भारतबाट आयात हुँदै आएको विद्युतको मूल्य हेरफेर हुने संकेत

भारतबाट आयात हुँदै आएको विद्युतको मूल्य हेरफेर हुने संकेत


भारतको नयाँ दिल्लीमा नेपाल–भारत विद्युत आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पिइसी) को १३औं बैठक आजदेखि शुरु हुँदैछ । बैठकको मुख्य एजेन्डा भने नेपालले आयात गर्दै आएको विद्युतको मूल्य हेरफेर सम्बन्धी रहेको छ ।
आज मंगलबार पिइसी र बुधबार ज्वान्ट टेक्निकल टिम (जेटिटी) को बैठक बस्ने भएको हो । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणको टोली त्यसतर्फ गएको छ ।

पिइसी अन्तर्गत नेपालले बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट विद्युत आयात गर्दै आएको छ । यी प्रदेशबाट आयात गर्ने विद्युत व्यापारिक दरको भन्दा निकै महँगो छ । यसमा भारतले पुनः मूल्य वृद्धि गर्ने तयारी गरेको छ । १२औं बैठकमा नेपालकै अडानले मूल्य बढाउन नसकेको भारतले यसपटक पनि पुरानै विषयमा जोड दिने अवस्था देखिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार विद्युत महसुल दर नबढाउनेमा नेपालको अडान रहनेछ भने भारतीय पक्षको कस्तो प्रतिक्रिया अउँछ त्यसमा निर्भर हुन्छ । बैठकमा दुई देशबीच ‘इनर्जी बैंकिङ’ का विषयमा पनि छलफल हुनेछ ।

अधिकारीले प्राधिकरणले पिइसी अन्तर्गतका विन्दुबाट विद्युत खरिद गर्दा ११ केभीमा प्रतियुनिट १०.३२ रुपैयाँ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिर्दै आएको छ । बैठकमा टनकपुरमा ट्रान्सफर्मर क्षमता स्तरोन्नती गर्ने तथा उत्तर प्रदेश र नेपालबीच ३ वटा १३२ केभी प्रसारण लाइन निर्माण गर्नेलगायत विषयमा छलफल हुने बताए । ‘धनगढी–पालिया, सम्पतिया÷आनन्दनगर–मैनहिया र नानपारा–नेपालगन्ज प्रसारण लाइन निर्माण गर्ने योजना छ । प्राधिकरणले २ वटा ३३ केभी नयाँ प्रसारण लाइन निर्माणको प्रस्ताव पनि राखेको छ । ३३ केभी लाइन नानपारा–खडिया र नौतनवा–भैरहवामा निर्माणको प्रस्ताव गरिएको छ । प्राधिकरणले पिइसी अन्तर्गत कुशाहा–कटैया, रामनगर–गण्डक, नानपारा–नेपालगन्ज लगायत विन्दुबाट विद्युत आयात गर्छ ।’उनी भन्छन्, ‘जेटिटीको बैठकमा बुटवल–गोखरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनको मोडालिटीलाई अन्तिम रूप दिनेबारे छलफल हुनेछ ।’

आगामी माघ ६ गतेदेखि पोखरामा हुन गइरहेको छैटौं सचिवस्तरीय संयुक्त बैठकको तयारी गर्न जेटिटीको बैठक बस्न लागेको हो । प्राधिकरणका अनुसार दिल्लीमा भएको पाँचौं सयुक्त कार्य समूह (जेडब्लूजी) को बैठकमा प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले संयुक्तरूपमा अध्ययन गरी मोडालिटी पेस गर्ने निर्णय भएको थियो । यसमा इनर्जी बैंकिङको मस्यौदा तयार गर्ने, लम्की–बरेली तथा दुहबी–पुर्णिया ४ सय केभी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन डिपिआर) तयार गर्ने विषयमा पनि छलफल हुने छ ।