दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरूमा आधुनिक रेलमार्ग र सडकहरूले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ ।
सो समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेसनबाट शुरु भएको छ । यस समारोहमा दक्षिण र उत्तर कोरिया गरी एक–एक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ ।
यस समारोह स्थानीय समयानुसार बुधबार बिहान १० बजे शुरु भएको थियो । गत सेम्टेम्बरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली उच्च नेता किम जोङ–उनबीच प्योङयाङमा सम्पन्न शिखर सम्मेलनका क्रममा भएको सम्झौताअनुसार नै यो कार्य सम्पन्न भएको बताइएको छ ।
उक्त सम्मेलनामा यस वर्षको अन्त्यसम्ममा नै कोरियाली प्रायद्वीपको सीमा क्षेत्रमा रेलमार्ग र सडक मार्ग बनाइने सम्झौता भएको थियो । गत अप्रिलमा मुन र किमबीच भएको पहिलो सम्मेलनमा नै आधुनिक र पूर्वी र पश्चिम कोरियाली प्रायद्वीपमा आधुनिक रेलमार्ग र सडकमार्ग जोडिने सम्झौता भएको थियो ।
दक्षिण कोरियाली भूमिसुधारमन्त्री, आधारभूत संरचनामन्त्री किम ह्युन मी, यातायातमन्त्री किम युन ह्योक र उत्तर कोरियाका उपरेलवेमन्त्रीको सो समारोहमा सहभागिता रहेको थियो । त्यसैगरी दक्षिण कोरियाको तर्फबाट अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूको पनि सहभागिता रहेको जनाइएको छ । कार्यक्रममा सन् १९५० बाट १९५३ सम्मको कोरियाली युद्धताका छुट्टिएका पाँच सर्वसाधारणलाई दक्षिण कोरियाका तर्फबाट निमन्त्रणा गरिएको थियो ।
उत्तर कोरियाका तर्फबाट शान्ति र पुनः एकीकरण जन्मभूमि कमिटीका अध्यक्ष रि सन–ग्वोन र अन्य चार उच्चस्तरीय सरकारी अधिकारीको सहभागिता रहेको थियो ।
दक्षिण कोरियाको राजधानी सोलको सोल रेलवे स्टेसनबाट दक्षिण कोरियाली १०० सहभागीलाई नौवटा कार र रेलमा कोरियाली प्रायःद्वीपमा सीमाक्षेत्र डोरासनमा लगिएको थियो ।
प्रतिक्रिया