करातेमा लगानी बालुवामा पानी

करातेमा लगानी बालुवामा पानी


sportराष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा युवराज लामा आएपछि सबैभन्दा बढी प्राथमिकता पाएको सङ्घमा नेपाल सितोरियो कराते पर्छ । लामा करातेका पूर्वखेलाडी भएकै नाताले यो खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गुमेको साख बचाउन उनले विशेष भूमिका निभाउँदै आएको कसैबाट छिपेको छैन । विगत लामो समयदेखि करातेमा देखिएको नैराश्यलाई चिर्न करातेका पूर्वखेलाडी दावा गुरुङलाई लामाले करातेको वागडोर सुम्पेपछि करातेमा नयाँ ज्यान पलाएको थियो । विगत तीन वर्षको अवधिमा करातेले नयाँ उचाइ छुने क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा खेलाडीहरूले गरेको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दा सोझै अनुमान लगाउन सकिन्छ । यो अवधिमा करातेका खेलाडीले जति सुविधा पाए त्यसको तुलनामा उनीहरू कत्तिको खरो उत्रिए त्यो भने सोचनीय बनेको छ । सदस्यसचिव लामाको करातेप्रतिको झुकावमा करातेका खेलाडीले आफूलाई अब्बल प्रमाणित गरे या गरेनन् त्यसमा पनि प्रश्नचिह्न लागेको छ ।
अन्तर्राष्ट्रियस्तरमा सम्भावित पदक जित्ने खेलको पहिलो पङ्क्तिमा पर्ने कराते खेललाई थप उचाइमा पु-याउन सदस्यसचिव लामाले साम, दाम, डण्ड, भेद सबैको प्रयोग गरेका छन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा खस्केको प्रदर्शनलाई आत्मसात् गर्दै लामाले ‘मिसन साग’को अवधारणा अघि सारेपछि खेलकुद क्षेत्रमा नौलो बिहानीको सुन्दर कल्पना गरिएको थियो । खेलाडी खुसीले गद्गद् थिए । उनीहरूमा नयाँ आत्मविश्वास पलाएको थियो । कारण एउटै थियो– खेलकुदमा कहिल्यै नभएको कार्यको लामाले शुभारम्भ गरेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु दुई–तीन महिनाअघि मात्रै प्रशिक्षण गर्न पाउने खेलाडीले निरन्तर रूपमा वर्षौंसम्म प्रशिक्षण गर्न पाएका थिए । यसमा मार्सल आर्टस् पावर गेमका खेललाई अझ प्राथमिकतामा राख्दा दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुद प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता पाउने विश्वाससमेत गरिएको थियो । कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङलाई पहिलो प्राथमिकतामा राख्दै मिसन सागको अभियानलाई अगाडि बढाइएको थियो । तर, विडम्बना ! मिसन सागको नामबाट प्रशिक्षण शुभारम्भ भए पनि अहिलेसम्म साग नहुँदा नेपाली खेलाडीको मापन हुन सकेको छैन । यदि हालै दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुदलाई मध्यनजर गर्ने हो नेपाली खेलाडीको प्रदर्शन साँच्चिकै निरासाजनक छ । २६ खेलमा सहभागिता जनाएका खेलाडीले कुनै पनि खेलमा सोचेअनुरूपको प्रदर्शन गर्न सकेनन् । उल्टै उनीहरूको खराब प्रदर्शन मुलुकको मान, सम्मान र प्रतिष्ठाका लागि मानमर्दनको कारण बन्यो ।
मिसन सागलाई लक्ष्य बनाएर प्रशिक्षण अगाडि बढाए पनि त्यो एसियाली खेलकुदका लागि पनि नेपाली खेलाडीको परीक्षा थियो । जुन अपेक्षाकृत नेपालका लागि असोचनीय र अकल्पनीय बन्यो । तीन वर्ष निरन्तर प्रशिक्षण गरेका खेलाडी एसियाडमा मुसो सावित भए । उत्कृष्टताको त कुरै छोडौँ, कुनै पनि खेलाडीले सन्तोषजनक प्रदर्शनसमेत गर्न सकेनन् । बरु विवादित कराते खेलाडी विमला तामाङले करातेमा कास्य पदक जितेर नेपालको इज्जत धानिन् । जुन समग्र खेलाडीका लागि सबक र चुनौती बन्यो । यसरी राज्यले दैनिक भत्ता प्रदान गरेका खेलाडी एसियाडमा भ्यागुतोझैँ उत्तानो पर्दा विमलाको उत्कृष्ट प्रदर्शन मुलुकको गौरवको विषय बन्न पुग्यो । साँचो अर्थमा भन्नुपर्दा राज्यले विमलामाथि कुनै लगानी गरेको थिएन । राज्यले लगानी गरेका खेलाडी पूर्णरूपमा असफल हुँदासमेत उनीहरूको प्रदर्शनबारे कुनै सम्बन्धित निकाय र राज्यले कुनै खोजखबर नगर्नु विडम्बना भएको छ । बूढो गोरुलाई जोतेर पदकको आशा गर्न नसकिने भए पनि एसियाडमा उनीहरूलाई नै छनोट गर्नु राखेपको निकै कमजोरी देखिन्छ । तसर्थ यो पाठबाट राखेपले अझै सचेत नभए भोलि योभन्दा पनि भयाभय परिणामको भागीदार हुनुपर्नेमा दुईमत छैन ।
विगत दुई वर्षयता राखेपले कराते खेलमा जसरी लगानी गरेको छ त्यो अकल्पनीय छ । तर, त्यो लगानी कत्तिको उत्पादनमूलक बन्यो त्यसको खोजखबर कसैले गरेको देखिएको छैन । स्वयम् कराते सङ्घ पनि यसमा अनविज्ञ छ । अन्यथा लामो समयको प्रशिक्षणपछि एसियाडमा उत्रिएको टिमको प्रदर्शन, सफलता र असफलबारे अवश्य पोस्टमार्टस गथ्र्यो । तर, त्यस्तो केही भएको छैन, सङ्घ खालि विवादका कुरालाई आवरणमा देखाएर पन्छिराखेको अवस्था छ । विवाद भए पनि एसियाडमा ठूलो माछा मार्ने दाबी सङ्घले गरेको थियो । विवादले खेलाडीको सहभागिता नै अन्योलमा परेको अवस्थामा समेत नेपाल कराते सङ्घका अध्यक्ष दावा गुरुङ र राखेपका सदस्यसचिव लामाले करातेले एसियाडमा ऐतिहासिक सफलता हासिल गर्ने दाबी गरेका थिए । विडम्बना ! परिणाम उनीहरूले भनेकोजस्तो आएन । करातेका खेलाडीले पहिलो राउन्डमा विपक्षी खेलाडीलाई सहजै पाखा लगाए पनि दोस्रो राउन्डमा उनीहरू थाकेको गोरुजस्तैै देखिएका थिए । तीन महिनाको निरन्तर प्रशिक्षणपश्चात् पनि कराते खेलाडीको स्टेमिना भर्खरै खेल्न सिकेको खेलाडीजस्तै थियो । परिणाम पहिलो राउन्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी दोस्रो राउण्डमा आत्मसमर्पण गर्न पुगेका थिए । खेलाडीको यस्तो दुर्दशा हुनुको पछाडिको रहस्य के हो ? त्यो न अहिलेसम्म राखेपले बुझ्न खोजेको छ, न सङ्घले नै । उल्टै एसियाडमा कराते खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको कुरामा सङ्घले दाबी गरेको छ । १७आँै एसियाडमा सहभागिता जनाएका खेलहरूमा करातेका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा हकमा उनीहरू पनि अन्य खेलाडीजस्तै निरीह बनेका थिए ।
अब कुरा आउँछ लगानीको । साँचो अर्थमा भन्नुपर्दा अन्य खेलको दाँजो करातेमा भएको लगानी कीर्तिमानी छ । साग र एसियाडमा पदक जिताउनैका लागि राखेपले करातेलाई पहिलो प्राथमिकतामा राख्दै पानीमा बालुवा हालेसरि आर्थिक लगानी गरेको छ । एसियाड होस् या विश्व च्याम्पियनसिप करातेका खेलाडीले कुनै चमत्कार देखाउन सकेका छैनन् । एसियाडमा करातेका खेलाडीको चर्चा भए पनि विश्व च्याम्पियनसिपमा को गए, कसरी गए, सहभागिता जनाएन कि जनाएनन्, कस्तो प्रदर्शन गरे त्यसमा राखेप र सङ्घले मौनता साँधेको छ । विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न गएका खेलाडी सामाजिक सञ्जालमा खुबै छाए पनि प्रतियोगितामा कत्तिको छाए त्यसको कुनै लेखाजोखा गरिएको छैन । कुरैकुरामा विश्व च्याम्पियनसिपमा सहभागिता जनाएर फर्किएका एक खेलाडी भन्दै थिए– त्यहाँ हामी पदक जित्न गएको हो र ? त्यहाँ त हाम्रो सहभागिता नै ठूलो हो । हामी त्यहाँ कहिल्यै पदक जित्न सक्तैनौँ । उनको यो कथनले कराते खेलाडी विश्व च्याम्पियनसिपमा के गर्न गएका थिए सोझै अनुमान र अड्कल काट्न सकिन्छ । राज्यको लगानीलाई बर्बाद गर्दै आफ्नो मोजमस्तीको र विदेश भ्रमणको पाटो बनाउने खेलाडीहरू कसरी कुन आधारमा त्यहाँ पुग्छन् र आफ्नो स्वार्थसिद्ध गर्छन् त्यो अहिले निकै गम्भीर विषय बनेको छ । जुन खेलाडीबाट कुनै कुराको पनि अपेक्षा गर्न सकिँदैन त्यस्ता खेलाडीलाई राखेपले कुन आधारमा पत्याएर उनीहरूलाई वैदेशिक भ्रमणको साइत जुराइदिन्छ त्यो विडम्बनाको विषय बनेको छ ।
अर्को कुरा हालै कराते सङ्घ पुनः विवादमा तानिएको छ । खेलाडी र खेलप्रेमीको आँखामा छारो हाल्ने क्रममा सङ्घले जुन नाटकको मञ्चन ग-यो त्यसपछि सङ्घ पुनः विवादमा तानिएको छ । समय गुज्रिसक्दा पनि १४औँ एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि सङ्घले १९ जना खेलाडीको छनोट गरेको थियो । पछि समयमै नाम दर्ता नगरेका कारण खेलाडी खेल्नबाट वञ्चित भएका थिए । यो घटनापछि खेलाडीहरू निकै निरस बनेका थिए । पाँच लाख खर्च गरेर गरिएको छनोट आखिर अर्थहीन सावित भएको थियो । यो प्रतियोगिताका लागि सङ्घले राखेप समक्ष ५४ लाखको बजेट माग गरे पनि २२ लाख दिने निर्णय गरेको थियो । पछि खेलाडीको सहभागिता नै अन्योलमा परेपछि राखेपले उक्त रकम रोक्का गरेको थियो । खुदा ना खास्ता छनोटका नाममा राखेपको पाँच लाख भने बालुवा पानी हालेजस्तै भएको छ । तसर्थ अब यसको सोधभर्ना राखेपले कसरी गर्छ त्यो अहिले जिज्ञासाको विषय बनेको छ ।

तिम्रो–हाम्रो सम्बन्धको साइनो खोज्न मन लाग्यो
सम्बन्ध आ–आफ्नै प्रकारका हुन्छन् । सबै सम्बन्धको आ–आफ्नो नाता हुन्छ । त्यही सम्बन्ध र नाताकै आधारमा हरेक कुरा सेयर हुन्छ । कति नजिक र कति दूरी रहने र राख्ने सबै त्यही सम्बन्ध र नाता मूल कारण बनेको हुन्छ । अर्को कुरा हरेक सम्बन्धको एउटा परिचय हुन्छ । जसलाई समाजले सामाजिक मान्यता प्रदान गरेको हुन्छ । सामाजिक मान्यताको आधारस्तम्भमा नै हाम्रो सम्बन्धको जग तयार भएको हुन्छ । यहाँ यो भूमिका लेख्नुको कारण नातासम्बन्धकै भएकाले ‘यो कस्तो सम्बन्ध हो’ त्यसलाई प्रस्ट पार्न खोजिएको मात्रै हो ।
यो घटना हालै दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगितामा श्रीमतीको रूपमा फाइभ स्टार होटलमा बसेका युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलको बारेमा हो । पौडेल इन्चोनमा भिलेजमा बस्नुपर्ने भए पनि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा बास्केटबल सङ्घका अध्यक्ष लामा टेन्टी शेर्पाकी श्रीमतीको रूपमा फाइभ स्टारमा बसेका थिए । शेर्पा बस्ने कोठा उनी र उनकी पत्नीका लागि बुकिङ भए पनि पौडेल त्यही कोठामा बसेपछि उनी र लामाबीचको सम्बन्धबारे प्रश्न उठेको हो । साँचो अर्थमा भन्नुपर्दा सहसचिव पौडेल लामाको श्रीमतीको रूपमा किन बसे त्योचाहिँ अन्वेषण र उत्खननको विषय बनेको छ ।
