नेत्रज्योति संघ गुल्मीको २३औं जिल्लासभा

नेत्रज्योति संघ गुल्मीको २३औं जिल्लासभा


– रमेश विश्वकर्मा, गुल्मी

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीले सदरमुकाम तम्घासमा २३औैँ जिल्लासभा सम्पन्न गरेको छ । सभामा एक वर्ष सम्ममा कामकर्तव्य, उपलब्धि, समस्या तथा विविध विषयबारे नेपाल नेत्रज्योति संघ गुल्मीका सचिव अखिलेश्वरप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदनमा नेपाल नेत्रज्योति संघ गुल्मीको अहिलेसम्मका उपलब्धि तथा समस्या, यसको सेवा क्षेत्र, सेवा समय तथा सबै पक्ष पेश गरिएको थियो । संस्थाका सचिव पाण्डेयले प्रतिवेदनमार्फत संस्थाले स्थापनाकालदेखि स्थानीय सउमाजसेवी, राजनीतिक दल, सरकारी, गैरसरकारी संघसंस्थाहरुको सहकार्यमा जिल्ला ग्रामिण क्षेत्रमा पुगी सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रस्तुत गरे ।

एउटा कोठाबाट सुरु गरिएको सेवा अहिले भवनमा र केही समयपछि अस्पतालमा परिर्वतन गर्ने उनको प्रतिवेदनमा समेटिएको छ । संस्थाले आजसम्म २८ वर्ष निरन्तर सेवा दिएको, एउटा एम्बुलेन्स १० वर्षदेखि सेवारत रहेको, सेवाक्षेत्र गुल्मी, बाग्लुङ्गका केही स्थान, अर्घाखाँचीको आधा भाग र प्यूठानको केही भागमा सहयोग पुर्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, नेत्रज्योति संघ आँखा उपचार केन्द्रबाट आर्थिक वर्ष २०७४/०७५ मा सम्पादन भएका केही मुख्य कार्यहरुको संक्षिप्त विवरण, आर्थिक वर्ष २०७५/०७६ को लक्ष्य र चौमासिक उपलब्धी र आर्थिक वर्ष २०७६/०७७ को लागि प्रस्तावित कार्यक्रमहरु समेत प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

नेपाल नेत्र ज्योति संघ गुल्मीका कोषाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले कोषध्यक्षको प्रतिवेदन पेश गर्दै आ.व. २०७६/०७७ को लागि संघतर्फ आय व्यय रु. २ लाख २१ हजार ४ सय ८० र आँखा उपचार केन्द्रतर्फ आय व्यय रु. १ करोड ५१ लाख ४३ हजार ४ सय ४९ रुपैयाँ ९५ पैसा प्रस्ताव गरिएको जानकारी दिए ।

सभाका प्रमुख अतिथि समेत रहेका नेपाल नेत्रज्योति संघका केन्द्रिय सचिव भरतबहादुर चन्दले संस्थालाई केन्द्रको पूर्ण रुपमा साथ र सहयोग रहने आश्वासन दिए भने सभाका विशेष अतिथि रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुषालले नगरको तर्फबाट पुर्ण रुपमा साथसहयोग रहने प्रतिबद्धता जनाए । संस्थापक अध्यक्ष तथा साहित्यकार शशी पन्थीले आँखाको उपचारमा देशले पुर्ण रुपमा समृद्धि पाएको उल्लेख गदर्दै आँखा उपचारका लागि अब विदेशिनु पर्ने अवस्था नरहेको बताए ।

कार्यक्रम तथा सभामा नेपाल नेत्रज्योति संघका केन्द्रिय सचिव भरतबहादुर चन्द, केन्द्रिय सदस्य सागरप्रताप राणा, चक्रमान शाक्य, संस्थाका संस्थापक अध्यक्ष शशी पन्थी, रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर केसी, रेसुङ्गा नगरपालिका प्रमुख डिल्ली राज भुसाल, रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, जिल्लास्थित पत्रकार, सुरक्षाकर्मीहरु, नगरपालिकाभित्रका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । नेपाल नेत्रज्योति संघ गुल्मीका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षता तथा संस्थाका सचिव अखिलेश्वरप्रसाद पाण्डेको सञ्चालनमा सभा भएको हो ।