ललितपुर जिल्ला किकबक्सिङ संघको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किकबक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको पुरुषमा १० तथा महिलामा २ गरी १२ स्पर्धामा १ सय ४८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन् । प्रत्येक तौलसमूहमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५–५ हजार नगद पुरस्कार पाउनेछन् । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार सय ५ नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
पहिलो दिन पुरुष ५५ केजीमा एपीएफका शुभन नेपाली, नेपाल आर्मीका कान्ति लामा, सतुंगलका मनोज सुनुवार, काभ्रेका सुवास लिम्बू, एपीएफका तीर्थराज थापा, सितोरियोका जेनिश राई, आयोजकका कपिल रोक्का र आर्मीका महेश भुजेल आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरी क्वार्टरफाइनलमा पुगे । महिला ५० केजीमा आर्मीकी एलिसा चाँद र कोपिला लिम्बूले क्वार्टरफाइनल यात्रा तय गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया