आठौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने

आठौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता १५ दिन सर्न सक्ने बताएका छन् ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयको नेपालगञ्जमा आज (बुधबार) उदघाटन गर्दै सदस्यसचिव विष्टले भौतिक पूर्वाधार निर्माणमा ढिलाइका कारण फागुनको मध्यतिर प्रतियोगिता हुन सक्ने बताए । अहिलेसम्म आठाँै राष्ट्रिय प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्मको मिति प्रस्ताव गरिएको छ । ‘आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माणाधीन भौतिक संरचनाको ८० प्रतिशत काम सकियो, बाँकी २० प्रतिशत पनि माघ १५ सम्म सक्ने तयारी छ,’ विष्टले भने, ‘मुख्यगरी नेपालगञ्ज रंगशाला र दाङको बेलझुण्डी रंगशाला हाम्रो लागि चुनौती बनेको छ ।’

प्रतियोगिताको उदघाटनस्थल नेपालगञ्ज रंगशालाको प्यारापिट मलेसियामा बनिरहेकाले ढिलाइ हुन सक्ने सदस्यसचिव विष्टको भनाइ थियो । ‘अत्याधुनिक प्रविधिको रंगशाला बनाउन हामीले अन्तर्राष्ट्रियस्तरमा बोलपत्र गरेका थियौँ, मलेसियाको कम्पनीले कामको ठेक्का पाएको छ, तर एलसी खोल्नेलगायतका प्रक्रिया पूरा गर्दा हाम्रैतर्फबाट १५ दिन ढिला भएको छ,’ विष्टले भने, ‘सकेसम्म हामीले कम्पनीलाई क्षतिपूर्ति दिएर भए पनि १५ दिनअगावै काम सक्न अनुरोध गरेका छौँ ।’

सदस्यसचिव विष्टले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित, पारदर्शी, विवादरहित र भव्यतासाथ सम्पन्न गर्न आजैदेखि सचिवालय स्थापना गरिएको बताए । प्रतियोगिताको सचिवालय नेपालगञ्ज रंगशाला परिसरमा स्थापना गरिएको छ । परिषदका सदस्य विनोद मैनाली संयोजक र प्रदेश ५ का अध्यक्ष भीम ओली सचिव रहने गरी सचिवालय सञ्चालनमा आएको छ ।