मन्त्री सुनार र अध्यक्ष श्रेष्ठको जुँगाको लडाइँ

मन्त्री सुनार र अध्यक्ष श्रेष्ठको जुँगाको लडाइँ


– श्रीविक्रम भण्डारी

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको जुँगाको लडाइँले गर्दा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) धरापमा परेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने साग सुनार र श्रेष्ठको जुँगाको लडाइँकै कारण धरापमा परेको यतिबेला निष्कर्ष निकालिएको छ । नियमनुसार १३औँ साग २०७५ साल फागुनमा नेपालमा हुनुपथ्र्यो । तर विडम्बना ! अहिलेसम्म सागबारे सरकारले कुनै किसिमको औपचारिक निर्णय गरेको छैन । नेपालको मान, सम्मान र प्रतिष्ठा गाँसिएको १३औँ सागप्रति सरकारको उदासीनता आफैँमा प्रश्नचिह्नको घेरामा परेको छ । साँचो रूपमा भन्नुपर्दा १३औँ सागलाई प्रश्नचिह्नको घेरामा पारेर अनिश्चिततातर्फ धकेल्ने कार्य खेलकुदमन्त्री सुनारले गरेका छन् । सुनारको कार्य अक्षमता र गुटबन्दीको खेलले गर्दा १३औँ साग फागुनमा एकपटक सरिसकेको छ । तुरुन्तै, सुनारले १३औँ सागबारे सरकारलाई प्रस्ट जानकारी गराएन र सरकारले चाँडोभन्दा चाँडो १३औँ सागबारे ठोस निर्णय गरेन भने नेपालको हातबाट १३औँ साग फुत्किने पक्कापक्कीजस्तै भएको छ ।

सरकारलाई थाहा थियो– १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) गर्न सजिलो छैन भन्ने । त्यसका लागि भौतिक पूर्वाधारदेखि अर्बौँको बजेटको खोलो बगाउनुपथ्र्यो । र पनि, १२औँ सागको समापन समारोहमा नेपालले १३औँ साग निर्धारित समयमा गर्ने प्रतिबद्धता जाहेर गर्दै झन्डा समातेकोे थियो । उक्त झन्डा तत्कालीन खेलकुदमन्त्री सत्यनारायण मण्डलले समात्नुको साथै त्यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई सुम्पेका थिए । नेपालले १३औँ सागको आयोजनाको जिम्मेवारी पाए पनि त्यसपछि के भयो त्यो दुस्वप्नभन्दा कम छैन । अपर्याप्त भौतिक पूर्वाधारका बाबजुद पनि आँट गरेको नेपालका लागि २०७२ सालमा गएको महाभूकम्पले नराम्रोसँग गाँज्यो । भएको एउटा अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला पनि भूकम्पको चटेपामा प¥यो । त्यसै त ‘के निहुँ पाउँ कनिका चपाउँ’को दाउमा रहेको नेपालको लागि महाभूकम्पले दशरथ रंगशालालाई प्रभावित पार्नु केही हदसम्म फाइदाजनक नै रह्यो । १३औँ सागको आयोजनाबारे सिन्कोेसमेत नभाँचेको नेपालले महाभूकम्पलाई बहाना बनाएर त्यसपछि यसको चर्चा गर्न नै छाडिदियो ।

साँचो रूपमा भन्नुपर्दा अहिले पनि १३औँ सागको आयोजनाप्रति सरकारले खासै चासो राखेको छैन । सरकारले चासो नराखे पनि राष्ट्रको प्रतिष्ठा जोडिएको प्रतियोगिताको लागि खेलकुदमन्त्री सुनारले चाहिँ अवश्य चासो राख्नुपथ्र्यो । किनकि सुनार त्यो जिम्मेवार निकायमा आसीन छन्, उनले मात्र १३औँ सागबारे सरकारलाई घचघच्याउन सक्छन् । सुनार अहिले खेलकुदमन्त्री भएको १० महिना भइसकेको छ, तर उनले अहिलेसम्म १३औँ सागको नामसमेत उच्चारण गरेका छैनन् भन्दा अतिसयोक्ति नहोला । उनले १३औँ साग भनेको ‘दशरथ रंगशाला’ मात्रै हो भन्ने ठानेका छन् । दशरथ रंगशाला जबसम्म पूर्ण रूपमा निर्माण हुँदैन तबसम्म १३औँ सागबारे कुनै कदम नउठाउने कसम खाएका छन् । सुनारको यो लिँडेढिपी देख्दा उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनासम्बन्धी कति कुरा बुझेका रहेछन् त्यो …लाई भन्दा देख्नेलाई लाज भएको छ । कुनै पनि प्रतियोगिताको आयोजनाका लागि भौतिक पूर्वाधार अत्यावश्यक कुरो हो, त्यो बन्नुपर्छ । तर, भौतिक पूर्वाधारसँगै उक्त प्रतियोगिताको आयोजनासम्बन्धी अन्य महत्वपूर्ण कुराहरूमा मन्त्री सुनार अनभिज्ञ छन् । उनले अहिलेसम्म १३औँ सागको लागि आवश्यक प्राविधिक र प्रशासनिक कुरातर्फ सुनारको अध्ययन ‘जिरो’ छ । त्यस्तै, अर्को कुरा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनाको लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीको महत्व र स्थान कहाँ र कस्तो हुन्छ त्यो कुरा सुनारले सूक्ष्म रूपमा बुझ्न आवश्यक छ ।

यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पदाधिकारी नै खेलकुदको उच्च पदमा आसीन छन् । त्यसमाथि मुलुकमा नेकपाको दुईतिहाइको सरकार छ । यस्तो अवस्थामा पनि सरकारले किन खुट्टा कमाइरहेको छ र १३औँ सागबारे कुनै पनि निर्णय गर्न सकेको छैन, त्यो खेलकुदको लागि दुर्भाग्य बनेको छ । यसरी कतै १३औँ साग गुटबन्दीको सिकार बनेको त होइन, प्रश्नमाथि प्रश्न उठेका छन् । १३औँ सागको आयोजनामा राजनीतिले मात्र नभई गुटबन्दीको छनकले पनि गाँजेको प्रस्ट रूपमा देखिएको छ । राजनीतिक रूपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ नेकपाका सांसद भए पनि गुटबन्दीका हिसाबले श्रेष्ठ प्रधानमन्त्री केपी ओलीको नभई वरिष्ठ नेता माधव नेपालनजिक गुटको रूपमा परिचित छन् । यसैले प्रधानमन्त्री ओली श्रेष्ठलाई फुटको आँखाले पनि देख्न चाहँदैनन् ।

त्यसमाथि खेलकुदमन्त्री सुनार पनि ओली गुटकै भएका कारण सुनार पनि श्रेष्ठलाई सहयोग गर्ने पक्षमा छैनन् । सुनार १३औँ सागको जिम्मेवारी श्रेष्ठलाई सुम्पने कुरामा अहिलेसम्म सहमत हुन सकेका छैनन् र उनी यो जिम्मेवारी श्रेष्ठलाई सुम्पने पक्षमा पनि छैनन् । अब ओलम्पिक कमिटीमा श्रेष्ठको कार्यकाल लगभग ११ महिना बाँकी छ, यस्तो अवस्थामा सुनार यो ११ महिनाभित्रमा १३औँ सागसम्बन्धी कुनै निर्णय गर्नेवाला छैनन् र चाहँदैनन् पनि । सागको कुनै पनि चर्चा गर्दा श्रेष्ठसँग ठोक्किने हुँदा सुनारले अहिले मौनता साँधेका छन्, जो उनको हर्कतले पनि प्रस्ट पार्छ । अन्यथा एउटै पार्टीका व्यक्तिबीच दुस्मनको जस्तो वैरभाव किन त ? प्रश्न उठ्नु स्वाभाविकै हो ।

यतिबेला मन्त्री सुनारको यही गुटबन्दीको हेराइले गर्दा १३औँ सागको अस्तित्व नै धरापमा परेको छ । एकपटक तोकिएको मितिमा पूर्णविराम लगाइसकेका मन्त्री सुनारले श्रेष्ठप्रतिको हेराइलाई यसैगरी कायम राख्ने हुन् भने नेपालमा साग हुने कुनै छनक देखिँदैन । जुन राष्ट्रमा साग हुन्छ त्यसको अध्यक्ष पनि उक्त देशको ओलम्पिक कमिटीको अध्यक्ष हुने भएकोले सुनारका लागि श्रेष्ठ पाच्य नहुने उनमा देखाएका क्रियाकलापले प्रस्ट पारेका छन् । राष्ट्रको प्रतिष्ठा दाउमा लागेको बेलामा एक नदीका दुई किनारासमेत एक हुनुपर्नेमा एक पार्टीका दुई नेताहरू दुई गुटमा देखिनु खेलकुदका लागि स्वस्थकर मान्न कदापि सकिँदैन । यसले नेपाली खेलकुदलाई अघोगतिमा लाने मात्र नभई सागको इतिहासलाई समेत सदाको लागि मेटाउने कुरामा सायदै कसैको दुईमत होला ।

तसर्थ अहिले पनि आशाको किरण बाँकी छ, सहभागी राष्ट्रहरूको अनुरोध र दबाबलाई मध्यनजर गर्दै १३औँ सागको चाँडोभन्दा चाँडो मिति तोक्नुपर्ने भइसकेको छ । मिति तोक्न नसके अर्थात् ढिलो गरे सागको अस्तित्व नै दाउमा लाग्ने भएकोले आपसी गुटबन्दी समाप्त गरी अगाडि बढ्नुको विकल्प मन्त्री सुनारसँग छैन । तसर्थ राजनीतिक प्रतिशोध साँधेर १३औँ सागलाई बलिको बोका बनाएर इतिहासमै कलङ्कित पात्र बन्नुभन्दा आपसी छलफल र सहमतिका साथ अगाडि बढ्नु मन्त्री सुनारका लागि बुद्धिमत्ता हुनेछ । अब सन्निकट आएको १३आँै सागको आयोजनाका लागि मन्त्री सुनार युद्धस्तरमा लाग्नुपर्ने भइसकेको छ । अन्यथा हात खडा गरेर नेपालले गर्न नसक्ने निर्णय गर्नुपर्नेछ ।