दुई घरमा आगलागी हुँदा १० लाखको क्षति

दुई घरमा आगलागी हुँदा १० लाखको क्षति


विद्युत् चुहिएर गएराति झापा दमक नगरपालिका–३ का दुई घरमा आगलागी हुँदा करिब १० लाख रुपैयाँबराबरको सामान क्षति भएको छ ।

स्थानीय विष्णु चिमोरियाको घरगोठ र सँगै जोडिएका छिमेकी श्रीप्रसाद भण्डारीको भान्साघर र गोठमा गएराति ७ बजेतिर आगलागी भएर अन्नपात, धानको कुन्यु जल्दा करिब १० लाख रुपैयाँबराबरको सामान क्षति भएको प्रहरीको प्रारिम्भक अनुमान छ ।

आगलागीबाट घरभित्र रहेका दुई परिवारको सय मुरी मकै, १२० मन धान र दुई परालको माचसमेत नष्ट हुनाका साथै गोठमा रहेका पाँच बाख्रासमेत जलेर मरेको अस्थायी प्रहरी बाघखोर पोस्टले जानकारी जनाएको छ ।

घरबाट पम्पसेटमा जडान गरेको बिजुलीको तारमा अचानक आगो लागेपछि नजिकै रहेको परालको माचमा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।