समानान्तर संघहरू गठन गर्नेलाई कारबाही हुन्छ : तिमिल्सिना

समानान्तर संघहरू गठन गर्नेलाई कारबाही हुन्छ : तिमिल्सिना


राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सिनाले खेलकुद क्षेत्रमा हुने अनावश्यक राजनीतीकरणमा आफू चुप लागेर नबस्ने बताएका छन् । नेप्लिज तेक्वान्दो एकेडेमी तथा कागेश्वरी मनोहरा नगरपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा आयोजना भएको एक दिवसीय अन्तरडोजाङ तेक्वान्दो प्रतियोगिताको समापन समारोहमा बोल्दै उपाध्यक्ष तिमिल्सिनाले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने सरकारको अभियानलाई सफल पार्न देशव्यापी रूपमा यसरी नै खेलकुदका कार्यक्रमहरू आयोजना भइरहेको स्मरण गराए ।

समापन समारोहमा बोल्दै उपाध्यक्ष तिमिल्सिनाले खेलकुदसँगको समानान्तर संघहरू गठन हुनुले कलिला खेलाडीहरूको भविष्य अन्योलतर्फ धकेलिने भएकाले यसतर्फ सतर्क रहनसमेत सम्बन्धित पक्षलाई जानकारी गराएका थिए । उनले जति सम्झाउँदा पनि नमान्ने अवस्था आयो भने राष्ट्रिय खेलकुद परिषद बाध्य भएर कारबाही प्रक्रियामा अघि बढ्ने चेतावनीसमेत दिए ।

एकदिवसीय अन्तरडोजाङ तेक्वान्दो प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमी प्रथम बन्न सफल भएको थियो भने शारदा एकेडेमी द्वितीय तथा बालगीताञ्जली स्कुल तृतीय भएका थिए । कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका डोजाङ तथा विभिन्न विद्यालयका करिब २ सय जना खेलाडी सहभागी रहेको उक्त प्रतियोगिताका विभिन्न उमेर तथा तौल–समूहका विजेता पुरुष तथा महिला खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले स्वागत मन्तव्य राखेका थिए भने कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले नगरपालिका सधैँ खेलकुदको विकासमा लागिपरेको बताउँदै राखेपलाई आवश्यक सहयोगका लागि अनुरोधसमेत गरेका थिए ।

त्यस्तै समापन कार्यक्रमको सभापति कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले केही समय पहिले सम्पन्न भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताबाट खेलकुद विकास समिति उत्साहित बनेको बताउँदै अब छिट्टै नै नगरस्तरीय क्रिकेट तथा गल्फ खेलकुद प्रतियोगिता आयोजना गराइने जानकारीसमेत गराएका थिए ।

समापन कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरू, राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेललगायत स्थानीय बुद्धिजीवीहरू र सयौँको संख्यामा खेलाडीहरूको सहभागिता रहेको थियो ।