धितोपत्र बजारमा आज सेयरको मूल्यमा उच्च अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ बिन्दुले बढेर एक हजार २ सय १६ दशमलव २७ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज ६ दशमलव ४१ बिन्दुले बढेर २ सय ५८ दशमलव ८२ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार २ दशमलव ५५ बिन्दुले बढेको छ ।
सरकारले गठन गरेको पुँजीबजारसम्बन्धी कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया शुरु भएका कारण सेयर बजारमा समेत उच्च अंकको वृद्धि भएको अनुमान गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वको कार्यदल गठन गरेका थिए ।
सो कार्यदलले केही दिन पहिले मात्रै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनको प्रक्रिया नेपाल राष्ट्र बैंकले अगाडि बढाएको छ । प्रतिवेदन कार्यान्वयन प्रक्रिया शुरु भएपछि बजारमा त्यसको सकारात्मक प्रभाव परेको बताइन्छ ।
स्टकका अनुसार आज कुल १७३ कम्पनीको १९ लाख १०३ कित्ता सेयर रु ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरिद–बिक्री भएको छ । आज कारोबार भएका सबै उपसमूहको सेयर वृद्धि भएको छ । त्यसमा बैंकिङ १८ दशमलव ५४, व्यापार १३ दशमलव ६९, होटेल ६५ दशमलव ६२, विकास बैंक २० दशमलव ६९, जलविद्युत् १९ दशमलव ३४, वित्त ८ दशमलव १२, निर्जीवन बिमा २४५ दशमलव शून्य ६, उत्पादन १९ दशमलव दुई, अन्य १५ दशमलव ८७, माइक्रोफाइनान्स ५० दशमलव २१ र जीवन बिमा ४४३ दशमलव ५ बिन्दुले उकालो लागेको छ ।
प्रतिक्रिया