अन्तर्राष्ट्रिय जुडोमा पाम टिम च्याम्पियन

अन्तर्राष्ट्रिय जुडोमा पाम टिम च्याम्पियन


पामले नेकोस पाँचौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि जितेको छ । ८ स्वर्ण, ५ रजत र २ कांस्यका साथ पाम समग्रमा टिम च्याम्पियन बन्यो । दोस्रो भएको होप्याड नेपालले ३ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो । २ स्वर्ण र ५ कांस्य जितेको प्राइम जुडो डोजोले तेस्रो स्थानमा चित्त बुझायो ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपाल द्वारा आयोजित प्रतियोगिताको पुरुषमा दाङका अशोक बन्था मगर तथा महिलामा प्राइमकी सुनिता मगर उत्कृष्ट खेलाडी घोषित भए ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको पुरुष ३० केजीमुनि दाङका सुन्दर राणा, ४० केजीमुनि पामका प्रवीणकुमार दियाली, ५० केजीमुनि होप्याडका देव लोहार, ६० केजीमुनि पामका जनक तामाङ र ६६ केजीमाथि जापानका सोजी दाइकी पहिलो भए ।

महिला २४ केजीमुनि बाल विकास स्कुलकी समिता नेपाली, ३२ केजीमुनि पामकी विनिता नेपाली, ४१ केजीमुनि प्राइमकी सरिता मगर र ४८ केजीमुनि पामकी रत्ना तामाङले स्वर्ण जिते ।

दुईदिने प्रतियोगिताका विजेतालाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।