७७ वर्षदेखि छात्रा मात्र पढाउँदै आएको विद्यालय

७७ वर्षदेखि छात्रा मात्र पढाउँदै आएको विद्यालय


छात्रा मात्र अध्ययन गर्न पाउने एक मात्र विद्यालय नेपालगञ्जमा ७७ वर्षदेखि सञ्चालनमा छ ।

तराई क्षेत्र बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेसी समुदायको मात्र बसोवास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न प्रस्ताव गरे र सरकारीस्तरबाट छात्रा मात्र अध्ययन गर्न पाउने सरस्वती माध्यमिक विद्यालय नेपालगञ्जमा स्थापना गरियो ।

‘छोरीलाई विद्यालय पढाउनुपर्छ, तर एउटा छुट्टै विद्यालय चाहिन्छ भनेर शिक्षाप्रेमी स्व. केदारनाथ टण्डन र स्व. रामगोपाल टण्डनको सक्रियतामा वि.सं. १९९८ मा सरस्वती विद्यालय स्थापना गरिएको थियो,’ नेपालगञ्जका ७१ वर्षीय समाजसेवी विष्णुलाल कुम्हालले बताए ।

विद्यालय स्थापनापछि छात्रालाई अध्यापन गराउन शिक्षिकाको जिम्मेवारी रामकुमारी मेहरोत्रालाई दिइएको थियो । शुरुआती चरणमा ६–७ मात्र छात्रा विद्यालयमा अध्ययन गर्ने यो विद्यालयमा अहिले साथ सयभन्दा बढी छात्रा अध्ययनरत छन् ।

छात्रा मात्र पढ्न पाउने र शिक्षिकाले मात्र पढाउन पाउने व्यवस्था गरिएकामा अहिले शिक्षिकाको अभावमा शिक्षकको पनि व्यवस्था गरिएको छ । वि.सं. २०६५ सम्म महिला प्राचार्यले नै विद्यालय सञ्चालन गरिरहेको अवस्था पनि फेरिएको छ । विद्यालयमा अहिले सुरेशकुमार परसैला प्रधानाध्यापकको भूमिकामा रहेका छन् ।

‘विद्यालयमा कक्षा १२ सम्मको पढाइ शुरु भएपछि प्रधानाध्यापकका लागि हुनुपर्ने योग्यतामा महिला नपाएपछि पुरुष शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गरिएको हो,’ प्रधानाध्यापक परसैलाको भनाइ छ । यो विद्यालयमा अहिले शिक्षिकाकै सङ्ख्या बढी छ, तर त्यसकै हाराहारीमा शिक्षक पनि अध्यापनमा संलग्न छन् । वि.सं. २०७० यता पुरुष शिक्षकले विद्यालयमा पनि पढाइरहेका छन् । गणित र विज्ञान विषयका शिक्षिक महिला नहुँदा शिक्षक राखिएको जनाइएको छ ।

त्यसताका बाँकेमा विगतमा छोरालाई मात्र पढाउनुपर्छ भन्ने मान्यता थियो । छोरीलाई छोरासँगै विद्यालय पठाए बिग्रन्छन् भन्ने मान्यताले समाजमा जरो गाडेको थियो । ‘छोरीमान्छे मात्र पढ्ने भएकाले आफूहरूलाई साथीहरू, शिक्षिकालाई मनको कुरा भन्न सहज हुने र कुनै किसिमको डरत्रास पनि हुँदैन,’ कक्षा ८ मा अध्ययनरत सविता रोकायको बुझाइ छ ।