टिपर दुर्घटनामा चालकको मृत्यु

टिपर दुर्घटनामा चालकको मृत्यु


रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर सडकबाट १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । मृतक चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१६ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

रुइनिवाङ–सिर्प सडकखण्डमा बाटो विस्तारका लागि प्रयोग गरिएको उक्त टिपर सर्पा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सडक छेउमा माटो फाल्ने क्रममा उक्त टिपर भासिएर दुर्घटनामा परेको हो । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा ल्याइएको बताइएको छ ।

यस्तै, बागलुङको काठेखोला गाउँपालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।

पर्वत जिल्लाको मोदी गाउँपालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउँपालिकामा ज्याला मजदूरी गरी बस्दै आएका ४५ वर्षीय पूर्णबहादुर सार्कीको उत्तीसको रुख काट्ने क्रममा सोही रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको हो ।

रुखले च्यापिँदा छातीमा गम्भीर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । मृतक सार्कीको शव धौलागिरि अञ्चल अस्पताल बागलुङमा राखिएको र आज शव परीक्षण गरी आफन्तको जिम्मा लगाइने बताइएको छ ।