रालय र अख्तियारलाई पत्राचार गरिसकेको अवस्था छ । अब मन्त्रालयले लेखाको पत्रलाई कसरी कार्यान्वयन गरेर अगाडि बढ्छ त्यो अहिले निकै उत्सुकताको विषय बनेको छ । अर्को कुरा लेखाको निर्देशनलाई खुद मन्त्रालयले पालना गर्छ कि राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मा लगाउँछ या कुनै पहल नै गर्दैन त्यो पनि जिज्ञासाको विषय बनेको छ ।
लेखाको निर्देशनसँगै ओलम्पिक कमिटीमा आबद्ध २६ राष्ट्रिय खेलकुद सङ्घ पनि कानुनी झटारोेमा लपेटिएका छन् । अब यी सङ्घलाई सर्वोच्चले अवैधानिक घोषणा गरेको एनओसीमा कसरी बस्ने भन्ने कानुनी चुनौती खडा हुनसक्छ । जसले गर्दा सङ्घहरूमा पनि अन्योलको स्थिति देखापरेको छ । प्राप्त जानकारीअनुसार राष्ट्रिय सङ्घका अध्यक्ष र महासचिवले मात्र ओलम्पिकमा हालिमुहाली गरिरहेकाले सङ्घका अन्य पदाधिकारीहरू असन्तुष्ट देखिएका छन् । एक–दुईजनाले मात्र सङ्घको नाममा मोज लुटिरहेकाले यसको निराकरणका लागि पनि सङ्घलाई कानुनको घेरामा गोलबद्ध गरेर अगाडि बढ्नुपर्ने सङ्घका अन्य पदाधिकारीहरूको राय रहेको बुझिएको छ । ओलम्पिकमा सङ्घभन्दा पनि व्यक्ति हावी भएको र सबै फाइदा तिनै पदाधिकारीहरूले लिएकोसमेत उनीहरूको दाबी छ । अर्को कुरा सङ्घको प्रतिनिधिको रूपमा ओलम्पिकमा गए पनि सङ्घको हितका लागि उनीहरूले केही नगरेको आरोपसमेत लगाएका छन् । अझ वर्तमान अवस्थामा सर्वोच्च अदालत र लेखा समितिले अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको अवस्थामा सङ्घको भूमिका महत्वपूर्ण हुने भन्दै सम्पूर्ण सङ्घका पदाधिकारीले गम्भीर भएर सोच्नुपर्ने भएको छ । यस्तो विषम परिस्थितिमा सङ्घले आफ्नो सुरक्षित अवतरणका लागि समयमै कदम नचाले भोलि कानुनी उपचारका लागि भागीदार हुनुपर्ने प्रायः निश्चित छ ।
ओलम्पिकको समाधान कानुनी प्रक्रियामा गइसकेको अवस्थामा अहिले राष्ट्रिय सङ्घको जिम्मेवारी निकै महत्वपूर्ण बनेको छ । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका सङ्घले मुलुकको कानुनको पालना गर्नुपर्छ कि पर्दैन त्यो अहम् प्रश्न बनेको छ । सङ्घकै लापरबाही र गैरजिम्मेवारीले खेलाडीहरू अनुशासनहीन बन्दै गएको हालै दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगिताको झलकले प्रस्ट पारेको छ । खेलाडीहरूले मदिरापानदेखि भिलेजमा मच्चाएको उपद्रोवले अन्तर्राष्ट्रियस्तरमा मुलुकको मानमर्दन भएको थियो । अर्को कुरा त्यहाँ खेलाडीहरूले देखाएको ताण्डवको हर्जना राज्यले व्यहोर्नुपरेको थियो । यस्तो हुनुमा सङ्घ कति दोषी छ, त्यसको छानबिन हुनुको साटो उल्टै यस्ता अप्रिय घटनालाई लुकाउने काम खुद सङ्घका जिम्मेवार पदाधिकारीले गर्दै आएका छन् । यहाँ उनीहरूले खेलाडीलाई कारबाहीको नाममा निलम्बन गरे पनि सङ्घलाई भने दूधले नुहाउने कार्य गरेका छन् । साँचो अर्थमा भन्नुपर्दा यी सबै घटनाको जिम्मेवारी सम्बन्धित सङ्घले लिन सक्नुपथ्र्यो । खेलाडीलाई अनुशासनहीन कार्य ग-यो भनेर कारबाही गर्ने तर आफू चोखिन खोज्नु विडम्बना हो । तसर्थ यतिबेला सर्वोच्चले अवैधानिक भनेकोे संस्थामाथि सङ्घहरू किन कानुनको उल्लङ्घन गरेर बसिरहेका छन् त्यो जटिल प्रश्न भएको छ । के सङ्घहरूले मुलुकको कानुनको पालना गर्नुपर्छ कि पर्दैन ? कानुनको पालना नगर्नेलाई कानुनी कारबाही हुनुपर्छ कि पर्दैन ?
साँचो रूपमा भन्नुपर्दा सङ्घमा एक दुईजनाको हालिमुहाली गर्दा बेथिति मच्चिएको हो भन्दा अतिसयोक्ति नहोला । यिनीहरूकै कार्यशैलीले गर्दा खेलाडीहरूमा फस्ट्रेसन भित्रिएको हो । अन्यथा विकास, अनुशासन र गतिशीलताको नारामा कैद खेलाडीले अनुशासनको साङ्लो कदापि तोड्ने थिएनन् । खेलकुदको विकासभन्दा राजनीतिक विकास र आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमै रमाइरहेका सङ्घका पदाधिकारीहरूले आफ्नो मुखमा कहिल्यै ऐना हेरेको पाइएको छैन । खेलाडीको सफलतामा मात्र आफ्नो विगुल बजाउँदै आएका सङ्घका पदाधिकारीहरूले अन्य नराम्रा दोषहरू खेलाडीमाथि थुपार्दै आएका छन् । उनीहरूको यही नकचरो प्रवृत्तिका कारण अहिले थुप्रै खेलाडीले पलायनको बाटो रोजेको कसैबाट छिपेको छैन । अन्यथा खेलकुदमा प्रतिस्पर्धा गरी मुलुकको प्रतिष्ठा बढाउन गएका खेलाडी विदेशमा कदापि हराउने थिएनन् । मुलुकका लागि रगत–पसिना सुकाएका खेलाडी आज विदेश पलायन हुनुमा सङ्घका पदाधिकारीको गैरजिम्मेवारिता नै प्रमुख कारण बन्दै आएको तीतो सत्य हो । तसर्थ खेलाडीलाई राष्ट्रका गहना र अन्य विभिन्न संज्ञा र विश्लेषणबाट सुशोभित गर्नेहरू आफू किन कानुनको दायराभित्र बस्न सकेका छैनन् त्यो अहिले अहम् प्रश्न बनेको छ ।
वर्तमान अवस्थामा एनओसीमा देखिएको अन्योलता चिर्न सङ्घहरू कानुनी दायरामा आउनुपर्ने देखिन्छ । सङ्घको भूमिका एनओसीका लागि सकारात्मक र मार्गप्रसस्त गर्ने भएकाले उनीहरूले निकासका लागि अहम् भूमिका खेल्न सक्नुपर्छ । गुट–उपगुटमा विभाजित भएर खेलकुदलाई अराजकततर्फ उन्मुख गर्नुभन्दा वास्तविकता के हो ? त्यसलाई आत्मसात् गरे समग्र खेलकुदका लागि कल्याण हुने देखिन्छ । र पनि, सङ्घहरू अहिलेसम्म जिम्मेवार भएर प्रस्तुत हुन सकेका छैनन् । उनीहरूलाई आफूले खाइपाई गर्दै आएको कुरा र पद नै गुम्ला कि भन्ने सन्त्रास र डर छ । यस्तो अवस्थामा खेलकुदमा क्यान्सरको रूपमा विकसित भएर विकराल रूपमा धारण गरेको एनओसीको विवाद झन् पेचिलो बन्दै गएको छ । तर, यसको प्रत्यक्ष असर खेलकुद, खेलाडी र मुलुकमा परे पनि सङ्घहरू भने अनदेखि र अनसुनी गरेर बसेका छन्, जुन खेलकुदका लागि दुर्भाग्य बनेको छ । एनओसीको निकास र विकासका लागि महत्वपूर्ण अङ्ग मानिएका सङ्घहरू नै गैरजिम्मेवारी रूपमा प्रस्तुत भएपछि एनओसीको विवादले निकासा पाउन नसकेको हो । तसर्थ एनओसीको विवाद समाधान गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय एनओसीले सरकारको मुख ताकिरहेको अवस्थामा सङ्घहरूले कानुनी रूपमा आफ्नो हैसियत देखाउन सके यो समस्या समाधान गर्न सम्बन्धित निकायलाई निकै सजिलो हुने कुरामा दुईमत छैन । तसर्थ खेलकुदलाई स्वस्थ खेलकुद बनाउन सङ्घका पदाधिकारीहरूको कदम यतिबेला निकै सार्थक हुनेमा विश्वास गर्न सकिन्छ । यसका लागि सङ्घका पदाधिकारीहरूले खेलकुदको मूल्य र मान्यतालाई आत्मसात् गरी आफ्नो भूमिका निर्वाह गरे ओलम्पिकको विवाद चुट्कीमा समाप्त हुनेमा सायदै कसैको शङ्का होला ।

खेल यात्रा–संस्मरण
‘दयालु’ कोरियन किम विन ज्यो
त्यो अविष्मरणीय क्षण म कहिल्यै बिर्सन सक्तैन । जसले परदेशमा हामीलाई ठूलो गुन लगाएका थिए । हामी बाटो बिराएकालाई उनले मार्गप्रसस्त मात्रै गरेनन् गन्तव्यमै पु-याएर सदाका लागि ऋणी बनाएका थिए । अन्जान ठाउँ, गन्तव्य पहिल्याउन हामीलाई निकै सकस भइरहेको थियो । हामी रनभुल्लमा परेर असहाय बनेका थियौँ । पूर्व–पश्चिम, उत्तर–दक्षिण कता जाने केही पत्तो थिएन । हामी कुहिरोमा हराएका कागजस्तै बनेका थियाँै । सडकको फुटपाथमा पसिनाले लतपत हुँदै ओहोर–दोहोर गर्दा पनि हामीले मार्गदर्शक भेट्टाउन सकेका थिएनौँ । सडकमा गुडिरहेका ट्याक्सी रोकेर गन्तव्यबारे सोधपुछ गर्दा पनि हामी असफल भएका थियौँ । त्यसपछि भाइ रामसुधन तिम्सिनाले अपार्टमेन्ट फर्कने निधो गर्दा हाम्रो भेट एक भद्र व्यक्तिसँग भयो । उनलाई हामीले हाम्रो गन्तव्यबारे जानकारी गरायौँ । मिडिया गाइड देखाएर उक्त स्थानमा जान चाहेको अवगत गरायौँ । त्यसपछि ती भद्र व्यक्तिले हाम्रो घाँटीमा झुन्डिएको एक्रिडिएसन कार्डलाई हेर्दै आफ्नो मोबाइलबाट कसैलाई सम्पर्क गरे । कोरियन भाषामा उनीहरूको के कुरा भयो हामी अनविज्ञ थियौँ । फोनमा सम्पर्क टुटेसँगै उनले हामीलाई डो-याउँदै सडक पार गरे । विरानो देश कहाँ लान लागेको होला भनेर हामीमा कुतूहल जाग्नुको साथै मनमनै डराई पनि राखेका थियौँ । जब उनले एउटा गल्लीमा पार्क गरिरहेको कारनजिक लगेर हामीलाई बस्न आग्रह गरे त्यसपछि हाम्रो सातोपुत्लो उडेको थियो । साँच्चिकै भन्नुपर्दा हामी पसिनैपसिना भएका थियौँ । कार गल्लीबाट निस्किएर हाइवेमा हुइँकन थालेपछि त हामीले हाम्रो जीवनको मायासमेत मारेका थियौँ । भगवान्लाई सम्भँmदै रक्षा गर, रक्षा गर भन्ने शब्द मात्र जपिरहेका थियौँ ।
कुरो हालै दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगिताको हो । राजधानी दैनिकका समाचार प्रमुख भाइ रामसुधन र म इन्चोनस्थित ‘सिगल’ भन्ने ठाउँको एक अपार्टमेन्टमा बस्थ्यौँ । राति भाइभरमा एउटा मेसेज आयो, ‘भोलि बिहान ९ बजे साइक्लिङको प्रतिस्पर्धा छ, जसरी पनि आउनू ।’ उक्त मेसेज १७औँ एसियाली खेलकुदका नेपाली टोलीका ‘सेभ द मिसन’ छिमी उर्गेन गुरुङले पठाएका थिए । मेसेज पाएपछि हामीले भोलि उक्त स्थल जाने निर्णय गर्दै राति चाँडै सुत्ने प्रयास गरे पनि दुई बजेपछि मात्र निद्रादेवीले हामीलाई छोपेकी थिइन् । तै पनि बिहान आठ बजे उठेर हामी गन्तव्यतिर लागेका थियौँ । तर, कोरियनहरू कोरियन भाषा मात्रै बोल्ने हुँदा हामीलाई हाम्रो गन्तव्य नेपालभन्दा पनि टाढा बनेको थियो । जोकोही कोरियनलाई सोद्धा पनि टाउको हल्लाउनु हाम्रा लागि निकै पीडा बनेको थियो । तैपनि जसरी पनि त्यहाँ जानुपर्छ भन्ने हाम्रो दृढ सङ्कल्पमा मरुभूमिमा पानी भेटिएझैँ ती भद्र कोरियन भेटिएका थिए ।
ती भद्र कोरियनले हाइवेमा एक सय ३० देखि ५० को स्पिडमा गाडी हुइँक्याउँदै थिए । हामी दुई भाइ रातो–पिरो हुँदै केही नबोली कारको पछाडि सिटमा बसेका थियौँ । जब कार समुद्रमाथिको पुलमा हुइँकिराखेको थियो मेरो आँखा ती भद्र कोरियनको हातमा प-यो । टाईसुटमा सजिएका ती कोरिएन एक हातले मात्र गाडी त्यत्रो स्पिडमा हाँकिराखेका थिए । मैले रामलाई चिमोट्दै भने, ‘भाइ कोरियन त एउटै हातले कार चलाइराखेको छ, अर्को हात छैन ।’ मैले यति शब्द मात्र के खर्चेको थिए, राम हो र ? भन्दै प्रश्न तिर्साउँदै कोरियनको हात हेर्न पुगे । नभन्दै त्यस्तो दृश्य देखेपछि पुल र समुद्रलाई हेर्दै पसिना काड्न थाले । त्यसपछि रामले भने, ‘श्रीदाइ अब पक्कै मरिन्छ के गर्ने होला । कार समुद्रमाथिको पुलमा छ, फेरि एउटै हातले यत्रो स्पिडमा चलाएको छ के गर्ने होला ? उता आमा बिरामीको टेन्सन यता यस्तो टेन्सन भन्दै लामो सुस्केरा हाले । मैले पनि ती कोरियनसँग केही बोल्ने आँट गरिनँ । अब जे हुन्छ त्यही हुन्छ, आत्तिएर डराएर केही हुँदैन भन्दै भगवान्लाई पुकार भने । हामी दुवैले सँगै पशुपतिनाथ कि जय भन्यौँ । कारमा चुपचाप बसेर कोरियनले चलाएको एकनास हेरिरह्यौँ । जब कारले त्यो समुद्रमाथिको निकै किलोमिटर लामो पुल क्रस ग-यो हामीले राहतको सास फे-यौँ । हामीमा अब बाँचिन्छ भन्ने आशा पलायो । पुल क्रस भएपछि मुटुको ढुकढुकी अलि कम मात्र के भएको थियो गाडीको एक्कासि बढेको स्पिडले हामीहरूको होस उडाएको थियो । तर, त्यसको केही मिनेटपछि गाडी मोडिएर अर्को दिशातर्फ लागेपछि साइक्लिङ प्रतिस्पर्धाका ब्यानर र फोटो देखेपछि हाम्रो खुसीले सिमाना नाघेको थियो । त्यसपछि हामीले भगवान्लाई धन्यवाद दिँदै देवदूत पठाइदिएकोमा आभार व्यक्त गरेका थियौँ ।
कार प्रतियोगिता स्थलको पार्किङमा टक्क रोकियो । त्यसपछि ती कोरियनले हामीलाई इसारा गर्दै कारबाट उत्रिन अनुरोध गरे । हामी उनलाई धन्यवाद दिँदै कारबाट उत्रियौँ । उनले जानका लागि हात हल्लाए । हामीले उनलाई रोक्यौँ र एउटा सँगै फोटो खिच्न अनुरोध ग-यौँ, तर उनले इन्कार गरे । यसपछि भाइ रामले उनीसँग भिजिटिङकार्ड मागे त्यो पनि आनाकानी गर्दै दिए । उक्त भिजिटिङकार्डमा इमेल ठेगाना अङ्ग्रेजीमा थियो भने बाँकी सबै कोरियन भाषामा । यसरी हामीलाई एकै हातले गाडी चलाएर गन्तव्यमा पु-याउने ती देवदूतको नामसमेत जान्ने मौका मिलेन त्यो अवसरमा । त्यसपछि हामीले धन्यवाद भन्दै उनलाई बिदाइ गरे । उनी आफ्नो गन्तव्यतिर सोझिए, हामी हाम्रो । त्यसको भोलिपल्ट सी फुड खाने ठाउँमा हामीले यो कुराको चर्चा ग-यौँ । साथी राजु क्षेत्रीले कार्ड हेरेपछि उनको नाम थाहा भयो । उनको नाम ‘किम विन ज्यो’ रहेछ । उनी ‘पास्टर’ पनि रहेछन् । पछि यी दयालु कोरियनलाई हामीले भेट्ने प्रयास गर्दा पनि असफल भयौँ । र पनि, उनले कोरियामा लगाएको यो गुन हाम्रा लागि प्रेरणादायी र अविष्मरणीय बनेको छ । सेवा गर्नु त निस्वार्थ भावनाले गर्नु भन्ने सन्देश दिएको छ । यसका लागि हामी किमप्रति कृतज्ञ छौँ । ईश्वरले उनको मनोकामना पूर्ण गरून् ।

खेल समाचार
‘लोकतान्त्रिक’द्वारा विमला सम्मानित
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, काठमाडौं क्षेत्र नं. १ ले दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाली खेलकुदअन्तर्गत करातेमा कास्य पदक विजेता विमला तामाङलाई नगदसहित सम्मान गरेको छ । बानेश्वरको आनन्द इभेन्ट एन्ड मिटिङ प्रा.लि.मा भएको कार्यक्रममा उपप्रधान, स्थानीय विकास एवम् सङ्घीय मामिलामन्त्री प्रकाशमान सिंहले विमलालाई नगद पाँच लाखसहित कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् । पदक जितेबापत विमलाले पाएको यो दोस्रो ठूलो पुरस्कार राशि हो । गत असोजमा विमलालाई नेपाल सरकारले नगद १० लाख रुपैयाँबाट पुरस्कृत गरेको थियो । १७औँ एसियाली खेलकुदको करातेतर्फ एकल कातामा विमलाले कास्य पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले विमलालाई आफूले दोस्रोपटक सम्मान गर्न पाएकोमा गौरव लागेको बताउँदै विमलालाई आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिएका थिए । ‘मैले खेलाडी विमलालाई सम्मान गर्न पाएको यो दोस्रो अवसर हो । यो दोस्रो अवसर मेरा लागि अझ विशेष छ । आफ्नै निर्वाचन क्षेत्रको लोकतान्त्रिक खेलकुद सङ्घले सम्मान गरेकाले पनि मलाई गर्व लागेको छ,’ उनले भने ।
सम्मानित भएपछि विमलाले आफ्नो देशका लागि पदक जितेर विश्वसामु नेपाललाई चिनाउदा पाउँदा खुसी लागेको बताउँदै सम्मान गर्ने संस्थालाई धन्यवाद दिइन् । विमलाले सम्मानले अझ जिम्मेवारी थपिदिएको बताउँदै आगामी एसियाली खेलकुदमा स्वर्णलाई लक्ष्यमा राखी अगाडि बढ्ने बताइन् । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, काठमाडौं क्षेत्र नं. १ का संयोजक नीरज कार्कीले सम्मान कार्यक्रमका लागि सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै धन्यवादज्ञापन गरेका थिए ।
