निसास्सिएर दम्पतीको मृत्यु

निसास्सिएर दम्पतीको मृत्यु


काठमाडौंको दक्षिणकालीमा आज (बुधबार) एक दम्पती मृत भेटिएका छन् ।

दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरूका १३ वर्षीय छोरा र छोरीसमेत अशक्त अवस्थामा फेला परेकाले उपचारका लागि मनमोहन अस्पताल लगिएको उनले बताए । छोराछोरीको पहिचान भने खुलेको छैन ।

ब्रोइलर कुखुराको चल्लालाई तापक्रम दिन कोइला बालेर सुतेका उनीहरू अक्सिजनको कमीका कारण निसास्सिएको हुन सक्ने आशंका गरिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।