मेक्सिकोमा तत्काल पर्खाल नलाग्ने

मेक्सिकोमा तत्काल पर्खाल नलाग्ने


संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले बुधबार राति अल्पकालीन खर्च विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयकमा अमेरिका–मेक्सिको सीमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गरेको बजेटलाई भने समेटिएको छैन ।

सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले सरकारको दैनिक कार्यसञ्चालनका लागि बजेट स्वीकृत भएको जानकारी दिए । बजेट स्वीकृत भएसँगै संघीय सरकारी कार्यालय बन्द हुने परिस्थितिबाट जोगिएका छन् ।

यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित हुन आवश्यक छ, र यसमा दुवै पार्टी रिपब्लिकन र डेमोक्रेटबीच सहमति भएका छन् । दुवै सदनबाट पारित हुने उक्त बजेटमा शुक्रबार मध्यराति राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

रिपब्लिकन र डेमोक्रेटिक पार्टीका नेताहरुले बुधबार राष्ट्रपति ट्रम्पको विवादास्पद अमेरिका–मेक्सिको पर्खाल निर्माणबारे अहिल्यै निर्णय नगर्ने सहमति भएसँगै बजेट अनुमोदन भएको थियो ।

‘सिनेटमा हाम्रा रिपब्लिकन साथीहरूले बेलैमा सही निर्णय गर्नुभएको छ, र संघीय सरकारी सेवा ठप्प हुनबाट जोगिएको छ । संसदका दुवै सदनबाट यो विधेयक पारित हुने कुनै सम्भावना नै थिएन, र आमजनता पनि यसको विपक्षमा छन्,’ सिनेटमा डेमाक्रेटिक पार्टीका नेता चक सुमरले बताए । ह्वाइटहाउसका सहयोगीहरूले राष्ट्रपति ट्रम्पले संशोधित विधेयकलाई नै स्वीकृत गर्ने जानकारी दिएका छन् ।

तर, राष्ट्रपति ट्रम्पका निम्ति यसलाई पराजयको रूपमा लिइएको छ, किनभने उनले पर्खाल निर्माणका लागि पाँच अर्ब डलर तत्काल जरुरी भएको बताउँदै आएका थिए । राष्ट्रपति ट्रम्पको विचारमा पर्खाल निर्माणले अवैध आप्रवासनलाई रोक्न ठूलो मद्दत गर्नेछ ।