‘ए’ डिभिजन लिग : मनाङले जिते दुई खेल अगावै उपाधि

‘ए’ डिभिजन लिग : मनाङले जिते दुई खेल अगावै उपाधि


तीनपटकको ‘ए’ डिभिजन लिग विजेता संकटा क्लब र सातपटकको विजेता मनाङमस्र्याङ्दी क्लबबीच आज हुने ११औँ चरणको खेललाई उपाधि भिडन्तको रूपमा हेरिएको छ ।

जारी ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज हुने खेल मनाङले जिते ‘ए’ डिभिजनको इतिहासमा कीर्तिमानी जितसहित मनाङले दुई खेलअगावै आठौँपटक उपाधि जित्नेछ भने संकटाले जिते मनाङले अर्को खेलसम्म कुर्नुपर्नेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ः३० बजे हुने खेलमा मनाङले संकटालाई हराउन सके कीर्तिमानी आठाँै पटक ‘ए’ डिभिजन लिगको उपाधिमा कब्जा गर्नेछ ।

अहिलेसम्म मनाङले २०४२–२०४३, २०४३–२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० तथा संकटाले २०३७, २०४० र २०४२ सालमा उपाधि जितिसकेका छन् । घरेलु फुटबलको सर्वाधिक सफल क्लब हो मनाङ ।

पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक छ । तीन अंक जोड्न सके मनाङले दुई खेलअगावै प्रतियोगिताको उपाधि जित्नेछ । अहिले मनाङको १० खेलबाट ३० अंक तथा समान खेलबाट संकटाको २५ अंक छ ।

लिगको रोमाञ्चकतालाई अन्तिमसम्म बचाइराख्ने जिम्मेवारी भने संकटाको काँधमा छ । आजको खेलमा संकटाले जिते लिगको रोमाञ्चकता अन्तिम खेलसम्म जान सक्छ । त्यसले संकटाको लिग जित्ने गणितीय सम्भावनासमेत बाँकी राख्नेछ ।

यस सिजन अपराजित एक्लो टोली मनाङले दशौँ चरणसम्म शतप्रतिशत नतिजा हात पारेको छ । संकटाले भने आठमा जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै २५ अंक जोडेको छ ।