२१ शताब्दीमा महिला–महिला र पुरुष–पुरुषबीच जस्तो प्रकारको पनि सम्बन्ध हुन सक्छ । यस्तो सम्बन्धलाई विश्वका थुप्रै राष्ट्रहरूले कानुनी मान्यतासमेत प्रदान गरेका छन् । नेपालमा पनि यस्तो सम्बन्धको विकास भए पनि अहिलेसम्म कानुनी मँन्यता पाएको अवस्था छैन । तर, सम्बन्ध राख्नेहरूले गैरकानुनी रूपमा लुकिछिपी यस्तो सम्बन्धको विकास गरी बढवा दिइरहेको सबैलाई ज्ञात भएकै कुरा हो । तसर्थ लामाको पत्नीको रूपमा बसेका सहसचिव पौडेलको सम्बन्धबारे अहिले आएर कुतूहल जाग्नुमा कतै उनी लामाको साँच्चिकै श्रीमती भएर बसेका त होइनन् भन्ने मात्र हो । अन्यथा भिलेजमा पौडेलका लागि आरामदायी कोठाको व्यवस्था हुँदाहुदै उनले फाइभ स्टारमा किन -याल काढे त्यो बुझ्न सकिएको छैन ।
प्राप्त जानकारीअनुसार सहसचिव चूडामणि पौडेल युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलका भाइ भएको सम्बन्ध र नाताले उनी शक्तिको प्रदर्शन गर्न फाइभ स्टारमा बसेको बुझिएको छ । अर्को कुरा लामाकी पत्नी इन्चोन एसियाडमा नगएपछि डबल बेटको अर्को पाटो खालि रहँदा फाइभ स्टारको लुप्त भोग गर्न पौडेलले लामासँग हात मिलाएको सुनिनमा आएको छ । आखिर वास्तविकता जे भए पनि सहसचिव पौडेल फाइभ स्टारमा बस्दा उनको चर्चाचाहिँ निकै भएको थियो । उनी त्यहाँ निन्दाका पात्रसमेत बनेका थिए । यसर्थमा कि सचिव दीपेन्द्रनाथ शर्मा भिलेजमा बसेका थिए । सहसचिव फाइभ स्टारमा बस्दा सचिवचाहिँ भिलेजमा किन भन्ने नेपाली मिडियामा समाचारसमेत बनेका थिए । आफूभन्दा तल्लो तहको कर्मचारी फाइभ स्टारमा बस्ने आफूचाहिँ भिलेजमा बस्नुपर्दा सचिव शर्माले आफ्नो मानमर्दन भएको महसुस गरेका थिए । सचिवलाई सञ्चारकर्मीले यसबारे प्रश्न गर्दा उनले मौनता साँधेका थिए । कुरो र कुलोमा सायदै यकिन गर्न सकिएला । तसर्थ एउटा चर्चित नेपाली गीत ‘तिम्रो–हाम्रो सम्बन्धको साइनो खोज्न मन लाग्यो’लाई यहाँ प्रस्तुत गर्दा सान्दर्भिक होला कि ?

खेल समाचार

मुख्य प्रशिक्षक गुरुङको आग्रह
तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुव गुरुङले उपत्यकाका तेक्वान्दो प्रशिक्षकसँग भेट गर्दै आफू तेक्वान्दोलाई अझ कसरी विकास गर्न सकिन्छ भन्नेमा लागि परेको दाबी गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न तहका तेक्वान्दो प्रशिक्षकसँग सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा भेटघाट गर्दै गुरुङले आफूलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै चित्त नबुझेको कुरामा सोझै आफूसँग प्रस्ट कुरा राख्न आग्रह गरे । नेपाल तेक्वान्दो सङ्घका महासचिव एवम् पूर्व मुख्यप्रशिक्षक दीपराज गुरुङले नवनियुक्त मुख्य प्रशिक्षकलाई बधाइ दिँदै समग्रमा तेक्वान्दोको हितलाई ध्यानमा राखि अघि बढ्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय किकबक्सिङ हुने
जेन्डोका कराते तथा किकबक्सिङ कमब्याट क्लब नेपालको आयोजनामा प्रथम पोष्टबहादुर स्मृति कप अन्तर्राष्ट्रिय किकबक्सिङ प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । पुरुषतर्फ ६ र महिलामा तीन गरी जम्मा नौ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक रणबहादुर बोगटीले जनाएका छन् । नेपाल, भारत, श्रीलङ्का र जापानसहित चार राष्ट्रबाट करिब एक सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ । भारतबाट पाँच, श्रीलङ्काबाट दुई र जापानबाट तीन खेलाडीको सहभागिता निश्चित भइसकेको अध्यक्ष बोगटीले जानकारी गराएका छन् । दुईदिने प्रतियोगिताका खेलहरू नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा हुनेछन् ।

अन्तरक्लब शारीरिक सुगठन
फिटनेस फस्र्टको आयोजनामा प्रथम मिस्टर फिटनेस फस्र्ट अन्तरक्लब शारीरिक सुगठन प्रतियोगिता पुस १२ गते हुने भएको छ । प्रतियोगितामा करिब ३० खेलाडीको सहभागिता रहने फिटनेस फस्र्टका प्रोपाइटर एवम् ट्रेनर लक्ष्मण भट्टले जनाएका छन् । पहिलो हुनेले १० हजार र फ्रिज, दोस्रोले पाँच हजार र डिसहोम सेट अप बक्स तथा तेस्रो हुनेले तीन हजार र डिसहोम सेट अप बक्स पुरस्कार प्राप्त गर्नेछन् । एकदिने प्रतियोगिता कलङ्कीको ढुङ्गेअड्डामा हुनेछ । प्रतियोगिताको समापनका अवसरमा मिस्टर धर्मश्री विजेता महेश्वर महर्जन र मिस्टर हिमालय विजेता रामहरि खनाललाई सम्मान गर्ने भट्टले जानकारी दिए ।

रोडरेसको उपाधि हरि र विश्वरूपालाई
नेपाल आर्मीका द्वय हरिकुमार रिमाल र विश्वरूपा बुढा दोस्रो प्यारागन रोडरेसमा पहिलो भएका छन् । खुलातर्फ पाँच किलोमिटर दूरीको रेसअन्तर्गत पुरुषमा हरि र महिलामा विश्वरूपा पहिलो भएका हुन् । तिलगंगास्थित प्यारागन पब्लिक स्कुलद्वारा आयोजित रेसमा हरिले निर्धारित दूरी १४ मिनेट २७.१४ सेकेन्डमा पूरा गरेका हुन । एपीएफ क्लबका नारायण थापा दोस्रो र एपीएफकै गोपीचन्द्र पार्की तेस्रो भएका थिए । त्यस्तै महिलातर्फ विश्वरूपाले निर्धारित दूरी १५ मिनेट ४३.४८ सेकेन्डमा पार गरेकी थिइन् । आर्मीकै सरस्वती भट्टराई दोस्रो तथा एपीएफकी फुलमती राणा तेस्रो भएका थिए ।
स्कुलतर्फ पाँच किलोमिटर दूरीकै रेसको ब्वाइजमा नेपाल एपीएफ स्कुलका अजित यादव पहिलो भए । खेम बुढामगर दोस्रो तथा शारदा स्कुलका दिनेश कुमाईं तेस्रो भएका थिए । गल्र्सतर्फ विजेश्वरी स्कुलकी सङ्गीता खड्का पहिलो, अङ्कुर विद्याश्रमकी नेहा लामा दोस्रो तथा विजेश्वरीकी सुनिता तेस्रो भएका थिए । दौड तिलगंगास्थित आयोजक प्यारागनबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः प्यारागनमै आएर टुङ्गिएको थियो । ‘बेटर इन्भाइरोमेन्ट, बेटर टुमोरो’ नाराका साथ सञ्चालित प्रतियोगिताको चारै विधामा शीर्ष तीन स्थान हात पार्नेले समान नगद पुरस्कार पाए । पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई सीएनएन हिरो अनुराधा कोइराला, प्यारागनका निर्देशक साकिर उद्दिन, प्यारागनका को–ओर्डिनेटर मनोज विकलगायतले पुरस्कृत गरेका थिए । रेसको चारै विधामा मिलाएर एक हजार दुई सय प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

पामलाई नेकोस जुडो उपाधि
पाम ‘ए’ ले नेकोस तेस्रो राष्ट्रव्यापी जुडो प्रतियोगिताको उपाधि जितेको छ । पामले पाँच स्वर्ण, तीन रजत र एक कास्य हात पारेको थियो । तीन स्वर्ण, एक रजत र एक कास्यसाथ न्यु होराइजन ‘ए’ दोस्रो भयो भने तेस्रो स्थानको सीडब्लूसीएन ‘ए’ले तीन स्वर्ण र एक रजत जितेको थियो । पहिलो हुनेले पाँच हजार एक सय ११, दोस्रोले तीन हजार एक सय ११ र तेस्रोले दुई हजार एक सय ११ रुपैयाँ पुरस्कार हात पारेका थिए । नेपाल खेलकुद महासङ्घअन्तर्गत राष्ट्रिय जुडो सङ्घ, नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुषमा पाम ‘ए’का रोशन दोङ तथा महिलामा केन्द्रीय डोजोकी पुनम श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टद्वयले समान एक हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा विजेतालाई सभासद् रामवीर मानन्धर, नेपाल खेलकुद महासङ्घका कार्यवाहक अध्यक्ष केशव विष्टलगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीले १७ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।