एक वर्षसम्म मजदुर ज्यालाबाट वञ्चित

एक वर्षसम्म मजदुर ज्यालाबाट वञ्चित


दार्चुलाको मार्मा गाउँपालिका– ३ मा निर्माण गरिएको स्वास्थ्यचौकी भवन निर्माणका मजदुरले निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि ज्याला पाएका छैनन् । एक वर्षअघि निर्माण सम्पन्न भएको स्वास्थ्यचौकी भवनका अधिकांश मजदुरले कामबापतको ज्याला नपाएका हुन् ।

०७२ भदौमा शुरु भएको स्वास्थ्यचौकी भवन निर्माण ०७४ मंसिरमा सम्पन्न भएको थियो । कुल एक करोड ८४ लाख रुपैयाँको लागतमा निर्माण भएको आवाससहितको भवनमा काम गर्ने मजदुरले अहिलेसम्म ज्याला नपाएको गुनासो गरेका हुन् ।

भवन निर्माणका मिस्त्री, डकर्मीले कामबापतको ज्याला नपाएको डकर्मी रतनसिंह धामीले बताए । उनले भने, ‘दैनिक रु. ७०० मा काम गरेका हौँ, तर अहिलेसम्म निर्माण व्यवसायी सम्पर्कमा छैनन् । आफ्नो मात्रै काठको काम गरेबापत रु. ४५ हजार लिन बाँकी छ ।’ काम गरेको रकम नपाउँदा घरायसी खर्च धान्नसमेत धौधौ परेको उनले बताए ।

उक्त स्वास्थ्यचौकी भवन निर्माणमा काम गर्ने मजदुर तथा मिस्त्री–डकर्मीको गरी झन्डै १४–१५ लाख रुपैयाँ तिर्नै बाँकी रहेको कामदार बताउँछन् । निर्माणको जिम्मा पाएको बंगलामुखी कन्स्ट्रक्सनले अहिलेसम्म आफूहरूको रकम भुक्तानी नगर्दा दैनिक छाक टार्नै समस्या भएको धामी बताउँछन् ।

काम गरी खाने मजदुरको रकम नतिरेर ठेकेदार सम्पर्कविहीन भएको उनीहरूको गुनासो छ ।

निर्माण व्यवसायी प्रतिनिधि इन्द्रसिंह ऐरी मजदुरको ज्याला तिर्न नसकिएको स्वीकार गर्छन् । ‘मैले काम गराएको रु. तीन–चार लाख दिन बाँकी छ । स्वास्थ्यचौकी भवन निर्माणमा झन्डै रु. ५० लाख घाटा भयो । एउटै ठाउँमा लाखौँ रकम घाटा भएपछि अहिले निर्माण कम्पनी टाट पल्टेको छ । घरबाट लगेर दिनलाई रकम छैन,’ उनी भन्छन् ।

भवन निर्माण गरेको एक वर्षसम्म पनि स्थानीय तहलाई भवन हस्तान्तरण गरिएको छैन । भवन हस्तान्तरण नहुँदै अहिले स्वास्थ्यचौकी नयाँ भवनमा सरेको छ । भवन जीर्ण हुन थालेपछि स्वास्थ्यचौकी नयाँ भवनमा सारिएको अहेव गोविन्द जोशीले बताए ।
रासस