राष्ट्रिय सभा नियमावली संशोधन समिति गठन

राष्ट्रिय सभा नियमावली संशोधन समिति गठन


राष्ट्रिय सभा नियमावली २०७५ संसोधन मस्यौदा समिति गठन भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ को नियम २ सय ३६ बमोजिम राष्ट्रिय सभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन गरेको हो ।

नियमावलीमा एउटा बैठक र अर्को बैठकको दूरी ७ दिनभन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले बिजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संशोधन गर्न लागिएको हो । नियमावलीले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ । यो प्रावधानले अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै विद्यमान यो व्यवस्थालाई पनि संशोधन गर्न लागिएको हो ।

मस्यौदा समितिमा जितेन्द्रनारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा (पार्वती), परशुराम मेघी गुरुङ, प्रमिला कुमारी, रामनारायण विडारी, विन्दादेवी आले (राना), वृषेशचन्द्र लाल र शेरबहादुर कुँवर सदस्य रहेका छन् ।

शुक्रबारको बैठकमा राहदानी विधेयक २०७५ पेस भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५ माथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सो विधेयक माथिको संशोधन प्रस्तावका लागि पुस १६ गते अपराह्न १ बजेसम्मको समय निर्धारण गरिएको छ । अर्को बैठक पुस २० गते शुक्रबार दिउँसो १ बजे बोलाइएको छ ।