चेक रिपब्लिकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदुरको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११ जना पोल्यान्डका र दुईजना चेकोस्लोभाकियाका रहेको जानकारी दिए । उक्त दुर्घटना बिहीबार अपराह्न राजधानी प्रागबाट करिब ३०० किलोमिटर पूर्व काराभिना सहरको सीएसएम खानीमा भएको थियो ।
उक्त दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । चेक रिपब्लिकसमेतका पूर्वी युरोपका देशहरूमा ठूलो सङ्ख्यामा कोइला खानी सञ्चालनमा रहेका र तिनीहरूमा निकै जोखिम रहने गरेको छ ।
यसैगरी स्पेनको दक्षिणी क्षेत्रमा भएको डुंगा दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरू १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरूले जानकारी दिएका छन् ।
दुर्घटनामा परेको डुंगाबाट झन्डै तीसजनालाई जीवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिनसम्म खोजीकार्य चलाइएको थियो । ‘दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरू ३३ जना जीवितै भेटिएका छन्, जीवितमध्ये चारजना महिला र २९ जना पुरुष रहेका छन्,’ एक उद्धारकर्मीले भने ।
दुर्घटनामा परेकाहरू आप्रवासी भएको बताएको छ । उनीहरू अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउँदै थिए । मृत्यु भएकामध्ये दशजना पुरुष र दुईजना महिला रहेका छन् । महिलामध्ये एकजना गर्भवती रहेको जनाइएको छ ।
प्रतिक्रिया