साउदी राजपरिवारको आलोचना गरेका कारण असुरक्षित महसुस गरी संयुक्त राज्य अमेरिका निर्वासित साउदी पत्रकार जमाल खसोग्जीको टर्कीको इस्तानबुलमा साउदी राजघरानाकोे उच्चतहको आदेशमै अक्टोबर २ मा बीभत्स हत्या भयो । अमेरिकी अखबार दी वासिङटन पोस्टका स्तम्भकारसमेत रहेका खसोग्जीको शव तीन महिना बितिसक्दासमेत पत्ता लाग्न सकेको छैन । खसोग्जीको निर्मम हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन साउदी अरबले अटेर गरिरहेकै छ । हत्याको विरोधमा सबैजसो प्रजातान्त्रिक मुलुकले विरोध गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी राजपरिवारमाथिको अनपेक्षित नरम दृष्टिले विश्वभर प्रेस एवं अभिव्यक्ति स्वतन्त्रतामा संकट आउने खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पमाथि आक्रोश पोखेका छन् । स्वयं अमेरिकामै पनि साउदी सरकारसँगको सम्बन्धमै पुनर्विचार गर्नुपर्ने गरी दबाब बढ्दै गएको छ । विश्वभर प्रेसको पहरेदार ठानिएको अमेरिकाकै राष्ट्रपति ट्रम्पले ‘फेक न्यूज’ को कुरा अझै उठाइरहेका छन् ।
अमेरिकामै मुख्यालय रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे)ले प्रदर्शनका क्रममा पत्रकारलाई गिरफ्तारी र आक्रमण हुने गरेको, सत्तासीनहरूले प्रेसलाई त्रसित पार्ने किसिमका शब्दाडम्बर प्रयोग गरिरहेको तथा सूचनाको पहुँचमा जानीबुझी अवरुद्ध पारिएको भन्दै चिन्ता व्यक्त गरेको छ । अमेरिकी इतिहासमै पहिलोपटक सीपीजेले अमेरिकामा मिडिया मिसन पठाएर प्रेसको अवस्थाबारे जानकारी लिएको छ । अमेरिकी सिनेटर रोबर्ट मेनेन्डेजले सिनेटको विदेश सम्बन्ध समितिको बैठकमा भने, ‘म छक्कै परेको छु । अमेरिकामा समेत सीपीजेले प्रेसको बारेमा चासो देखाएर मिसन पठाउनुले हामीलाई लज्जित बनाएको छ ।’
फ्रान्समा मुख्यालय रहेको रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले सन् २०१८ मा ८० जना पत्रकार मारिएका र ३४८ जना थुनामा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । जेलमा रहेकामध्ये चीनमा ६० जना, इरानमा २८ जना, साउदी अरेबियामा २८ जना, इजिप्टमा ३८ जना र टर्कीमा ३३ जना छन् ।
लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण औजारका रूपमा प्रेस स्वतन्त्रता रहे पनि पछिल्लो समय प्रेसमाथिको आक्रमण र दबाब घट्नुको साटो अझ बढ्दै गएको छ । अन्तर्राष्ट्रिय प्रेसको अवस्थाबारे सूक्ष्म अध्ययन र वकालत गर्ने संस्थाहरूले सन् २०१८ प्रेस स्वतन्त्रताका दृष्टिबाट अँध्यारो वर्ष रहेको बताएका छन् । ‘लोकतन्त्रको स्तम्भ’का रूपमा रहेको प्रेसलाई ध्वस्त पार्ने अभियान नै सञ्चालन हुन थालेको भन्दै अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्युट (आईपीआई)ले चिन्ता व्यक्त गरेको छ । सन् २०१८ मा विश्वभर नै प्रेसमाथि शृंखलाबद्ध आक्रमण भएको इन्स्टिच्युटको भनाइ छ । आलोचनात्मक पत्रकारलाई थुन्ने, कानुनी कारबाही गर्ने वा विश्वसनीयतालाई अवमूल्यन गर्ने कार्य भएका छन् । सन् २०१८ मा झन्डै ७८ जना पत्रकार मारिएका छन् । अघिल्लो वर्ष मारिएका पत्रकारका बारेमा पर्याप्त छानबिन र कारबाही भएकै छैन भने दण्डहीनता अझ मौलाएको छ ।
अर्कोतर्फ, फ्रान्समा मुख्यालय रहेको रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले सन् २०१८ मा ८० जना पत्रकार मारिएका र ३४८ जना थुनामा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । जेलमा रहेकामध्ये चीनमा ६० जना, इरानमा २८ जना, साउदी अरेबियामा २८ जना, इजिप्टमा ३८ जना र टर्कीमा ३३ जना छन् । सन् २०१८ मा विश्वभर ६० जना पत्रकार विभिन्न समूहको कब्जामा छन् र खासगरी यी घटना सिरिया, यमन, इराकसमेतका मध्यपूर्वका देशमा बढी पाइएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार विश्वभर अझै ६१ जना पत्रकारको अवस्था अज्ञात छ । दक्षिण एसियाली मुलुकमध्ये भारतमा पाँचजना, अफगानिस्तानमा १३ जना र पाकिस्तानमा १ जना पत्रकारको हत्या भएको छ ।
‘मौलिक हकको संरक्षकका रूपमा देखिएका मुलुकहरूसमेत लोकतन्त्रको अभिन्न अंगका रूपमा रहेको प्रेसलाई क्षति पु¥याउन उद्यत रहेको पाइएको छ,’ आइपीआईकी कार्यकारी निर्देशक बारबरा ट्रिओन्फी भन्छन्, ‘स्वतन्त्र पत्रकारितामाथिको यस्तो असहिष्णु वातावरणले पत्रकारको जीवन र स्वतन्त्रतालाई जोखिममा मात्र पारेको छैन थाहा पाउने आमजनताको हकलाई समेत कुण्ठित बनाएको छ ।’
प्रेसमाथि भएका आक्रमणबारे आईपीआईको अनुसन्धानबाट के देखिएको छ भने २८ जना कार्यक्षेत्रमा खटिएका संवाददाताको हत्या भएको छ । सशस्त्र द्वन्द्वमा परेर ११ जनाको मृत्यु भएको छ । मेक्सिको र अफगानिस्तानमा पत्रकारमाथि यस वर्ष सबैभन्दा बढी आक्रमण भएको छ । यी दुवै मुलुकमा समान १३–१३ जना पत्रकार मारिएका थिए । सिरियामा ११ जना पत्रकारको हत्या भएको थियो । मेक्सिकोमा ९ जना पत्रकार मारिए । यस वर्ष संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यको स्थानीय ‘क्यापिटल गजेट’ अखबारको कार्यालयमा सन् २०१८ जुन २८ तारिखमा भएको आक्रमणमा चारजना अमेरिकी पत्रकार मारिएका थिए भने दुईजना घाइते भएका थिए ।
आरएसएफका अनुसार विगत दश वर्षको अवधिमा ७०२ जना पत्रकारको हत्या भइसकेको छ । विश्वमा सबैभन्दा खतरनाक मुलुकहरूमा अफगानिस्तान, भारत, सिरिया, मेक्सिको, यमन र संयुक्तराज्य अमेरिका देखिएका छन् ।
पत्रकारमाथि भएका आक्रमणकारीमाथि कानुनी कारबाही पनि यस वर्ष फितलो देखिएको छ । फेब्रुअरीमा स्लोभाकियामा मारिएकी खोज पत्रकार जाँ कुसिआकको हत्याका योजनाकार अझै पत्ता लाग्न सकेको छैन । सन् २०१७ को तुलनामा यस वर्ष पत्रकार हत्याको संख्यामा केही कमी आएको देखिए पनि समग्रमा विश्वभर प्रेस स्वतन्त्रताको अवस्था कमजोर भएको आईपीआईको निष्कर्ष छ । खासगरी, पत्रकारमाथि उत्पीडनमा राख्ने र धम्क्याउने प्रवृत्ति बढ्नुका साथै स्वतन्त्र मिडियामाथि आक्रमणका घटना बढेका छन् । टर्कीमा पत्रकारको अवस्था दुरुह छ । विश्वकै जेलको रूपमा देखिएको टर्कीमा अहिले १५९ जना पत्रकार थुनामा छन् । टर्कीमा सन् २०१८ मा मात्र ४६ जना संवाददाता गिरफ्तारीमा परेका छन्, र अधिकांशमाथि आतंकवादसँग सम्बन्धित मुद्दाहरू लगाइएको छ । हंगेरीमा स्वतन्त्र मिडियालाई सरकारी सञ्चारमाध्यमको प्रभावभित्र पारिएको छ र निजी मिडियालाई सरकारी विज्ञापनबाट वञ्चित गरिएको छ ।
म्यान्मारमा रोयटर्स समाचार समितिसँग आबद्ध दुईजना पत्रकारलाई सरकारी गोपनीयता कानुन उल्लंघनको आरोपमा दोषी ठहर गरी जेलमा हालिएको छ । बंगलादेश, रसिया र कम्बोडियाले ‘झुटो समाचार (फेक न्युज)’ सम्बन्धी विवादास्पद कानुन ल्याएर प्रेस स्वतन्त्रतामा अंकुश लगाउने प्रयत्न भएको छ । अफ्रिकी महादेशका उगान्डा र जिम्बाबेमा सुरक्षाफौजले पत्रकारमाथि आक्रमण गरेको पाइएको छ । तान्जानियामा सम्पादक र अरू पत्रकारलाई स्व–सेन्सरसीप अपनाउन बाध्य पारिएको छ । इजिप्ट सरकारले अदालतको आदेशविपरीत फोटो पत्रकार शकनलाई रिहा गर्न अस्वीकार गरेको छ । यहाँ अल जीिराका मोहमुद हुस्सेनको थुनालाई अकारण थप गरिएको छ । अर्का पत्रकार इस्माइल अलेक्सान्ड्रानीको अवस्था अज्ञात छ ।
आरएसएफका अनुसार विगत दश वर्षको अवधिमा ७०२ जना पत्रकारको हत्या भइसकेको छ । विश्वमा सबैभन्दा खतरनाक मुलुकहरूमा अफगानिस्तान, भारत, सिरिया, मेक्सिको, यमन र संयुक्तराज्य अमेरिका देखिएका छन् । राज्यको चौथो अंगका रूपमा लिइने सञ्चार क्षेत्रलाई अझ व्यवस्थित, सुरक्षित र जनउत्तरदायी बनाउन राज्य, सरकार, नागरिक संस्था तथा स्वयं पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ जसले स्वस्थ जनमत निर्माण गर्न मद्दत गर्नेछ । आगामी वर्ष सन् २०१९ ले प्रेस स्वतन्त्रतामा विश्वभर नै नयाँ बिहानी लिएर आउनेछ ।
रासस
प्रतिक्रिया