एसिया कप चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली भारतको मुम्बई प्रस्थान गरेको छ ।
डिसेम्बर २२ र २३ मा हुने प्रतियोगिताको पुरुषमा सुदिन खत्री, अनिश लामा, स्वोनिम मानन्धर र अंकित गुरुङले प्रतिस्पर्धा गर्नेछन् । महिलामा विमला नेपाली, अस्मिता राई, सञ्जु देसार र रश्मी पाण्डे छन् । सबै खेलाडी राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रपति रनिङ सिल्ड तथा उपराष्ट्रपति चिल्ड्रेन गेम्सका पदक विजेता हुन् ।
राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने उद्देश्यले प्रतियोगितामा सहभागी गराउन लागेको सानका निर्देशक नवीन उप्रेतीले जनाएका छन् ।
प्रशिक्षकमा रामकृष्ण खड्गी तथा अफिसियलमा तुलसीकुमार महर्जन र विकासविक्रम शाह छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राखेपका सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरेका छन् ।
प्रतिक्रिया