इन्डोनेसियामा सुनामीमा ६२ मृत्यु, कैयौँ बेपत्ता

इन्डोनेसियामा सुनामीमा ६२ मृत्यु, कैयौँ बेपत्ता


इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीमा परी ज्यान जानेको संख्या ६२ पुगेको छ ।

आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको बताइएको छ । सो सुनामीका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ । सो विभागका अनुसार पछिल्लो समाचारमा करिब ५ सय ८४ जना घाइते भएका छन् भने कैयौँ व्यक्ति हराइरहेका छन् । हराएको व्यक्तिको खोजी गर्न कठिनाइ देखिएको छ ।

समुद्री तटमा अझै पनि सुनामीको सम्भावना रहेको बताइएको छ । जसका कारण अहिले पनि सो क्षेत्रमा सतर्कता अपनाइएको प्राप्त समाचारहरूमा जनाइएको छ । आइतबार एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो । यहाँको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा सुनामी आएको समाचारमा जनाइएको छ ।

ज्वालामुखी र सुनामी दुवै शक्तिशाली रहेका बताइएकोले हराइरहेका व्यक्तिको संख्या अझै यकिन हुन सकिरहेको छैन । त्यसैगरी घाइतेको संख्या पनि अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान यहाँको विपद् व्यवस्थापन एजेन्सीले गरेको पनि इन्डोनेसियाबाट प्राप्त समाचारहरूमा उल्लेख गरिएको छ ।

सो एजेन्सीका अनुसार सुनामीबाट कैयौँ व्यक्ति हराइरहेका छन् । समुद्रीतट नजिकको बस्तीको वरपरका सयौँ घर भत्किनुका साथै ती क्षेत्रमा रहेका भौतिक संरचना पनि ढलेका छन् ।

यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रहरूमा अन्यत्र भन्दा बढी क्षति पुगेको सरकारी अधिकारीहरूले बताएका छन् । सो क्षेत्रका विपद् व्यवस्थापनमा खटिरहेका अधिकारीहरूले सार्वजनिक गरेका तस्बिरहरूमा प्रभावित क्षेत्रका केही नगरहरू पानीमा डुबेको देखिन्छ ।

यहाँ बारम्बार ज्वालामुखी विस्फोट हुने गर्दछ । आइतबार बिहानको ज्वालामुखीको नाम क्राकाटोआ हो । आइतबारको यस ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो । भौगर्भिक अधिकारीहरूले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुन सक्ने अनुमान गरेका छन् ।

उनीहरूले अझै पनि सुनामीको खतरा रहेको भन्दै समुद्री किनार वरपरको बस्तीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । इन्डोनेसिया विगत लामो समयदेखि नै ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ ।

रासस–एएफपी