कोहलपुरमा भाइद्वारा दाजुको हत्या

कोहलपुरमा भाइद्वारा दाजुको हत्या


कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

आइतबार (१४ असार) बेलुका २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जानकारी दिएका छन् ।

प्रहरीले निजलाई कोहलपुर नगरपालिका–१५ स्थित चन्हवाबाट पक्राउ गरेको थियो । कुटपिटबाट हत्या भएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज लगिएको छ भने पक्राउ परेका विनोदको म्याद थपका लागि जिल्ला अदालत, बाँकेमा ल्याइएको प्रहरीले जनाएको छ ।