राष्ट्रिय खेलकुद परिषदको संरक्षक तथा प्रधानमन्त्री भएको नाताले केपी शर्मा ओलीको तस्बिर राष्ट्रिय खेलकुद परिषदको भित्तामा सजाउनु स्वाभाविक हो । त्यस्ता दृश्य प्रायः सरकारी कार्यालयहरूमा जताततै देख्न सकिन्छ । राखेपमा पनि राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीसँगैै सरकारप्रमुख ओलीको तस्बिर पनि सदस्यसचिवको कार्यालयमा सजाइएको छ ।
तर, राखेपले प्रधानमन्त्री ओलीलाई खेलकुदप्रेमी प्रधानमन्त्री देखाउन उहाँले दशरथ रंगशालामा फुटबल खेलेको फोटो ठूलो बनाएर खेलकुदमा राखेको छ । राखेपले प्रधानमन्त्रीले फुटबल खेलेको उक्त फोटो दशरथ रंगशालाको मुख्य गेट, सदस्यसचिव केशवकुमार विष्ट र उपाध्यक्ष पीताम्बर तिम्सिनाको कार्यालयमा पनि राखेको छ ।
फुटबलभन्दा ठूलो भुँडी देखिएको प्रधानमन्त्रीको उक्त फोटो राखेपले किन ठूलो पारेर खेलकुदमा राखेको हो त्यसको अहिले खेलकुदमा व्यापक चर्चा भएको छ । राखेप सदस्य उपेन्द्र पौडेलले त उक्त फोटोमाथि स्टाटससमेत लेखेका छन् । पौडेलले फेसबुकमा प्रधानमन्त्रीको उक्त फोटो राखेर स्टाटसमा ‘नेपालीका राजनीतिक मेसी’ भनेरसमेत लेखेका छन् ।
ओली नेपाली राजनीतिका ‘मेसी’ भए पनि खेलकुदका के हुुन् त्यो सबैलाई थाहा छ । उनी खेलकुदको अभिभावक हो, उनले खेलकुदलाई संरक्षकत्व प्रदान गरिरहेका छन् । तर, चाकरी बजाएर आफ्नो दुनो सोझ्याउनेहरूले प्रधानमन्त्री ओलीलाई खेलकुदको भेट्रान खलाडीको रूपमा प्रस्तुत गर्नु कतिसम्म उचित हो, त्यसले अहिले व्यापक चर्चा पाएको छ ।
नेपालमा आयोजना हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोक्न नसकेको सरकारका प्रधानमन्त्री ओलीको यस्तो तस्बिर बनाएर राखेपले खेलकुदमा के गर्न खोजेको हो त्यो बुझ्न निकै गाह्रो परेको छ ।
प्रतिक्रिया