अल्जेरियाली तटमा शुक्रबार एउटा डुङ्गामा आगलागी हुँदा २० आप्रवासी बेपत्ता भएका छन् ।
सुरक्षा श्रोतलाई उद्धृत गर्दै अल्जेरियाको राष्ट्रिय समाचार संस्था एपीएसले जनाएअनुसार डुङ्गामा २९ आप्रवासी यात्रु थिए ।
घटनापछि तत्कालै उद्धारमा जुटेका स्थानीय, तालिमप्राप्त गोताखोर र सुरक्षाकर्मीले घटनास्थलबाट नौ जनालाई उद्धार गरेको समाचारमा जनाइएको छ । ती मध्ये दुई जना बालबालिका रहेका छन् ।
उद्धारगरिएकाहरुमध्ये केहीलाई आगोले डडाएकोले सामान्य घाइते लागेको अधिकारीहरुले बताएका छन् ।
उद्धार गरिएकाहरुको अवस्था स्थिर रहेको पश्चिमी अल्जेरियाको एउटा अस्पतालका निर्देशक मोहम्मद सायबले बताएको एएफपीले जनाएको छ । उद्धार गरिएकाहरुलाई त्यही अस्पतालमा लगेर उपचार गराइएको छ ।
समाचारमा जनाइएअनुसार डुङ्गामा रहेका सवै जना अल्जेरियाका हुन् । आगलागी भएपछि यात्रुहरू उफ्रिएर भागेका थिए । आगो के कारणले लाग्यो भन्ने अहिले सम्म एकीन हुन सकेको छैन ।
प्रतिक्रिया