हिमालय र न्यु भिजन एकेडेमीले तेस्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । हिमालय छात्र तथा न्यु भिजन छात्रातर्फ उपाधि जितेका हुन् ।
संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा हिमालयले डिफेन्डिङ च्याम्पियन ग्रामर पब्लिक स्कुललाई ५२–४८ ले पराजित गरेको हो । हिमालयको जितमा प्रणव श्रेष्ठले २६ अंक योगदान गरेका थिए ।
कोटेश्वरस्थित ग्रामरको कोर्टमा भएको छात्राको उपाधि भिडन्तमा रोजी थापाको ११ अङ्क सहयोगमा साबिक विजेता न्यु भिजनले ग्रामरलाई नै २६–२२ ले हराउँदै उपाधि रक्षा गरेको थियो । ब्वाइजमा स्वर्णिम तारा विद्या सदन तथा छात्रामा हिमालयले तेस्रो स्थानमा चित्त बुझाए ।
छात्रामा हिमालयका जोन सुनुवार तथा छात्रामा न्यु भिजनकी रोजी थापा ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिए । छात्रमा स्वर्णिमका विशाल लामा तथा छात्रामा ग्रामरकी सम्पन्न राई उदीयमान खेलाडी घोषित भए । छात्रमा विश्वास राई तथा छात्रामा सुविता सुवेदी सर्वाधिक स्कोरकर्ता बने । दुवै ग्रामरका हुन् । प्रतियोगिताभर विश्वासले ६५ तथा सुविताले ३८ अंक जोडेका थिए ।
विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान, ग्रामरका चेयरम्यान एवं फिजमका संरक्षक जयकुमार राई, फिजमका उपाध्यक्ष अमृतकुमार खड्का, फिजमका सहसचिव एवं प्रतियोगिता संयोजक सुनील केसीलगायतले पुरस्कृत गरेका थिए । साताव्यापी प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया