खेलकुद लेख

खेलकुद लेख


sportसुशील र सुनिलको ताण्डव
एथलेटिक्स सङ्घमा फेरि कलह
लामो समयसम्म विवादमा होमिएको एथलेटिक्स सङ्घमा पुनः कलह सुरु भएको छ । मुख्य प्रशिक्षक सुशीलनरसिंह राणा र महासचिव सुनिल राजवंशीले एथलेटिक्स सङ्घलाई एकलौटी रूपमा चलाउन थालेपछि सङ्घमा विवाद उत्पन्न भएको हो । मनोनीत उपाध्यक्ष राणा र मनोनीत महासचिव राजवंशीले कार्यसमितिलाई जानकारीबिना आफूखुसी विभिन्न गैरकानुनी निर्णय गरेपछि विवादले उग्ररूप लिएको हो । वर्तमान अवस्थामा एथलेटिक्स सङ्घमा खलनायकको भूमिकामा देखिएका यी दुईले अध्यक्ष राजीवविक्रम शाहको काँधमा बन्दुक राखेर फड्काउँदै आएको सङ्घका पदाधिकारीहरूले बताएका छन । अध्यक्षलाई समेत गुमराहमा राख्दै धमिलो पानीमा माछा मार्ने कार्यमा सक्रिय भएपछि उनीहरूप्रति सङ्घका पदाधिकारीहरूले आक्रोश पोखेका छन् । आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न अन्य पदाधिकारीहरूलाई बाइपास गर्दै सङ्घमा ताण्डव मच्चाएपछि अहिले खेलाडी, पदाधिकारी र प्रशिक्षकहरूले समेत उनीहरूको विरोधमा सार्वजनिक रूपमै आफ्ना प्रतिक्रियाहरू व्यक्त गर्न थालेका छन् । स्मरण रहोस्, सुनिल निर्वाचनमा हारेर पनि अध्यक्ष शाहले उनलाई मनोनीत गरेर महासचिवमा विराजमान गराएका थिए । सुनिललाई महासचिव बनाउनमा सुशीलले अहम् भूमिका निभाएका थिए । एथलेटिक्समा राज गर्नहरूलाई महासचिव बनाउन सफल भएका प्रशिक्षक सुशीलले त्यसपछि ‘काले काले मिलेर खाऊँ भाले’कोे रणनीति सङ्घमा अख्तियार गरेको बुझिएको छ । सोहीअनुरूप अहिले सङ्घमा यी दुईले हालिमुहाली गर्दै आएका छन् ।
एथलेटिक्स सङ्घको निर्वाचन भएको एक वर्ष हुन लाग्दासमेत सङ्घले अहिलेसम्म मुसो मार्न सकेको छैन । दुईपटक कार्यसमितिको बैठक बस्नुलाई नै उपलब्धिपूर्ण मानिएको छ । एथलेटिक्समा राजीवविक्रम शाहको आगमनसँगै बाघ मार्ने दम्भ गर्नेहरू अहिले शाहको आलोचना गर्नमै आफ्नो समय खर्चिरहेका छन् । अन्तर्राष्ट्रिय मान्यता नपाउँदासमेत पूर्वअध्यक्ष नीलेन्द्रराज श्रेष्ठले वार्षिक रूपमा एथलेटिक्सका विभिन्न च्याम्पियनसिप गराएकोमा सायदै कसैको दुईमत होला । तर विडम्बना, वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको सङ्घले प्रतियोगिताको नाममा अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेको छैन । साँचो अर्थमा भन्नुपर्दा अहिलेसम्म एथलेटिक्सको भित्री टिमसमेत तयार भएको छैन । यसरी सोझै अनुमान लगाउन सकिन्छ– एक वर्षको अवधिमा एथलेटिक्सको पूर्ण कार्यसमितिको निर्माण गर्न नसक्नेले एथलेटिक्सको विकास कसरी गर्ला ? प्राप्त जानकारीअनुसार एथलेटिक्स सङ्घलाई पूर्णता प्रदान गर्न नदिनुमा सुनिल र सुशीलको विशेष भूमिका रहेको बुझिएको छ । यिनीहरूकै षड्यन्त्रका कारण सङ्घको साख दाउमा लागेको अन्य पदाधिकारीहरूको स्पष्टोक्ति छ । ती पदाधिकारीहरूले वर्तमान अवस्थामा एथलेटिक्स सङ्घ धरासायी बनेको प्रस्ट पार्दै अध्यक्ष शाह ठाउँ ओगट्न मात्रै सङ्घमा आएको आरोपसमेत लगाएका छन् । उनीहरूले आक्रोश पोख्दै भने, ‘कि त शाहले केही गरेर देखाउनुप-यो कि त पद छाड्नुप-यो । सङ्घमा नामले मात्रै हुँदैन काम गरेर देखाउनुप-यो, खाली कुर्सी ओगटेर सङ्घका क्रियाकलापलाई ठप्प पार्न मिल्दैन ।’
यतिबेला एथलेटिक्स सङ्घको सम्पूर्ण ग्रिप दुई खलनायक सुनिल र सुशीलको कब्जामा छ । उनीहरूले सङ्घमा उपद्रोे मच्चाउन साम, दाम, डण्ड, भेद चारै नीतिको अवलम्बन गरेका छन् । यसको ज्वलन्त उदाहरण हालै दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगिता हो । यी दुईले कार्यसमितिको निर्णयबिना नै खेलाडी, प्रशिक्षक र व्यवस्थापकको आफूखुसी छनोट गरेर एसियाडमा पठाएका थिए । त्यस्तै, बिनाछनोट स्वरूपा खड्कालाई सीधै अमेरिकाबाट बोलाएर इन्चोन एसियाडमा म्याराथनमा गैरकानुनी रूपमा सहभागिता गराएका थिए । स्वरूपा नेपाली मूलकी भए पनि उनले अमेरिकी नागरिकता लिइसकेकी छिन् । यसरी एक अमेरिकी अर्थात् विदेशी नागरिकलाई के स्वार्थसिद्धका लागि एसियाडमा सहभागिता गराइयो त्यो अहम् प्रश्न बनेको छ । खेलकुदको ऐन–नियमअनुसार विदेशी नागरिकलाई नेपाली टोलीमा सहभागी गर्न कदापि मिल्दैन । त्यस्तो ऐनको कुनै दफा–उपदफामा उल्लेख गरिएको छैन । अझ कार्यसमितिको निर्णयबिना स्वरूपाले कसरी एसियाडमा नेपाली खेलाडी भएर प्रतिस्पर्धा गरिन् त्यो खोजीको विषय बनेको छ । यसका लागि सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् गम्भीर हुन आवश्यक रहेको पनि ती पदाधिकारीहरूले औँल्याएका छन् । उनीहरूले यो कानुनविपरीत राष्ट्रघाती कार्य भएको बताउँदै दोषीलाई कानुनी कठघरामा नउभ्याउन्जेल चुप लागेर नबस्नेसमेत उद्घोष गरेका छन् । त्यस्तै परे आन्दोलनमा उत्रिनेसमेत चेतावनी दिँदै स्वरूपाको सहभागिताबारे सङ्घका अन्य पदाधिकारीहरू अख्तियारमा जाने तयारीमा रहेको बुझिएको छ ।
सुनिल र सुशीलको चरम लापरबाही र गैरजिम्मेवारीले तिलकराम थारू कोरियामै बेपत्ता भएको आरोपसमेत सङ्घका पदाधिकारीहरूले लगाएका छन् । साथै उनीहरूले थारूलाई उतै बेपत्ता पार्नमा यी दुवैले सहयोग गरेको र आर्थिक चलखेल गरेको पनि हुनसक्ने बताएका छन् । प्रतियोगितामा सहभागिता जनाउन गएका थारू कोरियामै बेपत्ता भएपछि निकै आलोचित बन्न पुगेका यी दुई पदाधिकारीसँग सङ्घका अन्य पदाधिकारीहरूले जानकारीका लागि बैठक बोलाउन अनुरोध गरे पनि भागभागी हिँडेको सूत्रले बताएको छ । १७औँ एसियाडमा तिलकराम थारू बेपत्ता भएपछि राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी बेपत्ता भएको सम्बन्धमा नेपाल एथलेटिक्स सङ्घलाई ०७१/८/७ गते पत्राचार गरेको थियो । राखेपले पत्रमा मुलुकको इज्जत र प्रतिष्ठामा आँच पुगेको प्रस्ट पार्दै त्यसमा सङ्घको जिम्मेवारी र जवाफदेही देखिएको भन्दै सोबारे स्पष्टीकरण मागेको थियो । राखेपले यसको बोधार्थ खेलकुद मन्त्रालय, परिषद्को सचिवालय र खेलकुद विकास विभागमा पठाएको थियो । तर, त्यसको कुनै पनि जवाफ एथलेटिक्स सङ्घले पठाउन सकेको छैन । बैठक बोलाउँदा अन्य पदाधिकारीको विरोधको सामना गर्नुपर्ने र आफूसँग ठोस जवाफ नभएका कारणले सुनिल र सुशील भागी–भागी हिँडेको सूत्रले बताएको छ ।
प्राप्त जानकारीअनुसार प्रशिक्षक सुशीलनरसिंह राणाले एथलेटिक्ससङ्घलाई आफ्नो इसारामा नचाइराखेको खुलासा भएको छ । राणाले सङ्घमा तानाशाही मच्चाउने क्रममा जुनसुकै निर्णय पनि आफूखुसी गर्दै आएको पनि थाहा भएको छ । इन्चोनमा खेलाडी हराउँदा चुप्पी साँधेर बसेका राणाले हालै सम्पन्न सिंगापुर म्याराथनमा समेत निमयविपरीत कार्य गरेको थाहा भएको छ । राणाले एथलेटिक्समा नाङ्गो नाच देखाउने क्रममा सिंगापुर म्याराथनमा आफूले प्रशिक्षण गराउने सशस्त्र प्रहरी बलका खेलाडी कान्छीमाया कोजु र सिन्तकलालाई मात्र छनोट गरी लगेका थिए । यी खेलाडीलाई सिंगापुर लाने क्रममा राणा र राजवंशी मिलेर टिकट र अन्यमा आर्थिक फाइदा लिएको पनि गाइँगुइँ चलेको छ । राखेपको मुख्य प्रशिक्षक भएर राष्ट्रियस्तरमा प्रशिक्षण गराउनुभन्दा सशस्त्रका खेलाडीलाई मात्र विशेष प्राथमिकता राखेर दोहोरो तलबभत्ता असुल्दै आएका राणाको गतिविधिबारे राखेपले अनदेखी र अनसुनी गर्नु विडम्बना भएको छ । यसरी राखेपको नाकैमुनि सङ्घका अध्यक्ष शाहलाई गुमराहमा राख्दै राणा र राजवंशीले उपद्रो मच्चाउँदा एथलेटिक्सको साख नै धरापमा परेको छ । अब पनि अध्यक्ष शाह चनाखो नभए अर्थात् कानमा तेल हालेर बसे एथलेटिक्स सङ्घ नाम मात्रको सङ्घको रूपमा परिणत हुने कुरामा दुईमत छैन । अर्को कुरा शाहको सोझोपनको फाइदा उठाउँदै एथलेटिक्स सङ्घलाई नै विवादमा होमेका यस्ता व्यक्तिबाट शाह सावधान हुनुपर्ने जरुरी भइसकेको छ । अन्यथा भोलि पश्चात्ताप गर्नुको साटो समयमै सही कदम चाले उनीहरूको राम्रो उपचार हुनेमा शङ्का छैन ।
प्रशिक्षक, उपाध्यक्ष र व्यवस्थापनको जिम्मेवारी आफैँले सम्हाल्दै आएका राणाले आफू र हरुवा राजवंशीबाहेक कसैलाई एथलेटिक्सको जिम्मेवारी दिन नचाहेको प्रस्ट रूपमा देखिएको छ । योभन्दा अघि सङ्घका सदस्य विक्रम थापालाई व्यवस्थापनको जिम्मेवारी दिएकोमा राणाले हस्तक्षेप गर्दै उनलाई निकाला गरेका थिए । आफैँ खाऊँ, आफैँ लाऊँ र आफँै मोजमस्ती गरुँ भन्ने मानसिकता पालेका राणाकै कमजोरीले गर्दा इन्चोन एसियाडमा नेपाली खेलाडीको हरिविजोग भएको कतैबाट छिपेको छैन । नयाँ र पुरानो पासपोर्टका कारण तिलमराम थारू हङकङमै रोेकिनुमा राणाको चरम लापरबाहीको नमुना थियो । अर्को कुरा इन्चोकमा पुग्नेबित्तिकै कान्छीमाया कोजुलाई ट्रयाकमा उतारेर उनले सबैभन्दा ठूलो भूल गरेका थिए । प्राप्त जानकारीअनुसार थकित र गलित कान्छीमायाले त्यसपछि ट्रयाकमै बान्ता गरेपछि उनी डिस्क्वालिफाई भएकी थिइन् । यसरी कानुनी हैसियत नभए पनि मनोनीतकै भरमा सङ्घमा ताण्डव मच्चाइरहेका राणा र राजवंशीलाई अब कसले लगाम लगाउने हो त्यो प्रतीक्षाको विषय बनेको छ । एथलेटिक्स सङ्घमा चरम लापरबाही र गैरकानुनी कार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलकुदको मान, सम्मान र प्रतिष्ठालाई धुजाधुजा पारिरहेका यी दुई खलनायकलाई राखेपले कस्तो कारबाही गर्छ त्यो हेर्न लायक भएको छ ।

खेल–कर्मचारीको मलद्वारमा एसिड छ्यापिँदा…
ललितपुर जिल्ला मालपोत कार्यालयको गैरजिम्मेवारी हर्कतका कारण राष्ट्रिय खेलकुद परिषद्का एक कर्मचारीले झन्डै ज्यान गुमाउनुपरेको भन्दै खेलाडीले मालपोत व्यवस्थापनको भत्र्सना गरेका छन् । उनीहरूका अनुसार मालपोतको लापरबाहीले गर्दा खेलकुद परिषद्का कर्मचारी आशालाल देसारले झन्डै ज्यान गुमाउनुपरेको थियो । जग्गासम्बन्धी कामले मालपोत कार्यालय पुगेका देसारले कार्यालयको शौचालय प्रयोग गरेर सफाइ गर्न लाग्दा अकल्पनीय समस्या आइलागेको थियो । दिसाले च्यापेपछि शौचालय गएका देसारले सौच गरेपछि शौचालयमा राखिएको एउटा बोतलको तरल पदार्थले दिसा धुन पुगेछन् । तर, त्यो तरल पदार्थ पानी नभई एसिड रहेछ । पानी भनी दिसा पखाल्दा देसारको हातका औँला, गुप्ताङ्ग र मलद्वार तत्काल जल्न पुग्यो ।
एसिडले पोलेपछि नराम्रोसँग छटपटाएका देसार चिच्याउँदै नाङ्गै मालपोत कार्यालय परिसरमा फन्को मारेका प्रत्यक्षदर्शीको भनाइ छ । कम्मरमुनि नाङ्गो अवस्थामा रहेका देसारले रुँदै–कराउँदै घटनाबारे जानकारी गराएपछि केही व्यक्तिले उनलाई उपचारका लागि अल्का अस्पताल पु-याएका थिए । अस्पताल पुग्दा अचेत भइसकेका देसारको उपचारको क्रममा हात र गुप्ताङ्गमा एसिडले पोलेर ठूलो घाउ भएको थियो । डाक्टरले पोलेको हातमा सात टाँका लगाएका छन् भने गुप्ताङ्ग पनि क्षतिग्रस्त भएको छ ।
घटनापश्चात् दुखाइले दुई दिनसम्म बोल्न र मान्छे चिन्न छोडेका देसार त्यसपछि दुई हप्ता थला परेका थिए । दुई हप्ता बिस्कुट र कालो चियाको भरमा बाँचेका देसार अहिले पनि तङ्ग्रिन सकेका छैनन् । उनको घाउबाट पानी बगिरहेको अवस्था छ । राम्रोसँग शौचालय बस्नसमेत सकेका छैनन् । शौचालय जाँदा अहिले पनि घाउ दुःखेर उनले निकै सास्ती व्यहोर्नुपरेको छ ।
राखेपमा ज्यालादारीमा मालीको काम गर्दै आएका देसार यो घटनापश्चात् लामो थला पर्दा उनको तलबसमेत काटिएको छ । उपचारमा राखेपले खर्च व्यहोरे पनि उपचारमा लाग्नेजति खर्च नपाएको गुनासो देसारले गरेका छन् । उनी स्थायी कर्मचारी नभएकाले देसारले सोचेअनुरूप आर्थिक सहयोग नपाएको राखेपले बताएको छ । ज्यालादारीलाई उसले काम गरेको दिनको तलबबाहेक अन्य सुविधा नहुँदा राखेपले मानवीय नाताले देसारलाई सहयोग गरेको बताएको छ । प्राप्त जानकारीअनुसार राखेपले उपचारका लागि दुई हजार दिएको देसारले बताए ।
अहिले सामान्य हिँडडुल गर्न सक्ने भएका देसार मङ्सिर १ गते यस्तो दुर्घटनामा परेका थिए । ६६ वर्षीय देसारले हातको औँलामा बाँधेको पट्टी देखाउँदै सातवटा टाँका लागेको बताए । अहिले पनि घाउ निकै पोल्न गरेको बताउने देसारले यस्तो घटना ममाथि घटे पनि अन्य कसैमाथि नघटोस् भन्दै मालपोत कार्यालयको लापरबाहीको निकै निन्दा गरेका थिए । सरकारी कार्यालयमा यस्तो घटना घटे पनि अहिलेसम्म उनको उपचारमा ललितपुर मालपोत कार्यालयले एक सुका सहयोग नगरेको पनि देसारले बताएका छन् । गरिब मान्छे दैनिक काम गरेर खानुपर्ने उल्टै यो घटनाले आफूले काम गर्न नसक्दा आर्थिक रूपमा निकै जटिल अवस्थाको सामना गर्नुपरेको बताएका छन् । जुन ठाउँमा यस्तो अप्रिय घटना घट्यो त्यसले केही सहयोग गरिदिए आफ्नो कल्याण हुने आशामा आशालाल देसार बसेका छन् । उनको चह-याइरहेको घाउमा डाक्टरले मल्हमपट्टी गरे पनि ललितपुर मालपोत कार्यालयले के गर्छ त्यो हेर्न लायक भएको छ ।

खेल–समाचार

एडिडासको रोडरेसमा न्यानो नेपाल पनि
अन्तर्राष्ट्रिय खेल सामग्री उत्पादन गर्ने संस्था एडिडासको नेपालका लागि आधिकारिक विक्रेता रुट्स फेसन प्रा.लि.ले २० डिसेम्बरमा एडिडास नेसनल १० किलोमिटर रोडरेस गर्ने भएको छ । दरबारमार्गबाट सुरु भई नगरका विभिन्न भागको परिक्रमा गरी दरबारमार्गमै आएर टुङ्गिने सो रेसका विजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिला र पुरुष दुवै विधाको विजेताले सो पुरस्कार राशि प्राप्त गर्ने रुट्स फेसनका प्रबन्ध सञ्चालक सञ्जीव तुलाधरले बताए । त्यसैगरी महिला तथा पुरुषका उपविजेता धावकले २५–२५ हजार, तेस्रो हुने दुवै विधाका खेलाडीले जनही १५ हजार, चौथोदेखि छैटौ स्थान ओगट्नेलाई पाँच–पाँच हजार नगद पुरस्कार पाउने आयोजक कमिटीले बताएको छ । प्रतियोगिताका लागि करिब १२ लाख खर्च लाग्ने तुलाधरले बताएका छन् ।
त्यस्तै २१ डिसेम्बरमा एडिडास तेस्रो गोल्डेन स्प्रिन्ट प्रतियोगतासमेत हुने भएको छ । एडिडासले विभिन्न खेलकुदमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ । एडिडासका शोरुममा दौडिन चाहनेले फर्म प्राप्त गर्न सक्ने छन् । रोडरेससँगै पाँच किलोमिटर फनरेस पनि हुनेछ । त्यसका विजेतालाई आकर्षक उपहारको व्यवस्था मिलाएको छ । यसैगरी रुट्स फेसनले तराईको शीतलहरलाई मध्यनजर राख्दै दुई सय ब्ल्याङ्केटसमेत न्यानो नेपालमार्फत हस्तान्तरण गर्ने भएको छ । रुट्स फेसनको सहकार्यमा अन्य कम्पनीहरूले समेत करिब एक हजार ब्ल्याङ्केट न्यानो नेपाललाई उपलब्ध गराउने कार्यक्रम रोडरेसकै दिन राखिएको छ ।

