‘मान्छेमाथिको विश्वास टुट्यो’—धरणीधरका नाति अर्पण

‘मान्छेमाथिको विश्वास टुट्यो’—धरणीधरका नाति अर्पण


antarbicharख्यातिप्राप्त साहित्यकार धरणीधर कोइरालाका सहोदर नाति तीस वर्षीय अर्पण कोइरालाको जीवनमा अहिलेसम्म चार युवती आए, तर खुश्बु ओलीको आगमनचाहिँ उनको जीवनको सबैभन्दा ठूलो घाउको खाटा बनेर रहने भयो । ०३९ कात्तिक २४ गते काठमाडौंमा जन्मिएका अर्पणले माध्यमिक तहसम्मको शिक्षा पूरा गर्न अनेकौँ विद्यालय चहार्नुप-यो । त्रिभुवन आदर्श मावि फर्पिङ, मेरीगोल्ड, ज्ञानोदय, भीएस निकेतनमा पढेका उनले प्रवेशिका परीक्षा उत्तीर्णचाहिँ भोजपुरबाट गरेका हुन् । कम्प्युटर एप्लिकेसनमा स्नातक उनले निदरल्यान्डबाट एपीडीएमएसमा स्नातक गरेका छन् । लन्डन स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीबाट इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट स्टडिजमा प्रिएमबीएस कोर्स पनि अर्पणले गरेका छन् । जीवनमा व्यवसायी बन्ने लक्ष्य लिएका उनी भन्छन्, ‘कसैको दुःख देख्न सक्दिनँ, व्यवसाय त गरिन्छ र सेवामुखी ।’ खुश्बुले धोका दिएपछि अर्पण केही समय निकै छटपटिए, अब सम्हालिएका छन् । गत साता घटना र विचारको कार्यालयमा आइपुगेका अर्पणलाई हाम्रा संवाददाताले प्रश्न गरे– जीवनमा कतिजना युवतीसँग तपाईंको प्रेम भयो ? उनले सीधा जवाफ दिए– चारजनासँग ।
० सबैले तपाईंलाई छोडे कि सबैलाई तपाईंले ?
– कसैलाई मैले छोडेँ, कतिपयले मलाई छोडे, दुई परिवारमा कुरा नमिलेर पनि छुट्नुप-यो । अन्तिममा चाहिँ म आफैँ असफल भएको हुँ । मसँग नाम जोडिएको मानिसचाहिँ सायद सफल हुनुभयो ।
० तपाईंले अन्तिममा प्रेम गरेको मान्छेको नाम के हो ?
– नाम लिएर कसैको बद्नाम गर्ने मेरो मनसाय छैन ।
० देश/दुनियाँलाई थाहा छँदै छ त !
– मलाईचाहिँ थाहा भएन ।
० बिर्सेको हो कि बिर्सन चाहेको मात्र ?
– बिर्सन चाहन्छु, केही हदसम्म सफल भएको पनि छु ।
० तपाईंको विचारमा प्रेम के रहेछ त ?
– विश्वास, ट्रस्ट, फेथ । कानुन अन्धो भनेजस्तै प्रेम पनि अन्धो हुँदोरहेछ ।
० जीवनको लक्ष्य के बनाउनुभएको छ ?
– लक्ष्मीप्रसाद देवकोटका शब्दमा ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । हजुरबा (धरणीधर कोइराला)को कविता छ, ‘भो भयौ अति सुत्यौ, अब जाग ।’
० तपाईंको चन्द्रमा चाहिँ के हो नि ?
– मैले गरेको कामबाट मेरा वरिपरिकाहरूको भोकप्यास मेटिने काम हुनुपर्छ, बस् त्यही हो ।
० समाजसेवी बन्ने ?
– नाम जे पनि हुन सक्छ । व्यापारी, लेखक, समाजसेवी जे पनि हुन सक्छ । कम्तीमा म र मेरो देश अन्धकारमा नरहोस् ।
० तपाईं त अहिले कुनै खुश्बु नामकी युवतीको पूर्वप्रेमी भनेर मात्र चिनिनुहुन्छ नि ?
– उहाँको एउटा अन्तर्वार्ता हेरेको थिएँ । उहाँले मलाई एउटा दुव्र्यसनी मात्र हो बाँकी केही होइन भन्नुभयो । त्यसको जवाफ दिइरहन आवश्यक ठान्दिनँ ।
० खुश्बुको के कुराबाट तपाईं आकर्षित हुनुभएको थियो ?
