गुल्मीमा पाँच महिनामा १४ सवारी दुर्घटना, सातको मृत्यु

गुल्मीमा पाँच महिनामा १४ सवारी दुर्घटना, सातको मृत्यु


– रमेश विश्वकर्मा, गुल्मी

जिल्ला ट्राफिक कार्यालय गुल्मीमा आर्थिक वर्ष ०७५/७६ सुरु भएदेखि मङ्सिर मसान्तसम्ममा सवारी दुर्घटनाका चौध घटना र त्यसबाट सातजनाको मृत्यु भएको छ । अहिलेसम्म २ हजार ५ सय ९८ सवारीसाधन कारबाहीमा परेका र १५ लाख ५४ हजार राजस्व सङ्कलन भएको बताइएको छ । कारबाहीमा परेका सवारीसाधनहरूबाट जरिवानाको रूपमा उक्त राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका कार्यालय प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिएका हुन् । आर्थिक वर्ष शुरु भएदेखि मङ्सिर मसान्तसम्म दुई हजार पाँच सय ९८ सवारीसाधन कारबाहीमा परेको काफ्लेको भनाइ छ ।

सवारीचालक दललाई प्रशिक्षण

सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरूलाई एक हप्ता सडक प्रशिक्षणसमेत दिएको छ । जिल्लाका १० वटा विद्यालयमा शिक्षक, विद्यार्थीलाई पनि प्रशिक्षण दिएको र जनचेतनामूलक कार्यक्रम गरेको जनाइएको छ । बाँकी रहेका विद्यालयमा पनि प्रशिक्षण दिइने र जनचेतनामूलक कार्यक्रम गर्ने काफ्लेले बताए ।

गुल्मीको तम्घासमा पछिल्लो समयमा अटो रिक्सा सञ्चानमा छन् । ती अटो रिक्साचालकलाई पनि ट्राफिक प्रहरीले प्रशिक्षण दिएको छ । जिल्लाका स्थानीय तहहरू सत्यवती गाउँपालिका, गुल्मी दरबार गाउँपालिकामा प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बाँकी रहेका स्थानीय तहमा पनि जनचेतनामूलक कार्यक्रम गर्ने जनाइएको छ ।

चालकको लापरबाही, तीव्र गतिमा गाडी चलाउँदा, यात्रुलाई ट्राफिक नियमबारे जानकारी नहुँदा दुर्घटना हुने गरेका सो कार्यालयको भनाइ छ ।