किन फुल्यो पुसमै लालीगुराँस ?

किन फुल्यो पुसमै लालीगुराँस ?


लालीगुराँस फुल्ने समय फागुन र चैत महिना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मंसिर–पुस महिनामै फुल्न थालेको छ ।

प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । समुद्री सतहबाट एक हजार तीन सय मिटरदेखि तीन हजार तीन हजार २ सय मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महिना भए तापनि मंसिर, पुसमै फुल्न थालेको स्थानीय बुढापाकाको भनाइ रहेको छ ।

तीस वर्षको औसत हावापानीमा हुने परिवर्तनलाई जलवायु परिवर्तन भन्ने गरिएको छ । समुद्री सतहमा वृद्धि हुनु, पृथ्वीको तापक्रम बढ्दै जानु र वर्षा प्रक्रियामा अनियमितता आउनु नै जलवायुजन्य परिवर्तन हो । जलवायु परिवर्तनका कारण पृथ्वीको औसत तापक्रम सन् १९१५ मा १५.० सेल्सियस थियो भने सन् १९४५ मा १५.२० सेल्सियस र सन् २००० मा १५.८० सेल्सियस भएर बढ्दै गइरहेको छ ।

पृथ्वीको औसत तापक्रम बढ्दै गएपछि फागुन–चैतमा फुल्ने लालीगुराँसका फूल मंसिर–पुसमै देख्न सकिने जलवायु विज्ञको भनाइ छ । जलवायुजन्य प्रकोपका हिसाबले नेपाल विश्वको चौथो संकटासन्न राष्ट्र हो ।

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी सम्मेलन–जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा नेपालले १२ जुन १९९२ का दिन हस्ताक्षर गरेको थियो भने उक्त जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि सन् १९९४ देखि नेपालका पक्ष भएको थियो ।

नेपालले पनि जलवायु परिवर्तन नीति २०६७ पारित गरिसकेको छ । जलवायुजन्य परिवर्तनका असरलाई न्यूनीकरण गर्न नेपाल सरकारले कालापत्थर, सगमाथा सम्मेलन सम्पन्न गरिसकेको छ ।