१३औँ सागलाई लक्षित गरी विशेष प्रशिक्षण

१३औँ सागलाई लक्षित गरी विशेष प्रशिक्षण


राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत राष्ट्रिय टिम तयारी समितिले नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण शुरु गरेको छ । हाललाई इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गरिएको छ ।

१८औँ एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४३ खेलाडीलाई विशेष प्रशिक्षणमा सहभागी गराइएको छ । १८औँ एसियाडमा प्याराग्लाइडिङबाहेक अन्य खेलका खेलाडीले पदक जित्न असफल भए पनि उनीहरूले गरेकोे उत्कृष्ट प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको तयारी समितिले जनाएको छ ।

प्याराग्लाइडिङले पुरुष टिम क्रसकन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो । उक्त पदक नेपालले १८औँ एसियाडमा हासिल गरेको एक मात्र पदक थियो । विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेको थियो ।

माघ ५ गतेसम्म चल्ने प्रशिक्षण मङ्सिर २५ गतेदेखि सुरु भए पनि औपचारिक उद्घाटन भने मङ्सिर २९ गते शनिबार मात्र गरिएको हो । राखेपका सदस्यसचिव केशवकुमार विष्टले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव विष्टले पदक ल्याउन असफल भए पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १३औँ सागको तयारीलाई मध्यनजर गरी विशेष प्रशिक्षणको व्यवस्था मिलाइएको जानकारी गराए ।

‘राष्ट्रलाई पदक दिलाउने खेलाडीलाई त हामीले नगदसहित सम्मान गरिसकेका छौँ । पदक विजेतासहित पदक जित्न असफल भए पनि आ–आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको सम्मानका खातिर र १३औँ सागको तयारीलाई लक्षित गरी हामीले विशेष प्रशिक्षणको थालनी गरेका हौँ,’ सदस्यसचिव विष्टले भने । विष्टले प्रशिक्षकको हकमा सिनियर, जुनियर, स्थायी, अस्थायी नहेरी राम्रो र सक्षम प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिएको बताउदै बाँकी खेलाडीलाई आठौँ राष्ट्रिय खेलकुदपछि प्रशिक्षणमा राखिने बताए ।

राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले पहिले तोकिएको मितिभन्दा आठौँ राष्ट्रिय खेलकुद पछि सरेकोले तत्काललाई १८औँ एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मात्र समावेश गरी तालिम सुरु गरिएको बताए । कार्यक्रममा विशेष प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलाई सदस्यसचिव विष्टले ट्र्याकसुट प्रदान गरेका थिए ।