देशको नाम उचो पार्ने स्वर्ण पदक विजेता महर्जनलाई तीन लाख दिइने

देशको नाम उचो पार्ने स्वर्ण पदक विजेता महर्जनलाई तीन लाख दिइने


नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई तीन लाखबाट सम्मानित गर्ने घोषणा गरेको छ ।

नेपाल बडी बिल्डिङ एशोसिएशनका अध्यक्ष राजेशबाबु श्रेष्ठले विज्ञप्ति जारी गर्दै महेश्वरलाई सङ्घका तर्फबाट तीन लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महेश्वरले सङ्घको मात्रै नभई सिङ्गो देशको नाम उचो बनाएको उहाँको भनाइ छ ।

थाइल्याण्डको चाङमईमा भएको १०आँै विश्व च्याम्पियनशिपमा स्वर्ण जितेर नेपालको नाम संसारमा चिनाउन सफल भएको भन्दै सङ्घले महर्जनलाई सो सम्मान प्रदान गर्न लागेको हो । विश्व च्याम्पियनशिपमा नेपाली बडी बिल्डर विजेता बनेको यो पहिलोपटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितेका थिए ।

च्याम्पियनशिपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । मंगलबार स्वदेश फर्केका महर्जनको स्वागतका लागि विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।