– समाजप्रतिको उहाँको लगाव आकर्षणको एउटा पक्ष हो । ‘मिस टिन’ बनेपछि उहाँले दिएको अभिव्यक्तिले पनि मलाई आकर्षित गरेकै हो । उहाँको मुहारको सौन्दर्यले पनि मलाई अवश्य आकर्षित ग-यो ।
० अब कसैसँग तपाईंको प्रेमयात्रा सुरु होला ?
– अब गाह्रो छ ।
० पहिले महिला सती जान्थे, तपाईं प्रेमिकाकै नाममा सती जान लाग्नुभएको ?
– होइन, यो अहिलेको कुरा हो, भोलि जे पनि हुन सक्छ ।
० मान्छेको जीवनमा प्रेम हुन्छ र टुट्छ पनि, तर कसैको नाममा अल्झिरहनु उचित हो ?
– उचित होइन र एकदमै होइन ।
० किन अल्झिरहनुभएको त ?
– अल्झेको छैन । समय मात्र लिइरहेको छु । पाठ राम्ररी पढिरहेको छु ।
० यो प्रेम प्रकरणमा के–के गुमाएँजस्तो लागेको छ ?
– विश्वास गुमाएँ, ठूलो कुरा शिक्षा पाएँ ।
० मोरङतिरका कोइरालाहरू नेपालमा कति प्रधानमन्त्री–मन्त्री भए, तपाईंकै हजुरबुबाकै पनि ठूलो साहित्यकार तथा कविका रूपमा देशका नाम छ, अरू कतिपय पनि यहाँ के–के बने–बने, तपाईं आफूचाहिँ के बनेँ भन्ने लाग्छ ?
– म यतिञ्जेलसम्म केही बनेको रहेनछु, अबचाहिँ मान्छे बनेँ भन्ने लाग्न थालेको छ ।
० योभन्दा अगाडि मान्छे हुनुहुन्नथ्यो ?
– दुनियाँको स्वरूपमा त मान्छे नै थिएँ, तर दुनियाँको नजरमा रहेनछु । यहाँ मान्छे कहलिन दुनियाँको हेराइ या बुझाइमै मान्छे हुनुपर्दोरहेछ ।
० अहिले आएर यो कुराको अनुभूति कसरी भयो ?
– यसको अनुभूति त्यतिबेला भयो जब मैले अत्यन्त विश्वास गरेका केही पात्र मबाट टाढिए । त्यस्तो पात्र भन्नाले घर–परिवारका सदस्य हुन सक्छ, प्रेमी–प्रेमिका पनि हुन सक्छ । आफूले सोच्दै नसोचेको पात्रबाट पनि यस्तो व्यवहार हुनेरहेछ भन्ने तथ्य भोगाइसँगै मलाई यस्तो अनुभूति हुन पुग्यो ।
० तपाईंका विश्वासका पात्रहरू सबै टाढिए त ?
– आजका दिनमा त्यही भन्नुपर्छ ।
० त्यसोभए आजका दिनमा तपाईंसँग कोही पनि नजिक छैनन् ?
– खासै छैनन् । तर, मेरा आमाबुबा हुनुहुन्छ । दिदी–भिनाजु, आन्टी…।
० यो देशमा अरू केही तपाईंका नजिक छन् जस्तो लाग्दैन ?
– लगभग लाग्दैन । नलागेरै यस्तो कुरा गर्नुपरेको हो ।
० यस्तोसँग किन र कसरी उजाडियो हँ तपाईंको मन ?
– मैले सबैलाई विश्वास गरेँ, त्यसको प्रतिफल यस्तो हुँदोरहेछ ।
० सबैलाई विश्वासचाहिँ किन गर्नुभयो त मनै उजाडिने गरी ?
– विश्वास भन्ने कुरा गर्नु नै उपयुक्त होला भनेर मैले विश्वास गरेँ, तर अरूहरूले विश्वास गरेनन् ।
० अरूले विश्वास गर्नुपर्छ भन्ने छ र कसैलाई पनि ?
– छैन–छैन, आवश्यक छैन । म नै गलत रहेछु । यही अनुभव अहिले भयो र त ‘मान्छे’ भएजस्तो लाग्यो अब ।
० मान्छे हुँदा र नहुँदाको बीचमा के फरक पाउनुभयो त तपाईंले ?
