अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट पारित नगर्ने हो भने आफूले कामचलाउ प्रयोजनका लागि उक्त विधेयकमा विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिएका छन् ।
अमेरिकी माथिल्लो सदनले सीमा पर्खालका लागि प्रस्तावित पाँच अर्ब डलरबाहेक बाँकी बजेट मात्र पारित गरेपछि राष्ट्रपतिको यस्तो भनाइ सार्वजनिक भएको हो । उक्त विधेयक अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित भएर सिनेटमा पुगेको थियो । राष्ट्रपतिको मागलाई विचार गरी तल्लो सदनमा २१७–१८५ को बहुमतले विधेयक पारित गरिएको थियो ।
उक्त विधेयक पारित भएकोमा खुसी भएका राष्ट्रपति ट्रम्पको अघिल्तिर फेरि सिनेटको तगारो बाँकी नै छ किनभने उक्त विधेयक १०० सदस्यीय सिनेटबाट पारित हुन ६० मत प्राप्त हुनुपर्छ जब कि सिनेटमा रिपब्लिकनको ५१ सिट मात्र छ ।
विधेयक पारित नभए शनिबारदेखि कतिपय संघीय कार्यालयहरूमा बजेट अभाव हुनेछ । सिनेटले भने फेब्रुअरी ८ सम्मका लागि बजेट पारित गरी राष्ट्रपतिसमक्ष स्वीकृतिका लागि पठाइसकेको छ । सिनेटमा रिपब्लिकन सिनेटरसँगको छलफलपछि ट्रम्पले भने, ‘मैले आफ्नो कुरा प्रस्टसँग राखँे । बजेटमा सीमा सुरक्षासम्बन्धी खर्च राख्नुको विकल्पै छैन । पर्खालको ठूलो महत्व छ, चाहे हामीलाई त्यो मन परोस् वा नपरोस् । अरू कुनै चिजभन्दा यसले अझ बढी राम्रोसँग कार्य गर्नेछ ।’
राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताहरूसँगको छलफलमा पनि पर्खाल निर्माणका लागि पाँच अर्ब डलरको बजेट पारित नभए आफूले बजेट स्वीकृत नगर्ने चेतावनी दिए । उनले बजेट अभावमा अमेरिकी सरकारी निकायहरू बन्द भएको अवस्थामा त्यसको जिम्मेवारी डेमोक्र्याट पार्टीले पनि लिनुपर्ने बताएका छन् ।
ट्रम्पको टिप्पणीले रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच अघिल्लो दिन भएको भद्र सहमतिलाई उल्ट्याएको छ । अन्य विकल्प बाँकी नरहेपछि क्रिसमसअघि सरकारी कार्यालयहरू बन्द गर्नुपर्ने परिस्थिति नआओस् भन्नका लागि दुवै पार्टीबीच सीमा पर्खालबाहेकको बजेट पारित गर्ने सहमति भएको थियो ।
डेमोक्रेट पार्टीका नेताहरूले मेक्सिकोसँगको सीमा पर्खाल निर्माण आवश्यक नरहेको र त्यो खर्चको सत्यानाश मात्र हुने भन्दै निरन्तर आलोचना गरिरहेका छन् । उनीहरूले संसदका दुवै सदनमा उक्त प्रस्तावविरुद्ध मतदान गर्ने जनाइसकेका छन् । बजेट अभावमा आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, राष्ट्रिय निकुञ्ज, यातायात तथा हाउजिङसमेतका निकायहरू नराम्रोसँग प्रभावित हुनेछन् । तर, सैनिकसमेतका अन्य सरकारी निकायहरूमा प्रभाव पर्नेछैन । यसै वर्षको शुरुमा सेप्टेम्बरसम्मका लागि बजेट पारित भएका कारण यी निकायमा समस्या हुनेछैन ।
बजेट अभाव झेल्ने एजेन्सीमा कार्यरत एक लाखभन्दा बढी कर्मचारीले तलब पाउने छैनन् र उनीहरूलाई रित्तो हात घर पठाइनेछ । मेक्सिको सीमामा पर्खाल लगाउने राष्ट्रपति ट्रम्पको सबैभन्दा ठूलो चुनावी एजेन्डा पनि हो । उनले सन् २०१५ मा राष्ट्रपतीय चुनावी प्रचार अभियानदेखि हालसम्म पर्खाल निर्माण गरिछाड्ने प्रतिज्ञा गरिरहेका छन् ।
अमेरिकी तल्लो सदनमा डेमोक्रेटिक पार्टी नेतृ नान्सी पेलोसीले भने, ‘पर्खालको केही काम छैन, मेरो विचारमा उनीहरूले यो कुरा राम्रैसँग बुझेका छन् ।’
प्रतिक्रिया