एक हजार १ सय ८१ उपभोक्ता एक महिनादेखि खानेपानीबाट वञ्चित

एक हजार १ सय ८१ उपभोक्ता एक महिनादेखि खानेपानीबाट वञ्चित


महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाका बासिन्दा विगत एक महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १ सय ८१ उपभोक्ता विगत एक महिनादेखि खानेपानी पाउन नसकेर हैरान छन् ।

जलेश्वर नगरपालिकाको साविक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा खानेपानीको ग्राहक रहेकोमा ती कुनै पनि वडामा विगत एक महिनादेखि पानी नआएकाले र उपभोक्ता काकाकुल भएका छन् ।

ग्राहक खानेपानीको अभावमा टाढाटाढाबाट चापाकल, मोटर र बोरिङजस्ता स्रोतबाट पानी खान बाध्य रहेको जलेश्वर–२ का राजकिशोर साहले बताए । करिब एक महिनादेखि खानेपानीबाट पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुनलगायतका कामकाजमा निक्कै समस्या भएको जलेश्वर–४ का राजु श्रेष्ठले बताए ।

यस सन्दर्भमा नेपाल खानेपानी संस्थान जलेश्वरका प्रशासन प्रमुख अजयकुमार प्रसादले जलेश्वर नगरपालिकाको मुख्य बाटो भएरै सहरी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत एपेक्स जेभी रोशन कन्स्ट्रक्सनले ह्युमपाइप राखेर नाला निर्माण गर्न लागेको क्रममा खानेपानीको पाइप ठाउँठाउँमा तोडेकाको कारण खानेपानी कार्यालयले पानीको सप्लाइ रोक्नुपरेको र सोही कारण उपभोक्ता खानेपानीबाट वञ्चित हुनुपरेको बताए ।

उनले खानेपानीको कुनै गल्ती कमजोरी नरहेको, खानेपानीमा पानी पर्याप्त मात्रामा जम्मा रहेको र खानेपानी कुनै पनि बेला पानी तयार रहेको बताए । उनले तर, नाला निर्माणका लागि ह्युमपाइप राख्न स्काइभेटरले बाटो खन्दा ठाउँठाउँमा खानेपानीको ६ इन्च र आठ इन्चका पाइपका साथै मुख्य पाइपसमेत तोडेको र अहिलेसम्म पनि तोड्ने क्रम जारी रहेकाले पानी सप्लाइ दिएपछि पूरै सहर नै जलमग्न हुने भएकाले पानीको सप्लाइ रोकेको बताए ।

खानेपानी कार्यालयले जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र र महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पनि खानेपानी उपभोक्ताको समस्याबारेमा जानकारी गराउँदा उनीहरूले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने र खानेपानी उपभोक्ताले निर्वाध रूपमा पानी खानुपर्ने बताए, तर ठेकेदार कम्पनी आफ्नो कामप्रति मात्रै केन्द्रित भई खानेपानीको पाइप मर्मतमा खासै चासो नदेखाएको नगरवासीले गुनासो गरेका छन् ।