– श्रीविक्रम भण्डारी
राष्ट्रिय खेलकुद परिषदका खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापाले नेपाल पेन्ताङ संघको महासचिवबाट पुस ५ गते राजीनामा दिएका छन् । थापाले युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मौखिक रूपमा भन्दै आएको ‘कुनै पनि कर्मचारी राष्ट्रिय संघको पदाधिकारी बन्न नपाउने’ (मौखिक निर्णय)को शिरोधार्य गर्दै महासचिव पदबाट राजीनामा दिएको फेसबुकमार्फत जानकारी गराएका छन् ।
साथै थापाले आफूले महासचिवबाट राजीनामा दिएपछि राष्ट्रसेवक सम्पूर्ण साथीहरूलाई पनि यथाशीघ्र कार्यान्वयनमा सहभागी हुन हार्दिक अनुरोध पनि गरेका छन् । यतिबेला कुलबहादुर थापाले बिनामौसमको खेती ‘राजीनामा’ किन गरे त्यो अहिले चर्चाको विषय बनेको छ । प्राप्त जानकारीअनुसार नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणालाई दबाब दिन पदबाट हटाउन मार्ग प्रसस्त गर्न थापाले राजीनामा गरेको रहस्यको खुलासा भएको छ । थापालाई महासचिवबाट राजीनामा गराउन विवाद समाधान तथा छानबिन समितिका संयोजक पीताम्बर तिम्सिनाको मिलेमतोसमेत रहेको जानकारी प्राप्त भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा युवा तथा खेलकुद मन्त्रालयले विवाद समाधान तथा छानबिन समिति गठन गरेको छ । उक्त तीन सदस्यीय छानबिन समितिको सदस्यमा कुलबहादुर थापा पनि छन् । अहिले छानबिन समितिले विवादित चारवटा संघहरू तेक्वान्दो, जिम्न्यास्टिक, कराते र कुस्तीका पदाधिकारीहरूलाई मन्त्रालयमा बोलाएर छानबिन गरिरहेको छ । यी चारमध्ये तीनवटा संघहरूसँग समितिले बयान लिइरहेको छ भने कुस्तीलाई पुस ८ गते आइतबार बोलाउने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
आइतबार कुस्ती संघका पदाधिकारीसँग समितिले बयान लिने कार्यक्रम तय गरेपछि थापाले राजीनामा दिएका हुन् । उनले राखेपको कुनै पनि कर्मचारी राष्ट्रिय संघको पदाधिकारी हुन नपाउने भन्दै राजीनामा दिएर ‘हिरो’ खोजे पनि थापा कुन उद्देश्यले प्रेरित भएर राजीनामा गरेका हुन् त्यसको पोल खुलेपछि अहिले थापा र तिम्सिनाको भित्री षडयन्त्रको पर्दाफास भएको छ ।
संयोजक तिम्सिना राखेपले मान्यता प्रदान गरेको निर्वाचित कुस्ती संघका अध्यक्ष नारायणदेव राणालाई हटाएर गैरकानुनी रूपमा गठन भएको राजमोहम्मद अन्सारीको संघलाई मान्यता दिलाउन थापालाई राजीनामा गराएर यस्तो षडयन्त्र रचिएको हो । यसर्थमा कि नारायणदेव राणा करातेका प्रशिक्षक हुनुको साथै राष्ट्रिय खेलकुद परिषदका कर्मचारी पनि हुन् । राणा कर्मचारी भएकै कारण उनलाई कुस्ती संघबाट हटाउन तिम्सिनाले यस्तो षडयन्त्र रचेका हुन् । जुन कानुनी रूपमा समेत अवैधानिक छ ।
कर्मचारीले खेलकुद संघमा बस्न नपाउने राखेपको बोर्डमा निर्णय भए पनि राखेपको ऐनमा भने त्यस्तो कुनै व्यवस्था छैन । राखेपको ऐनमा कर्मचारीले खेलकुद संघमा बस्न पाउने कुरा प्रस्ट रूपमा उल्लेख गरेको छ । ऐनमा व्यवस्था भएकै कारण थुप्रै खेलकुदका संघहरूमा राखेपमा कर्मचारीहरू पदाधिकारीका रूपमा बस्दै आएका छन् । कतिपय संघमा त राखेपले नै कर्मचारीलाई सिफारिस गरेर पठाउँदै आएको छ । यस्तोमा बोर्ड निर्णय जस्तोसुकै भए पनि ऐनमा उल्लेख भएको कुरा काट्न सक्तैन । यसर्थमा बोर्डको निर्णयभन्दा ऐनमा उल्लेखित कुरा ठूलो हो ।
‘तपाईं कसरी कुस्ती संघको अध्यक्ष बन्नु भो’ भन्ने राखेपको प्रश्नमा ‘मलाई साथीहरूले बनाएका हुन्’ भन्ने नाम मात्रका कुस्ती संघका अध्यक्ष राज मोहम्मदलाई कुस्ती संघको वैधानिक अध्यक्ष बनाउन थापा र तिम्सिनाले यस्तो चाल चलेको स्रोतले दाबी गरेको छ । राज मोहम्मदलाई वैधानिक अध्यक्ष बनाउन उनका भाइ अर्थात् तिम्सिनाका प्रिय मित्र समिम मियाँ अन्सारीले पनि तिम्सिनाको कान फुकेको बुझिएको छ । यस्तो अवस्थामा राणा राखेपको कर्मचारी भएको बहाना बनाउँदै उनलाई कुस्ती संघबाट हटाउन यस्तो चक्रब्युहको रचना गरिएको बुझिएको छ ।
यदि राणा कर्मचारी भएको नाताले संघको पदाधिकारीमा बस्न नपाउने हो भने अन्य संघका पदाधिकारीको रूपमा रहेका राखेपका कर्मचारीलाई समितिले कसरी हटाउँछ त्यो उत्सुकताको विषय बनेको छ । नेपाल तेक्वान्दोे संघ पूरै राखेपका कर्मचारीले भरिएको छ, जसमा दुईजना ओलम्पियन दीपक विष्ट र संगीना वैद्य पनि छन् । यस्तो अवस्थामा नारायणदेव राणालाई मात्र बलिको बोका बनाउन खोज्नु कति न्यायसंगत हुन्छ त्यो संयोजक तिम्सिनाले दूरदार्शिताका साथ सोच्नुपर्छ ।
अन्यथा कुलबहादुर थापा राजीनामा दिएर आफूले खनेको खाल्डोमा आफँै परेझैँ तिम्सिनाको संयोजकत्वमा रहेको यो समिति पनि अर्थहीन हुने कुरा दुईमत छैन । त्यसै त प्रतिवेदनमा मात्रै सीमित रहने यो संघले यस्तै किसिमको षडयन्त्र गर्न थाल्यो भने प्रतिवेदन पनि बुझाउन पाउने कुरामा समेत शंका पैदा भएको छ ।
प्रतिक्रिया