नेपाल २० स्वर्ण सहित टिम च्याम्पियन

नेपाल २० स्वर्ण सहित टिम च्याम्पियन


भारतको मुम्बईमा पुस ७ र ८ गते सम्पन्न एसिया कप चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको टिम काता र कुमेततर्फ गरी २० स्वर्ण र २ रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले मुम्बईबाट जानकारी गराएका छन् ।

नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले जुनियर खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले सहभागिता गराएको प्रतियोगितामा सोनिम मानन्धरले तीन स्वर्ण हात पारे । उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सियिरतर्फको कातामा गरी तीन स्वर्ण हात पारेको उप्रेतीले जानकारी गराएका हुन् ।

राष्ट्रको लागि स्वर्ण जित्ने क्रममा सञ्जु देसारले ३५ केजी कुमिते तथा यू–१३ काता गरी दुई स्वर्ण, मुना शाक्यले ४० केजी कुमिते र यू–१४ काता दुवैमा स्वर्ण हात पारे । यस्तै दुई स्वर्ण हात पार्नेमा अस्मिता राई, रश्मी पाण्डे, विमला नेपाली र ऋषभराज गिरी रहेका छन् । अस्मिताले ५५ केजी कुमिते र यू–१५, रश्मीले ४५ केजी कुमिते र यू–१६ काता, विमलाले सिनियर ४५ केजी कुमिते र सिनियर काता तथा ऋषभले यू–१६ ५५ केजी कुमिते र कातामा स्वर्ण हात पारे । त्यस्तै, सूर्यविक्रम भण्डारी र राजकुमार श्रेष्ठले एक स्वर्ण र एक रजत हात पारे । सूर्यले यू–१५ केजी कुमितेमा स्वर्ण र कातामा रजत पाए । राजकुमारले सिनियर ६७ केजी तौलको कुमितेमा स्वर्ण र खुला कातामा रजत पाए ।

यसैगरी सिनियरतर्फ अंकित गुरुङले ५० केजी, सुविना खत्रीले ५५ केजी र अनिष लामाले ६० केजी कुमितेमा स्वर्ण हात पार्दै नेपाललाई टिम च्याम्पियन बनाउन सफल भएका हुन् ।

नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले ०७२, ७३ र ७४ सालमा केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा स्वर्ण हात पार्ने खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नतिजामूलक उपलब्धि हासिल गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले पहिलोपटक कराते खेलाडीहरूलाई मुम्बईमा आयोजना भएको प्रतियोगितामा सहभागिता गराएको हो ।

नेपाली टोलीले पहिलो सहभागितामा नै यति राम्रो नतिजा हात पार्न सफल भएको नेपाली टोली नेता सानका उपनिर्देशक एवं कराते प्रशिक्षक तुलसीकुमार महर्जनले बताए । मुम्बई गएको टोलीमा खेलाडीका अलावा प्रशिक्षकमा रामकृष्ण खड्गी, निर्णायकमा एसियन प्यासिफिक तथा सितेरियो कराते रेफ्री रवीन्द्र मानन्धर, रेफ्री उमेश गुरुङ र सचिन चौलागाईं तथा अफिसियलमा विकासविक्रम शाह रहेका थिए ।