- आरके श्रीवास्तव, बारा
आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा फेडरलिजम एण्ड लोकालाइजेसन सेन्टरको प्राविधिक सहयोगमा संघीयता सुदृढीकरण तथा समाचार लेखनसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम शनिबार (६ असार) निजगढमा सुरु भएको छ ।
कार्यक्रममा मधेस प्रदेशका रौतहट, बारा, सर्लाही र पर्सा जिल्लाका करिब ४० जना पत्रकारहरूको सहभागिता रहेको छ । पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्नुका साथै संघीय शासन प्रणालीबारे थप जानकारी प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै संघीयता विज्ञ डा. खिमलाल देवकोटा ले नेपालमा संघीय व्यवस्था लागू भएपछि केही चुनौती र कमजोरीहरू देखिए पनि समग्र रूपमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएको बताउनुभयो। उहाँले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो ।
तालिममा संविधानसभा सदस्य प्रह्लाद लामिछाने तथा प्रशिक्षक विनय मिश्रले संघीय शासन प्रणाली, स्थानीय तहको सशक्तीकरण तथा समाचार लेखनका विभिन्न पक्षबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै आम सञ्चार प्राधिकरण मधेस प्रदेश का अध्यक्ष जितेन्द्र खड्काले संघीयतालाई थप मजबुत र प्रभावकारी बनाउन पत्रकारहरूको भूमिका सशक्त बनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले मधेस प्रदेशका पत्रकारहरूलाई ११ विधामा पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । साथै सञ्चारमाध्यमहरूको क्षमता विकासका लागि प्रोत्साहन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा सञ्चार सामग्री उपलब्ध गराउने योजना रहेको पनि उहाँले बताउनुभयो ।
अध्यक्ष खड्काले कार्यक्रममा सहभागी पत्रकार तथा प्रशिक्षकहरूप्रति आभार व्यक्त गर्दै प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा संघीयता, सुशासन, स्थानीय सरकारको भूमिका तथा प्रभावकारी समाचार लेखनका विषयमा विस्तृत छलफल र प्रशिक्षण प्रदान गरिने आमसञ्चार प्राधिकरण मधेश प्रदेशका प्रमुख प्रशासकिय अधिकृत संतोष साहले जानकारी गराएका हुन् ।
प्रतिक्रिया