– मान्छे नहुँदा धेरै मान्छे सल्बलाउँदा रहेछन् यो मान्छे हो भनेर । तर, आजको दिन मान्छे हुँदाचाहिँ कोही नहुने रहेछन्, एक्लै गर्नुपर्दोरहेछ भन्ने लाग्न थालेको छ ।
० अब गर्नचाहिँ के गर्नुहुन्छ त ?
– त्यस्तो अदर्शवादी कुरा केही सोचेको छैन । आफ्ना लागि एउटा निवास बनाउँछु र त्यसपछि जे–जस्तो सक्छु… सानोतिनो व्यवसाय गर्नुपर्ने देखेको छु । विश्वासिला पात्र यहाँ नभए पनि विदेशमा छन् साथीभाइहरू, उनीहरू सहयोग गर्न तयार छन् ।
० बास बस्ने ठाउँ नै छैन र अहिलेसम्म तपाईंको ?
– नभएको होइन– छ, तर आफू बस्नलायकको बनाउँदै छु ।
० कहाँ बनाउने सोच्दै हुनुहुन्छ नि तपाईंको चाहनाको घर ?
– फर्पिङ, जुन स्वर्गीय कवि धरणीधर कोइरालाले स्थापित गर्नुभएको थियो, त्यहीँ गर्ने सोच बनाएको छु ।
० तपाईंले ‘आफू बस्नलायक’ भन्ने शब्द प्रयोग गर्नुभयो, आफू बस्नलायकचाहिँ के–के भएपछि हुन्छ भन्ने तपाईंको बुझाइ हो नि ?
– अरू जुन सुविधा भए पनि नभए पनि कम्पाउन्डवालचाहिँ लगाउनैप-यो, एउटा सेक्युरिटीको व्यवस्था हुनुप-यो । किनकि, यहाँ आफू मर्ने डर होइन कि आफ्नैले मार्लान् भन्ने डर बढ्ता छ । यसरी सेक्योर भएर आफ्नो फ्यामिली र कम्तीमा यसो फ्रेन्डस्लाई आश्वस्त पार्न सकुँ कि मैले गर्दा कसैलाई पनि हानी नपुगोस् ।
० त्यो सेक्युरिटी जो राख्नुहुन्छ, त्यो मान्छे राख्नुहुन्छ कि रोबोट ?
– त्यो त मान्छे नै राख्छु नि ।
० मान्छे नै राख्ने हो भने त कसरी विश्वास गर्नुहुन्छ त फेरि ?
– बाहिरबाटै साथीहरूले ‘ब्ल्याक क्याट्स’ सेक्युरिटीको प्रबन्ध गरिदिने वचन दिएका छन् । मेरा लागि साथीहरूले त्यो पठाइदिँदा एक प्रकारले विश्वस्त हुन सकिएला ।
० यसरी तपाईंलाई सेक्युरिटी गार्डको प्रबन्ध गरिदिने साथीहरूचाहिँ विश्वास गर्न सकिने जमात नै हो त ?
– एकदम हो भन्ने लाग्छ ।
० कसरी नि ?
– विशेष परेको बेला सहयोग दिने साथीभाइ भएकाले विश्वास र भरोसा गर्दै आएको हुँ ।
० भविष्यका अन्य योजनाचाहिँ के छन् नि तपाईंका ?
– चितवनमा एउटा सिगरेट फ्याक्ट्री खोल्ने सोचअनुसार काम अघि बढाउँदै छु । एउटा एयरलाइन्स पनि दर्ता गरेको छु । त्यसका लागि एनओसी लिने प्रोसेस अघि बढाउँदै छु । आफ्नो नाममा होइन अरूकै नाममा, आफू सल्लाहकारजस्तो भएर काम गर्छु ।
० लगानी आफ्नो गरेर नामचाहिँ अरूको कि कसो ?
– लगानी म गर्दिनँ, साथीभाइले नै गर्छन् । मचाहिँ सल्लाहकार मात्रै रहन्छु । मसँग त त्यात्रो पुँजी नै छैन त कहाँबाट गर्छु ?!
० अनि यस्तो कामबाट तपाईं आफू कसरी लाभान्वित हुनुहुन्छ त ?
– मैले राम्रो सल्लाह, सुझाव र आफ्नो ठाउँबाट मद्दत दिएबापत उनीहरूलाई फाइदा हुने भएपछि डेफिनेट्ली म पनि लाभान्वित भइहाल्छु नि ।
० साहित्य वा राजनीतिमा जानेचाहिँ इच्छा छैन तपाईंलाई ?
– साहित्यमा छ, राजनीतिमा चाहिँ छैन ।
० राजनीतिसँग चाहिँ किन यस्तो बेलगाव नि ?
– राजनीति मैलो छ, त्यसैले ।
० तपाईंजस्तो युवाले त राजनीतिको मैलो देखेर डराउने हो त ? सफा गर्न लागिपर्नुपर्ने पो हो त !
– हाम्रो यहाँको राजनीतिलाई कुनै साबुनले पनि धुन सक्दैन जस्तो लाग्छ ।
० राजनीति सफा हुँदैन भन्ने नै तपाईंको निष्कर्ष हो ?
– हन्ड्रेड पर्सेन्ट यही निष्कर्ष छ मेरो त । कमसेकम आजको दिनसम्मको अवस्थाका आधारमा भन्नुपर्दा त यही भन्नुपर्छ ।
० राजनीतिलाई फोहोर देख्ने तपाईं पनि कोइराला, देशको राजनीतिको केन्द्रीय स्थानमा पनि कोइराला ! यो कस्तो संयोग हो नि ?
– खै कस्तो संयोग भन्ने ! जे होस्, आजको दिनसम्म हेर्दाचाहिँ कोइराला नै केन्द्रमा भए पनि राजनीतिको मैलो सफा होला भन्ने लागेको छैन, भोलिका दनमा उहाँहरूले गर्नुभएछ भने त म के भनुँ ?
० भोलि केही गरी राजनीति सङ्लिएछ भने राजनीतिमा लाग्नुहुन्छ ?
– राजनीति त मलाई मनै पर्दैन । र, यो सङ्लिने त देख्दिनँ म ।
० अनि, साहित्यमा लाग्न त आफूसँग लेखकीय क्षमता आवश्यक पर्छ, तपाईंलाई त्यो आत्मविश्वास छ त लेखक बन्ने ?
– मेरी दिदीले गाइड गर्छु भन्नुभएको छ, हेरौँ के–के हुन्छ ।
० भविष्यमा वैवाहिक जिन्दगी बिताउने योजना बनाउनुभएको छ कि छैन नि तपाईंले ?
– आजसम्म बनाएको छैन, भोलिको कुराचाहिँ थाहा छैन ।
० भोलिबारे सोच्दैसोच्नुहुन्न ?
– स्थिति नै छैन नेपालमा ।
० त्यसो भए अघिका सारा योजनाचाहिँ किन त, भोलिको सुनिश्चितता नदेख्ने मान्छेले घर, व्यवसायजस्ता कुरा सोचिरहनु आवश्यक थियो र ?
– सपना त देख्न पाउनुप-यो नि ! सपना देख्नु कुनै अपराध त होइन होला ।
० सपनामै बाँच्न चाहनुहुन्छ तपाईं ?
– भनिहालेँ, यहाँको वातावरण नै यस्तै छ ।
० प्रेम गरेरै आफ्नो निकै सम्पत्ति गुमाउने व्यक्तिका रूपमा तपाईंबारे धेरैले चर्चा गर्छन् नि, गुमाएकै हो त ?
– हो । प्रेमका लागि साढे तेह्र करोड र सात लाख गुमाइयो ।
० कसरी गुम्यो त यत्रो रकम ?
– इन्डिया, युरोप, बैंकक, लन्डन आदि ठाउँमा साथीभाइ थिए, भ्रमण गरियो–गराइयो । खै, सिद्धियो !
० पैसाचाहिँ कहाँबाट आयो त, सबै पैत्रिक नै हो कि …?
– पैत्रिक त तीन करोडजति मात्रै होला । अरूचाहिँ साथीभाइकै सहयोग र विश्वासबाट प्राप्त भएको थियो, त्यही गुमाइयो । मेरा सहयोगी साथीभाइको नाम लिएर उहाँहरूलाई अप्ठ्यारो पार्न चाहन्नँ । तर, इन्डियामा पाँच हजार करोड रकम टर्नओभर हुने कम्पनीको मालिक पनि मेरो साथी छ, वेस्ट बंगालमा दिनको ६ करोड आईसीको दैनिक व्यापार हुने (आम्दानी नै दैनिक डेढ करोड आईसी हुन्छ) व्यक्ति पनि मेरा साथी छन् । यस्ता साथीहरूले परेको बेला मलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास कायम छ ।
० ती साथीहरूबाट तपाईंको नाममा अरू कसैले फाइदा उठाएछन् होइन त त्यसो भए ?
– सोझै फाइदा उठाएको भन्नुभन्दा पनि मेरो विश्वासमा कतै होटल बुक गरिदिनुभयो होला, कति फ्लाइट टिकट किनिदिनुभयो होला, कतै पच्चीस लाखको रक्सीको बोतल खोलिदिनुभयो होला, कतै सपिङ गरिदिनुभयो होला । यस्तैमा त हो खर्च भएको ।
० आफ्नो तीन करोड भनेकोचाहिँ नगद हो कि जिन्सीसहित ?
– चल–अचल गरेर त्यति गुमाएको हुँ ।
० तपाईंले यसरी प्रेमको नाममा खर्च गरेकोमा तपाईंको मातापिताको प्रतिक्रिया के छ त ?
– मातापितासँग प्रतिक्रियाका लागि फगत् आँसु थियो, तर त्यो आज छैन ।
० आज किन छैन त आँसु ?
– आज त फेरि छोराले गर्छ भन्ने विश्वास छ उहाँहरूमा । छोराले गर्छ भन्ने आधारका लागि ठाउँ–ठाउँमा लगेर देखाइसकेको छ, चिनाइसकेको छ । कसरी बस्छ भारतमा छोरो भनेर छर्लङ्गै पारिदिएकाले पनि मप्रति उहाँहरूभित्र विश्वास जागृत भएको छ ।
० मातापितामा चाहिँ भविष्यमा छोराले केही गर्छ भन्ने विश्वास जागेछ, तर छोरामा भने भविष्यप्रति आशा र विश्वास नै छैन ! कुरा कसरी मिल्यो त ?
– आजमा चल्ने हो, भोलि त के हुन्छ भनी किटान गर्नै नसकिने परिवेश छ त म के भनूँ ? आफू मर्ने होइन आफ्नैले मार्लान् भन्ने डर छ । त्यसैले भोलिको के भरोसा ?
० तपाईं आफ्नैहरूबाट यति धेरै आतङ्कित किन बन्नुभएको ?
– नेपाल यस्तो मुलुक हो कि जहाँ दश रुपैयाँ कमाउनलाई दिनभरि मिहिनेत गर्नुपर्छ । अर्थात् त्यत्ति कमाउनका लागि पूरै फोकस हुनुपर्ने मानिस थुप्रै देखिएको छ । उनीहरूका लागि अन्य सुख–सुविधाका साधन त दूरको कुरा । यस्तो समाजमा तपाईंले तिनलाई पचास रुपैयाँ दिनुभयो भने ‘लौ योसँग त प्रशस्तै रहेछ, लुट्नुप-यो’ भन्ने सोचेर उल्टै तिनले तपाईंको ज्यान नै लिन सक्दारहेछन् । भोगाइबाट बुझिएको कुरा हो यो ।
० यस्तो भोगे–देखेको व्यक्ति तपाईं, अब आफूजस्ता युवाहरूलाई के गर्नु या नगर्नु भन्ने सुझाव दिनुहुन्छ त ?
– अन्धकारमा नबस्नु ! सारमा यत्ति हो मैले युवा साथीहरूलाई दिने सुझाव ।
० यहाँ अन्धकार छ, हट्दैहट्दैन भन्नुहुन्छ तपाईं, अनि अन्धकारमा नबस्नु भनेर के गर्ने ? के देशै छोड्नु भन्ने ?
– देश छोड्नु भन्ने होइन, हरेक कुरालाई मिहीन ढङ्गले बुझ्न खोज्नु, कसैले चकलेट र सुन्तला खुवाएर गलत फाइदा उठाउन खोज्ला, त्यतातिर नलाग्नु । आफ्नु खुवी चिनेर त्यसअनुसार मिहिनेत गरी कमाउनतिर लाग्नु, लोभलालचमा नफस्नु । यस्तो सुझाव दिन सकिन्छ ।