यसैबीच माझी समाजले पनि चौथो एसियाडमा काँस्यपदक विजेता साम्बो खेलाडी विमला माझीलाई सम्मान गरेको छ । खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले कदरपत्रका साथ दोसल्ला ओढाएर विमलालाई सम्मानित तुल्याएका हुन् ।

प्रथम सार्क मिडिया कपको तयारी
नेपाल ओलम्पिक सङ्ग्रहालयले प्रथम सार्क मिडिया कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सार्क क्षेत्रका सञ्चारकर्मीबीच आयोजना हुने उक्त प्रतियोगिता सन् २०१५ को अन्तिमतिर आयोजना गरिने सङ्ग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जनाएका छन् । यस प्रतियोगिताका लागि आउँदो पुस १८ देखि माघ ३ गतेसम्म सञ्चालन हुने सातौँ मिडिया कप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीबाट नेपाली मिडिया टिम तयार गरिनेछ । आयोजक कमिटीले यस किसिमकोे मिडिया कप विश्वमा कहीँ पनि नखेलाइने दाबी गर्दै यसले पर्यटन विकास विस्तारमा टेवा पुग्ने जनाएको छ । प्रथम सार्क मिडिया कप सफलताका साथ सम्पन्न गर्न र सहयोगका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, सार्क सचिवालय, सम्बन्धित राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र नेपाल पत्रकार महासङ्घलाई पत्राचार गरिएको छ ।

विश्व पौडीमा चार खेलाडी
कतारको दोहामा हुने १२औँ फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ३ देखि ७ तारिखसम्म हुने च्याम्पियनसिपमा दुई पुरुष र दुई महिला गरी चार खेलाडीले विभिन्न एघार स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । छोटो दूरीको पुलमा खेल हुनेछ । पुरुषमा शिरीष गुरुङले ५०, एक सय र दुई सय मिटर फ्रिस्टायल तथा मिराज प्रजापतिले ५० र एक सय मिटर फ्रिस्टायल तथा ५० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सोफिया शाहले शिरीषकै इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछिन् । नेहारिका तुलाधरले ५० र एक सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउनेछिन् । त्यस्तै डिसेम्बर ३ देखि ८ तारिखसम्म सञ्चालन हुने युवा विकास परियोजनामा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय टोली पनि दोहा गएको छ । उक्त परियोजनामा ओसिना भारती र देवेश मानन्धर तथा प्रशिक्षक युवराज सुनुवारले सहभागी जनाउनेछन् ।

सन्तोष र रियालाई बुद्धिचाल उपाधि
नेपाल बुद्धिचाल सङ्घ, कन्सिन नेपाल तथा केन्द्रीय बाल कल्याण समितिको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय अन्तरबालगृह रनिङ सिल्ड बुद्धिचाल प्रतियोगिताको उपाधि ओसिड नेपालका सन्तोष चौधरीले हात पारेका छन् । अन्तिम चरणको खेलमा सहारा नेपालका रोसिम खड्कालाई हराउन सफल चौधरीले अपराजित रहँदै ७ दशमलब ५ अङ्क प्राप्त गरेका थिए । आठ चरणमा सम्पन्न प्रतियोगितामा उनले सातमा जित तथा एकमा बराबरी गर्दै नगद १५ हजारसमेत हात पारेका थिए । त्यसैगरी सहारा इन्टरनेसनलका रोसिम खड्का सात अंकका साथ दोस्रो स्थानमा रहँदै १० हजार नगद प्राप्त गरे । समान सात अङ्क हात पारेका साथी नेपालका निपुन पुनले तेस्रो स्थानमा चित्त बुझाउँदै आठ हजार प्राप्त गरेका थिए । छात्रातर्फ प्रयास नेपालका रियाले प्रथम, साथी अर्गनाइजेसनका पूजा नेपाली दोस्रो तथा अम्ब्रेला अर्गनाइजेसनका जुमा बस्नेत तेस्रो भएका थिए । नेपालका ३० वटा चिल्ड्रेन होम्सका एक सय ८३ जना खेलाडी सहभागी प्रतियोगिताका विजेतालाई पूर्वऊर्जामन्त्री गोकर्ण विष्ट, फिडेका उपाध्यक्ष वियाट्रिज तथा नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशीलगायतले पुरस्कार वितरण गरेका थिए ।

पूर्णमान स्मृति टेबलटेनिस हुने
अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा सातौँ पूर्णमान बज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिता मङ्सिर २१ गतेदेखि हुने भएको छ । प्रतियोगितामा कलेज र स्कुलतर्फ गरी जम्मा १४ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष एवम् स्व. पूर्णमानका छोरा धर्ममानले जानकारी गराएका छन् । कलेजतर्फ ब्वाइज/गल्र्सको सिङ्गल्स, डबल्स र टिम गरी ६ स्पर्धामा भिडन्त हुनेछ । स्कुलतर्फ ब्वाइज/गल्र्सतर्फ यू– १२, यू–१४ र यू– १६ उमेरसमूहअन्तर्गत सिङ्गल्समा खेल हुनेछ । त्यस्तै ब्वाइज/गल्र्सको टिम इभेन्टमा पनि खेल हुनेछ । त्रिपुरेश्वरस्थित सलिम स्पोर्टस् इन्टरप्राइजेजको प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

sportभारत चलबल च्याम्पियन
भारतले दोस्रो दक्षिण एसियाली चकबल च्याम्पियनसिपको उपाधि जितेको छ । दोहोरो उपाधि जितेको भारत पुरुष र महिलामा पहिलो भएको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा भारतले बंगलादेशलाई ६९–४० ले पराजित गरेको थियो । नेपालले भुटानलाई हराउँदै तेस्रो स्थानमा चित्त बुझायो । महिलाको उपाधि भिडन्तमा भारतले नेपाललाई पराजित गरेको थियो । नेपाल चकबल फेडेरेसनद्वारा आयोजित प्रतियोगिताको पुरुषमा चार र महिलामा दुई टिम सहभागी थिए ।