धान उत्पादन नौ प्रतिशतले वृद्धि, मागअनुसार अझै अपुग

धान उत्पादन नौ प्रतिशतले वृद्धि, मागअनुसार अझै अपुग


यस वर्ष देशमा धान उत्पादनमा झन्डै नौ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए । यद्यपि अझै मागअनुसार धान उत्पादन हुन सकेको छैन । नेपालमा ६१ लाख मेट्रिक टन धानको माग छ ।

तर, चौधौँ त्रिवर्षीय योजनाको लक्ष्य भने प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईले बताए । कुल ५५ लाख मेट्रिक टनको लक्ष्य लिइएकामा योजना नसकिँदै ५६ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भइसकेको छ । मौसम अनुकूल भएको र आवश्यक मलखादलगायत सामग्री समयमै उपलब्ध भएकाले धान उत्पादन बढेको दाबी मन्त्रालयको छ ।

गत आवमा ५१ लाख ५१ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ४ लाख ५८ हजार मेट्रिक टनले उत्पादन बढेको छ । यो आठ दशमलव ८९ प्रतिशतले वृद्धि भएको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रेग्मीले जानकारी दिए ।

गत वर्षको तुलनामा यो वर्ष धान खेती करिब २२ हजार हेक्टर क्षेत्रफल बढेको छ । गत वर्ष उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन रहेकोमा यस वर्ष तीन दशमलव ७६ प्रतिशत भएको छ । यो विगतको तुलनामा सात दशमलव २७ प्रतिशतले वृद्धि हो । मन्त्रालयका अनुसार वर्षेधानको उत्पादकत्व तीन दशमलव ६९ मेट्रिक टन प्रतिहेक्टर छ भने चैतेधान चार दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।

मन्त्रालयका सचिव युवकध्वज जीसीले समयमै पानी परेको, मलखादको व्यवस्था भएको, प्राकृतिक प्रकोप नभएको र यान्त्रिकीकरण र उन्नत जातको बिउको प्रयोग हुँदा धानको उत्पादन बढेको बताए ।

प्रदेश २ मा दुई लाख मेट्रिक टन बढी उत्पादन

सात प्रदेशमध्ये प्रदेश २ मा सबैभन्दा बढी धानको उत्पादन वृद्धि भएको छ । मन्त्रालयका अनुसार प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष दुई लाख नौ हजार मेट्रिक टनले धानको उत्पादन वृद्धि भएको जनाएको छ । उक्त प्रदेशमा यो वर्ष कुल १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै प्रदेश १ मा गत वर्षभन्दा एक लाख २९ हजार मेट्रिक टनले उत्पादन वृद्धि भए पनि अन्य प्रदेशमा भने न्यून वृद्धि भएको तथ्यांकमा देखिएको छ । प्रदेश १ मा यस वर्ष कुल १२ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

उत्पादकत्वका हिसाबले प्रदेश ३ मा सबैभन्दा बढी तीन दशमलव ९० मेट्रिक टन प्रतिहेक्टर रहेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा प्रदेश ५ मा कुल ११ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको छ । प्रदेश ३ मा पाँच लाख २१ हजार, गण्डकी प्रदेशमा चार लाख २७ हजार र कर्णाली प्रदेशमा एक लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा गएको वर्ष १४ लाख ६९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यस वर्ष १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । यो वर्ष करिब ९७ प्रतिशत रोपाइँ भएकोसमेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव जीसीले अब उत्पादकत्व बढाउनेतर्फ मन्त्रालयको ध्यान गएको बताए । उनले नेपालीहरूले पनि मीठो मसिनो चामल खोज्न थालेकाले सरकारले पनि त्यस्तै खालको धान उत्पादनमा जोड दिएको बताए । ‘हामी मुख्य बालीमा आत्मनिर्भरउन्मुख छौँ भन्ने यो तथ्यांकले देखाउँछ,’ जोशीले भने, ‘उत्पादन बढाउन अझै नयाँ प्रविधि र यान्त्रिकीकरणमा सरकारको जोड छ ।’ उनले कृषिमा १० प्रतिशत मात्रै बजेट पु¥याउने हो भने माग धान्ने गरी उत्पादन बढ्न सक्ने बताए । चालू आवमा कृषि क्षेत्रमा सरकारले कुल बजेटको तीन दशमलव दुई प्रतिशत बजेट विनियोजन गरेको छ ।
रासस