सात उपाधि जिताउने प्रेमसुन्दर
टोखास्थित नितेन मेमोरियल स्कुलले बास्केटबल प्रशिक्षक एवम् पूर्व राष्ट्रिय बास्केटबल खेलाडी प्रेमसुन्दर होनालाई सम्मान गरेको छ । निम्सकै बास्केटबल प्रशिक्षक रहेका प्रेमलाई यो वर्ष निम्सको सिनियर छात्र टोलीलाई विभिन्न सात उपाधि दिलाएबापत सम्मान गरिएको हो । यो वर्ष निम्सको सिनियर छात्र टोलीले हिम्स, बाबा, रेडिअन्ट, पेनउड, टीआईए, एक्सेल्सियर र जितेन ठकुरी स्मृति बास्केटबलको उपाधि जित्न सफल भएको थियो । निम्सकी प्रमुख कार्यकारी अधिकृत निकोल ठकुरीले प्रेमलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेकी हुन् । प्रेम ट्रिनिटी इन्टरनेसनल कलेजका पनि प्रशिक्षक हुन् । उनले ट्रिनिटीलाई यू–१९ राष्ट्रिय पुरुष बास्केटबल र यू–१८ थ्री बाई थ्री राष्ट्रिय बास्केटबलको उपाधि पनि दिलाइसकेका छन् ।
केही समयअघि ड्याफोडिल स्कुलका पनि प्रशिक्षक रहेका प्रेमले ड्याफोडिलको प्रशिक्षक रहँदा प्रथम राष्ट्रिय जुनियर च्याम्पियनसिपअन्तर्गत बास्केटबलको ब्वाइज र गल्र्स दुवैमा ड्याफोडिल च्याम्पियन बनाएका थिए । त्यस्तै सन् २०१३ को जुलाईमा बंगलादेशमा भएको तेस्रो यू–१६ ब्वाइज क्वालिफाइङ बास्केटबल च्याम्पियनसिपमा प्रेमले नेपाल टोलीको सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यतिबेला नेपाल तेस्रो भएको थियो । प्रेमले विभिन्न बास्केटबल प्रतियोगितामा रेफ्रीको भूमिका पनि निर्वाह गर्दै आएका छन् । कक्षा सात (सन् १९९७) देखि खेल्न सुरु गरेको प्रेम चार वर्षअघि सक्रिय खेलजीवनबाट टाढा भएका थिए ।

प्यासिफिक करातेका लागि खेलाडी छनोट
चौधौँ एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि नेपाल सितोरियो कराते सङ्घले विभिन्न १५ स्पर्धामा १९ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताको आ–आफ्नो स्पर्धामा पहिलो भएका १० पुरुष र नौ महिला गरी १९ खेलाडी सिङ्गापुरमा यही डिसेम्बर १० देखि १५ तारिखसम्म हुने उक्त च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।
पुरुषको ५५ केजीमा नेपाल प्रहरीका सोनाम लामा, ६० केजीमा एपीएफका सुनील लामा, ६७ केजीमा एपीएफका मोहन कार्की, ७५ केजीमा नेपाल प्रहरीका दिनेश श्रेष्ठ, ८४ केजीमुनि एपीएफका भीमबहादुर तामाङ, ८४ केजीमाथि एपीएफका डिगम्बरप्रसादले प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै पहिलो स्थान हासिल गरेका थिए । पुरुष एकल कातामा प्रहरीका मन्डेकाजी श्रेष्ठले विश्वविद्यालयका पर्शुराम बास्तोलालाई ३–२ ले हराउँदै पहिलो बने । टिम कातामा सेनाका सुवास कार्की, डम्बर आले र सानुकुमार रुम्बा पहिलो भएका थिए ।
