प्रसूति सेवा केन्द्रमा गाउँपालिका कार्यालय बसेपछि सुत्केरी हुन सदरमुकाम पुग्नुपर्ने बाध्यता

प्रसूति सेवा केन्द्रमा गाउँपालिका कार्यालय बसेपछि सुत्केरी हुन सदरमुकाम पुग्नुपर्ने बाध्यता


बाँकेको जानकी गाउँपालिकाका तीनवटा वडामा प्रसूति केन्द्र सञ्चालन नहुँदा गर्भवती महिला सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ ।

मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको यो गाउँपालिकाका आधाभन्दा धेरै गर्भवतीले सहज रूपमा प्रसूति सेवा पाउन नसकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङले बताए ।

६ वटा वडामध्ये गाउँपालिका–३ इन्द्रपुर, वडा नं. ४ खजुराखुर्द र वडा नं ५ बेलहरीस्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन हुन सकेको छैन । गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुङले प्रसूति केन्द्र भवन र स्रोतसाधनको अभावमा सेवा सञ्चालन गर्न नसकिएको बताए । प्रसूति केन्द्र नहुँदा मातृशिशु सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ ।

इन्द्रपुर स्वास्थ्यचौकीमा भवन निर्माण भए पनि आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न सकिएको छैन । वडा कार्यालयमार्फत पटकपटक माग पेस गरे पनि सुनुवाइ नभएको स्वास्थ्यचौकी प्रमुख गगनसिंह साउदले जानकारी दिए । खजुराखुर्दमा भवनसमेत छैन ।

बेलहरी स्वास्थ्यचौकीमा प्रसूति केन्द्रको भवन बनेको चार वर्ष भयो तर सञ्चालनमा आउन सकेको छैन । तत्कालीन जिल्ला विकास समितिको सहयोगमा प्रसूति केन्द्रको भवन निर्माण भए पनि झ्याल र ढोका तोडफोड भएका कारण प्रयोगविहीन बनेको स्वास्थ्यचौकी प्रमुख टामलाल बेल्वासेको भनाइ छ ।

प्रसूति सेवा केन्द्रमा गाउँपालिका कार्यालय

जानकी गाउँपालिका कार्यालय दुई वर्षदेखि वडा नंं. ४ खजुराखुर्दस्थित स्वास्थ्यचौकीको प्रसूति सेवा केन्द्रबाट सञ्चालन हुँदै आएको छ ।

प्रसूति सेवा केन्द्रको भवनमा गाउँपालिका कार्यालय बसेपछि सेवा सञ्चालन गर्न नसकिएको वडा नं. ४ का अध्यक्ष विश्रामकुमार बर्माले बताए । ‘प्रसूति केन्द्र भवन बनाइदिने सहमति भएको हो, तर निर्माण हुन सकेको छैन,’ उनले भने ।

गाउँपालिकाले उक्त भवनमा अहिले तला थपेर कार्यालय सञ्चालन गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाको केन्द्र स्पष्ट भइनसकेकाले तत्काललाई कार्यालय सञ्चालनको लागि स्वास्थ्यचौकीको भवन उपयोग गर्नुपरेको बताए ।
अन्य वडामा प्रसूति सेवा केन्द्र सञ्चालनको लागि यो वर्ष बजेट विनियोजन नभएकाले आगामी आर्थिक वर्षमा आवश्यक बजेट छुट्याइने उनको भनाइ छ ।