प्रहरीले जिम्मा लगाएका व्यक्ति अदालतबाट फरार

प्रहरीले जिम्मा लगाएका व्यक्ति अदालतबाट फरार


चोरी तथा लुटपाट मुद्दामा अदालतले धरौटी माग गरेको एक व्यक्ति तीन वर्षदेखि फरार रहँदै आएका थिए । प्रहरीले पनि उसलाई फेला पार्न सकिरहेको थिएन । तर, प्रहरीको नियन्त्रणमा आउन नसकेको व्यक्ति कामविशेषका कारण स्वयम् प्रहरी निकायमा पुगेका थिए । घटना हिजो बुधबारको हो ।

प्रहरीलाई ‘अण्डरइष्टिमेट’ गर्दै प्रहरी परिसर काठमाडौं पुगेका सिन्धुपाल्चोकका लालकाजी भन्ने रामकाजी तमाङलाई प्रहरीले पहिचान गर्यो र तत्काल पक्राउ पनि गर्यो । तथापि, यसरी प्रहरी फन्दामा परेका रामकाजी बाह्र घण्टा पनि हिरासतमा बस्नु परेन ।

प्रहरी परिसर काठमाडौंद्वारा पक्राउ गरी काठमाडौं जिल्ला अदालत बुझाएका रामकाजी अदालत परिसरबाटै फरार भएका छन् । अदालतको लगत शाखामा बुझाइएका रामकाजी तमाङ अदालत परिसरबाटै फरार भएका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले समेत पुष्टि गरेका छन् ।

विसं २०७२ मा भएको जबर्जस्ती चोरी मुद्दामा अदालतले उनलाई ६ लाख ९० हजार जरिवाना तोकेको थियो । जरिवाना नबुझाएकाले कैद बस्नुपर्नेमा फरार हुँदै आएका तामाङ काम विशेषले हिजो बुधबार प्रहरीमा पुगेका थिए ।

उनलाई पक्रिएर हिजै अदालतमा बुझाएर प्रहरी फर्किएपछि सो घटना भएको हो । उनको खोजीका लागि पुनः प्रहरी परिचालन गरिएको छ । अदालतकै कर्मचारीको मिलेमतोमा रामकाजी फरार भएको हुनसक्ने आशङ्कामा अनुसन्धानसमेत थालिएको प्रहरीले जनाएको छ ।