महिलातर्फ ५० केजीमा एपीएफकी अनु अधिकारी, ५५ केजीमा प्रहरीकी मल्लिका थापा तथा ६१ केजीमा सेनाकी सनी शीर्ष स्थानमा रहेका थिए । महिलाको ६८ केजीमुनि सेनाकी विभूषा थापाले बालाजु एकेडेमीकी अनुपमा मगर तथा ६८ केजीमाथि सेनाकी रिता कार्की विश्वविद्यालयकी सरिता श्रेष्ठलाई पाखा लगाउँदै पहिलो भएका थिए । संयोगवश दुवै सुपेरिएरिटीका आधारमा विजयी हुँदा निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो ।
महिलाकै एकल कातामा प्रहरीकी चञ्चला दनुवार प्रहरीकै निर्मला तामाङलाई ५–१ ले निराश पार्दै पहिलो भएकी थिइन् । टिम कातामा मध्यमाञ्चलका सुभद्रा श्रेष्ठ, सङ्गीता डङ्गोल र सुनीता लामा पहिलो भए । उक्त टोलीले १७औँ एसियाडमा नेपाललाई एक्लो पदक दिलाएकी सेनाकी विमला तामाङ सम्मिलित कृपा गुरुङ र ज्योति घलेको टोलीलाई ४–१ ले पराजित गरेको थियो । एकदिने छनोटमा ९७ खेलाडीले सहभागिता जनाएका थिए ।

क्याडेट र जुनियर जुडो टोली हङकङमा
पन्ध्रौँ एसियाली जुनियर तथा आठौँ क्याडेट जुडो च्याम्पियनसिपमा नेपाली टोलीले सहभागिता जनाउने भएको छ । डिसेम्बर ११ देखि १४ तारिखसम्म चल्ने प्रतियोगिताको जुनियरमा दुई तथा क्याडेटमा चार खेलाडी गरी जम्मा ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । जुनियरको पुरुष ६० केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ६३ केजीमुनि फुपुल्हामु खत्रीले प्रतिस्पर्धा गर्नेछन् । क्याडेटको पुरुष ५५ केजीमुनि सुदेश दोङ र ५० केजीमुनि किरण गडेले तथा महिलाको ४४ केजीमुनि पूजाकुमारी श्रीवास्तव र ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधानले सहभागिता जनाउने जानकारी गराइएको थियो । टिम व्यवस्थापकमा सुरज डोटेल तथा प्रशिक्षकमा पदमबहादुर बुढाथोकी रहेका छन् भने मनोजबहादुर केसीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
टोलीको सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चार लाख, जुडो युनियन अफ एसियाले पाँच हजार अमेरिकी डलर, पामले दुई खेलाडीका लागि टिकट तथा हङकङमा रहेका पूर्व जुडो खेलाडी नवीनकुमार सुनुवार, हरिकुमार लामा र सानु गुरुङले दुई खेलाडीको बसोबास/खानाका लागि प्रायोजन गरेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् । त्यस्तै प्रतियोगिताका दौरान हुने जुडो युनियन अफ एसियाको कार्यसमिति बैठकमा सहभागी हुन अध्यक्ष वज्राचार्य भने आइतबारै हङकङ प्रस्थान गरेका थिए । बज्राचार्य जुडो युनियन अफ एसियाका उपाध्यक्ष पनि हुन् ।