बंगलादेशमा १० हजार पाँच सय विपक्षी पक्राउ

बंगलादेशमा १० हजार पाँच सय विपक्षी पक्राउ


बंगलादेशको प्रहरीले निर्वाचनको समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार पाँच सय कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मंगलबार जनाएका छन् ।

संयुक्त राज्य अमेरिकाले बंगलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्र रूपमा सम्पन्न गर्न सरकारबाट विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल जितेर कीर्तिमानी कायम गर्ने लक्ष्य साथ निर्वाचनमा आफ्ना सक्रिय कार्यकर्ता तथा समर्थकहरूलाई विभिन्न आरोपमा प्रहरी हिरासतमा लिएको आरोप बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) ले लगाएको छ ।

प्रतिपक्षी दलहरूले बंगलादेशको सरकारले नोभेम्बर ८ मा निर्वाचनको आह्वान गरेपछि निरन्तर ‘भयको वातावरण’ रहँदै आएको दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेता खालिदा जिया, जसले १७ वर्षको जेल सजाय व्यतीत गरिरहेकी छिन्, उनको दल बीएनपीले निर्वाचनको प्रचारप्रसारको सिलसिलामा आफ्ना सात हजार २१ कार्यकर्तालाई पक्राउ गरिएको बताएको छ । बीएनपीको इस्लामिक सहयोगी जमात–ए–इस्लामीका तीन हजार पाँच सय समर्थकलाई निर्वाचनलाई लक्षित गरी थुनामा राखिएको उक्त दलले जनाएको छ । जमात–ए–इस्लामीलाई राष्ट्रियतामा प्रभाव पार्ने गतिविधि र आतंकवादलाई प्रोत्साहन गरेको आरोपमा निर्वाचनमा प्रतिबन्ध लगाइएको छ ।

‘देशभरबाट हरेक दिन ८० देखि ९० कार्यकर्तालाई पक्राउ गरिने गरिएको छ । यसले निर्वाचन स्वतन्त्र रूपमा हुने सम्भावनाविपरीत भयको वातावरण सिर्जना गरेको छ,’ जमातका महासचिव शफिकर रहमानले बताए ।

प्रहरी प्रवक्ता सोहेल रानाले भने निर्वाचनको अभियानका सिलसिलामा पक्राउ परेका विपक्षीको संख्या कति रहेको भन्नेबारे तथ्यांक दिएनन् । उनले निर्वाचनका समय पुर्जी नभएका व्यक्तिलाई ‘अनावश्यक पक्राउ नगरिएको’ बताए ।
एएफपी