राज्य ! फोस्रो राजनीतिमा नअल्झ, महेश्वरहरूतर्फ पनि फर्केर हेर !!

राज्य ! फोस्रो राजनीतिमा नअल्झ, महेश्वरहरूतर्फ पनि फर्केर हेर !!


राजनीतिक नेतृत्वको कमजोरीका कारण पीडा र निराशाबाट गुज्रिनु परे पनि यदाकदा समस्त देशप्रेमी नेपालीको मुहारमा खुशीको मुस्कान देखापर्ने सन्दर्भ सिर्जना भइदिन्छ । विभिन्न विसंगतिका कारण बाह्य समुदायको दृष्टिमा देशको बदनामी बढिरहँदा मुलुकको छवि उजिल्याइदिने कर्म गरेर नेपालीको शिर ठाडो पारिदिन्छन् नेपाल आमाका कतिपय सन्ततिले । र, सबैखाले दुर्दशा बिर्सेर एकैछिन भएपनि खुशी हुन्छन् तमाम नेपालीजन ।

यसरी सारा देशवासीको निम्ति गौरवपूर्ण कर्मको माध्यमबाट मुस्कान ल्याइदिने एक पात्र बनेका छन् शारीरिक सुगठनका खेलाडी महेश्वर महर्जन ।

हालै थाइल्याण्डमा सम्पन्न विश्वस्तरको प्रतिष्पर्धामा स्वर्णपदक हासिल गरेर महेश्वरले देशको नाम–पहिचान उँचो तुल्याए । सरकारले वास्तै नगरेको अवस्थामा पनि उनले ‘वैगुनी राज्य’लाई गौरवको गुन लगाइदिए । तमाम नेपालीलाई ‘मेरो नेपाल म नेपाली’ भनी गौरव गर्ने एउटा अवसर दिलाए । देशलाई अन्तर्राष्ट्रिय जगतमा थप चिनाए ।

योगदानको हिसाबले महेश्वरको कर्म चानेचुने थिएन, तर दुर्भाग्यपूर्ण यो छ कि देशले नै महान् ठान्नुपर्ने कर्म गर्नका निम्ति आवश्यक खर्चको बन्दोबस्त उनी स्वयमले गर्नुपऱ्यो, राज्यले गरेन, अर्थात् राज्य सरकारको ध्यानै पुगेन ।

उनले प्रतियोगितामा हासिल गरेको उपलब्धिको महत्वबारे प्रचारप्रसार भएपछि मात्र सरकार केही चल्मलायो । अर्थात्, सरकारी तवरमा तीन लाख पारितोषिक प्रदान गरिने निर्णय सार्वजनिक भयो । यसलाई सकारात्मक नै मान्नुपर्छ, तर यो पर्याप्त होइन । व्यक्तिगत लगानी र प्रयासमा एउडा खेलाडीले राज्यकै शीर उँचो तुल्याइदिने तर त्यस्ता खेलाडीको आन्तरिक पीडा–समस्याबारे बेखबर रहने राज्यलाई के भन्ने ?

महेश्वरजस्ता खेलाडीलाई राज्यले उचित माहोल खडा गरिदिने पहलकदमी लिन निकै ढिलो भइसकेको छ । सबै कुरा राजनीति मात्र हो भनेजस्तो गरेर अन्य क्षेत्रलाई उपेक्षा गर्ने राजनीतिक नेतृत्वको प्रवृत्तिले नेपाल राष्ट्रलाई धेरै नै नोक्सान पुऱ्याइसकेको छ ।

विश्वका ५८ राष्ट्रका खेलाडी सहभागी भएको बैंककमा आयोजित शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर वल्र्ड’मा ७५ किलो तौल समूहमा स्वर्ण पदक हासिल गरेका महेश्वर महर्जनसँग ठूलो धोको छ सन् २०२० मा आयोजना हुने ‘मिस्टर युनिभर्स’मा प्रतिष्पर्धी बन्ने । तर, त्यसनिम्ति आवश्यक पर्ने खर्च उनको वशको कुरा नहुँदा चिन्तित छन् उनी । शारीरिक रुपमा तयारी गर्न गर्ने क्षमता र आँट त महेश्वरसँग छ, तर आर्थिक रूपमा कमजोर छन् ।

दुई दशकभन्दा बढी शारीरिक सुगठनमा सक्रिय रहेर विभिन्न पदक हासिल गरेका महेश्वर महर्जन आर्थिक अभावका बीचपनि आफ्नो यात्रामा बिराम लगाउने पक्षमा भने छैनन् । हो, उनको यही फैसलामा राज्यले हौसला थपिदिनु यतिबेला अपरिहार्य छ ।

आफ्नै पहलमा मिसटर वल्र्ड बन्ने खुबी देखाएका महेश्वरलाई यदि राज्यले बल दिने हो भने मिस्टर युनिभर्स बनेर नेपाललाई अर्को स्वर्ण पदक दिलाउन कसर राख्ने छैनन् भनी विश्वस्त हुन सकिन्छ ।

फोस्रो राजनीतिक विषय–वस्तुमा मात्र राज्य नअल्झियोस्, देशको सुनाम फैलाउने कर्मवीरहरूतर्फ पनि ध्यान देओस् । यतिबेला तमाम नेपालीको आवाज हो यो, अभिलाषा हो यो ।