तराईमा शीतलहरले जनजीवन प्रभावित

तराईमा शीतलहरले जनजीवन प्रभावित


मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेसको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेसका बजारमा चहलपहल कम हुन थालेको छ ।

खासगरी गरिब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरिब, विपन्न वर्गका समुदाय जाडोबाट बच्न परालको ओछ्यान र गोबर गुइँठाबाट सल्काएको आगोबाट शरीरलाई न्यानो पारी जीवन बिताइरहेका लहान–२३ का वीरेन्द्र गुप्ताले बताए । कपडा पसलमा न्यानो कपडा किन्नेको भिड भएको अवस्थामा न्यानो कपडाको माग बढेपछि व्यापारीले बढी मूल्य लिई मौकाको फाइदा उठाउने गरेका छन् ।

अस्पतालमा अहिले रुघाखोकी, निमोनियाका बिमारीको भिड रहेको डा. सुनील कुशवाहाले बताए । सरकारी अस्पतालमा बिरामीको उपचारमा बढी समय लाग्ने भएकाले निजी अस्पताल, क्लिनिकमा बिरामी जाने गरेका छन् । चिसोले जनजीवन प्रभावित हुन थालेसँगै विद्यालय, क्याम्पसमा विद्यार्थी विगतको तुलनामा घटेका छन् ।

बिहानै खुल्ने व्यापारिक पसल र बजार पनि ढिलो खोलिने गरेको छ । साँझपख पनि चिसो झनै बढ्दा गर्दा बजार साँझदेखि नै सुनसान हुने लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्यले बताए ।

कुहिरो र चिसोले जनजीवन कष्टकर बनाउने गरेको छ । पूर्वी तथा मध्यमधेसका जिल्लामा दुई दिनदेखि चलेको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरिजसो कुहिरो लाग्नाले एक्कासि बढेको चिसोले सिरहालगायत प्रदेश १ को गाईघाट, झापा, मोरङ, विराटनगर र प्रदेश २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायतका जिल्लामो चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ ।

बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारीचालक हेडलाइट बाल्न बाध्य छन् । आज (बिहीबार) बिहान लहानको तापक्रम ११ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । राति पनि शीतलहर चलेका कारण चिसो बढी महसुस हुने गरेको छ ।