नेपाल आर्मी दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किकबक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मीले ५ स्वर्ण, ४ रजत र २ कांस्य जितेर च्याम्पियन बनेको हो ।
ललितपुर जिल्ला किकबक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ कांस्यसाथ एपीएफ दोस्रो भयो । तेस्रो स्थानको सो क्योकुसिनले १ स्वर्ण, २ रजत र १ कांस्य हात पाऱ्यो । १० स्पर्धा समावेश प्रतियोगितामा बाँकी १ स्वर्ण शंखमूलले जित्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय नगद पुरस्कार हात पारे ।
ललितपुरको चापागाउँमा भएको प्रतियोगिताको पुरुषमा एपीएफका सञ्जय राई तथा महिलामा आर्मीकी लुमन्ती श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । एपीएफका सञ्जीव महर्जन उदीयमान खेलाडी चुनिए । तीनै खेलाडीले जनही १५ हजार नगद पुरस्कार जिते । टीकाथलीले अनुशासित टिमको उपाधि हात पाऱ्यो ।
किकबक्सिङमा सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत पुरुष ५० केजीमा एपीएफका सञ्जय राई पहिलो भए । उनले फाइनलमा एनबीसीका यानुब थुलुङ राईलाई पराजित गरे । ५५ केजीमा पहिलो भएका एपीएफका सुमन नेपालीले फाइनलमा आर्मीका महेश भुजेललाई हराए । ६० केजीको फाइनलमा शंखमूलका योमेश तामाङले आर्मीका राजेश चौधरीलाई पाखा लगाउँदै शीर्ष स्थान हात पारे ।
पुरुष ६५ केजीमा आर्मीका पदम राई तथा ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले स्वर्ण जिते । फाइनलमा पदमले एपीएफका सञ्जीव महर्जन तथा प्रदीपले एपीएफका वीरेन्द्र सिंहलाई निराश पारे । खुलामा आर्मीका चित्रसिंह ठकुरीले बाजी मारे । उनले फाइनलमा आफ्नै क्लबका किरणसिंह साउदलाई पाखा लगाए ।
महिलाको ५० केजीमा आर्मीकी एलिना चौधरीले एपीएफकी एलिशा चौधरी, ५५ केजीमा एपीएफकी एन्जिला श्रेष्ठले आयोजककी समिता राई, ६० केजीमा आर्मीकी लुमन्ती श्रेष्ठले सो क्योकुसिनकी शिवानी श्रेष्ठ तथा खुलामा आर्मीकी विन्दु पुनमगरले आर्मीकै मन्जु विकलाई फाइनलमा पाखा लगाउँदै च्याम्पियन बने । प्रत्येक तौलसमूहका विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । हरेक तौलसमूहमा तेस्रो हुने दुई खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिएको थियो ।
विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा, राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवं प्रतियोगिता संयोजक मीनकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १ सय ४८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया